+
+
पोखरामा मेयर सम्मेलन :

फोहोर व्यवस्थापन सबै महानगरको चुनौती, संघीय सरकारले उदासीनता देखाएको गुनासो

अमृत सुवेदी अमृत सुवेदी
२०७९ साउन १४ गते २२:५१

१४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।

फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि बनाइरहेको महानगरले अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर लैजान्छ । तर, बेलाबेला हुने अवरोधका कारण दैनिक संकलन हुने फोहोर व्यवस्थापनमा समस्या झेल्दै आएका छन् ।

पोखरामा शुक्रबार र शनिबार भएको महानगरका मेयर सम्मेलनमा पनि बालेन्द्रले फोहोर व्यवस्थापनको दिगो योजनाका निम्ति लागिरहेको सुनाए । ‘केही समय ढिला होला, जनताले गाली गर्लान् । मिडियाले आलोचना गर्लान्, तर काठमाडौंको फोहोर दीर्घकालीन रुपमै व्यवस्थापन हुने गरी टुंगो लाग्छ’ मेयर बालेन्द्रले सम्मेलनमा भने, ‘ बरु एक वर्ष ढिला होस् तर हामी दीर्घकालीन समाधान खोज्छौं, छोटो चर्चा बटुल्दैनौं ।

काठमाडौंसँगै सीमाना जोडिएको ललितपुर महानगरपालिकाले पनि फोहोर व्यवस्थापनको दिगो उपाय खोजिरहेको छ । आफ्नै ल्याण्डफिल्ड साइट बनाउन खोजी कार्य जारी राखेको मेयर चिरिबाबु महर्जनको भनाइ छ । गोदावरी, महालक्ष्मी र ललितपुर तीन नगर मिलेर फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा पनि कुराकानी भएको र ललितपुरमा हवाइजहाज रुट पर्ने भएकाले समस्या भएको उनले बताए ।

काठमाडौं र ललितपुर महानगरलाई जस्तै फोहोर व्यवस्थापनको चुनौती पोखरालाई पनि छ । निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि नै पोखरा–१४ स्थित बाच्छेबुढुवाको ल्याण्डफिल्ड साइट बन्द गर्नुपर्छ ।

महानगरले पोखरा १६ र २० को सिमानामा पर्ने पस्मराङमा ल्यान्डफिल सार्ने निर्णय गरेपनि स्थानीयको विरोधले अगाडि बढ्न सकेन ।

पोखरा ३३ मा ल्यान्डफिल साइट बनाउने निर्णय तत्कालीन मेयर मानबहादुर जिसीको पालामा भएपछि स्थानीयको विरोधले त्यहाँ पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

‘पोखरामा त विमानस्थल सञ्चालनमा आउनु अगाडि नै ल्याण्डफिल्ड साइटको व्यवस्था गर्नुपर्ने छ । त्यसका लागि हामीले विभिन्न ठाउँमा पुगेर फोहोर व्यवस्थापनको मोडेलहरु हेरेका छौं । विभिन्न प्रस्तावहरु पनि आइरहेका छन्’ पोखराका मेयर धनराज आचार्य भन्छन्, ‘हामीले पनि सबैभन्दा उपयुक्त र वैज्ञानिक फोहोर व्यवस्थापनको काम गर्नेछौं ।’

फोहोर व्यवस्थापनको काममा संघीय सरकारले सहयोग गर्नुपर्नेमा अलि बढी उदासिनता देखाएको मेयरहरुको गुनासो थियो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भने, ‘सबै महानगरपालिकाको प्रमुख समस्याको रुपमा फोहोर व्यवस्थापन देखियो । तर, तराईका महानगरमा भन्दा काठमाडौं, ललितपुर, पोखरामा झनै चुनौतीपूर्ण देखियो ।’

भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न कोरियाको सुधोकवन ल्याण्डफिल साइट म्यानेज्मेन्ट कर्पोरेसन रिपब्लिक अफ कोरियासँग सम्झौता गरेको छ ।

२०७५ भदौ २८ मा भएको सम्झौताअनुसार अहिलेसम्म बनिसक्नुपर्ने थियो । तर समयमै नबन्दा कहिले फोहोरै नउठ्ने त कहिले नदी किनारमै फोहोर फाल्नु पर्ने अवस्था छ । ‘ल्याण्डफिल्ड निर्माण प्रक्रिया त अगाडि बढेको छ, तर फोहोर व्यवस्थापनको समस्या बेला बेला ठूलो टाउको दुखाई नै बन्छ,’ भरतपुर महानगरकी मेयर रिनु दाहाल भन्छिन् ।

भरतपुरको वडानम्बर ३ मा अस्थायी सरसफाइ केन्द्र छ । नयाँ ल्याण्डफिल्ड साइट बनाउन १६ मा बिगाहा जग्गाको जोहो भए पनि निर्माण अगाडि नबढ्दा विकल्प खोज्नेबारे पनि छलफल हुने गरेको भरतपुरको अनुभव छ ।

विराटनगरले फोहोर व्यवस्थापनका लागि तीन वटा कम्पनीलाई ठेक्का दिएको छ, जनु फोहोर व्रह्मपुरामा निजी क्षेत्रले बनाएको ल्याण्डफिल्ड साइटमा व्यवस्थापन हुँदै आएको छ । अब महानगर आफैंले ल्याण्डफिल्ड साइट बनाउनुपर्छ भनेर जग्गा किनिएको मेयर नागेश कोइरालाले जानकारी दिए । ‘नयाँ ल्याण्डफिल्ड साइटका लागि निजी क्षेत्र आइरहेका छन् । तर, अन्यत्रको पनि हेरेर उपयुक्त मोडरमा बनाउने योजना छ’ कोइरालाले भने, ‘अहिले ठूलो समस्या नभए पनि दीर्घकालीन अवस्थालाई हेर्नुपर्‍यो ।’

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयर सम्मेलनमा भाग लिन बिहीबार नै पोखरा आएका थिए । तर, आफन्त बितेको भन्दै उनी वीरगञ्ज गएर शनिबारमात्र सम्मेलनमा भाग लिन आइपुगेका थिए । ल्याण्डफिल्ड साइट वीरगञ्जका लागि पनि चुनौतीपूर्ण नै रहेको कार्यक्रममा कार्यपत्र नै प्रस्तुत गरिएको थियो ।

पुरानो ल्याण्डफिल्डको अब विकल्प खोज्नुपर्ने अवस्थामा वीरगञ्ज पनि आइपुगेको उपमेयर इस्तियाज आलमको भनाइ थियो । अहिले फोहोर व्यवस्थापन गरिरहेका संस्थाले सन्तेषजनक हिसाबले काम नगरेकाले पनि वीरगञ्जमा समस्या आएको हो ।

काठमाडौंबाट अरु महानगरले नसिक्नुपर्ने धेरै विषय छन् : मेयर बालेन्द्र

२ दिनसम्म चलेको मेयर सम्मेलनमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए भने सबैजसो मेयरहरुले आफ्नो अनुभव पनि सुनाएका थिए । काठमाडौंका मेयर बालेन्द्र साहले काठमाडौंबाट अन्य महानगरले नसिक्नुपर्ने धेरै विषय रहेको बताएका छन् ।

व्यवस्थित हिसाबले सहरको प्लानिङ गर्ने, मापदण्डहरु कार्यान्वयन गर्ने सन्दर्भमा काठमाडौं चुकेको उनले बताएका थिए । ‘३० वर्षअगाडि मापदण्ड बनाएर कार्यान्वयन गरेको भए आज काठमाडौं यति धेरै अव्यवस्थित हुने थिएन, सिस्टम बस्थ्यो । तर त्यसो हुन सकेन’ मेयर बालेन्द्रले भनेका छन्, ‘यो कुरा अरु महानगरले पछ्याउने होइन, यस्तो हुनबाट जोगाउने हो ।’

फोहोर व्यवस्थापन, खानेपानी, ढल व्यवस्थापन, सम्पदा संरक्षण लगायत काठमाडौंबाट नसिक्नुपर्ने धेरै विषय रहेको उनको भनाइ थियो । ‘म स्ट्रक्चर इन्जिनियर हुँ, तर म कंक्रिटकै जंगलमात्र विकास हो भन्ने पक्षमा छैन’ सम्मेलनमा मेयर बालेन्द्रको भनाइ उदृत गर्दै सहभागीले भने, ‘अहिले मेट्रो रेलका कुराहरु पनि आइरहेका छन् । यो बनाउनै १५ वर्ष जति लाग्ने रहेछ, त्यतिन्जेलसम्म यो फेजआउट भएर अर्कै प्रविधि आइसकेको हुनसक्छ, त्यसैले यतातिर धेरै ध्यान नदिऊँ ।’

केके भए सम्मेलनमा ?

२ दिनसम्म छलफल र विभिन्न विषयमा विज्ञहरुको प्रस्तुतिपछि मेयर सम्मेलनले पोखरा घोषणापत्र तयार पारेको छ, जुन आइतबार बिहान सार्वजनिक गर्ने तय भएको छ ।

संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वद्र्धनका साथै हरित, उत्थानशील तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरी सम्मेलनमा छलफल भएको मेयर आचार्यले जानकारी दिए ।

सम्मेलनमा देशका ६ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए । सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एंव क्षेत्रीय योजनाकार डा.जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अबको बाटो शीर्षकमा मुख्य प्रस्तुति राखेका थिए । महानगरपालिकाका प्रमुखहरुले मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीबारे अनुभव आदानप्रदान गरे ।

सम्मेलनमा उपप्रमुखहरुका अधिकार र चुनौतीका विषयमा पनि छलफल भएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीबारे आफ्नो अनुभव सुनाएका थिए ।

सम्मेलनको दोस्रो दिन शनिबार पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीबारे प्रस्तुति राखेका थिए । साझा अधिकार र साझा समस्याबारे मेयरहरुले छलफल गर्दै आगामी कार्यदिशाबारे पनि एजेण्डा तयार पारेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?