+
+

नयाँ अर्थ सचिवको खोजी, को-को छन् दाबेदार ? 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते २१:५६

१६ साउन, काठमाडौं । नयाँ अर्थसचिवको खोजी सुरु भएको छ । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकाल थालेसँगै मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सरुवा माग्दै मन्त्रालयमा हाजीर नभएपछि नयाँ अर्थ सचिव ल्याउन गृहकार्य सुरु भएको हो ।

आइतबारददेखि मरासिनी मन्त्रालयमा हाजीर भएका छैनन् । अब मरासिनीलाई सरुवा गर्ने लगभग पक्का भइसकेको छ ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार ‘अर्थतन्त्रलाई राम्रोसँग बुझेका’ सचिवलाई अर्थ मन्त्रालयमा ल्याउन लागिएको छ । तर, उनी को हुन् भन्नेबारे उनले केही बताउन चाहेनन् । ‘जो आएपनि अहिलेको आर्थिक चुनौती पार लगाउन सक्ने क्षमताका सचिव आउँछन्,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयले अर्थमन्त्री जनार्दन शर्मालाई ‘क्रसचेक’ गर्नसक्ने र सजिलो प्रवृत्तिको सचिवको खोजी गरिरहेको छ ।

स्रोतका अनुसार अहिले विभिन्न विकल्पमा छलफल अघि बढेको छ, प्रमुख दाबेदारका रुपमा अघि सारिएको नाम हो, बैकुण्ठ अर्याल । हाल सञ्चार सचिव रहेका अर्याललाई प्रधानमन्त्री कार्यालयबाटै पहिलो प्राथमिकतामा राखेर अघि सार्न खोजिएको छ ।

अर्याल अर्थमन्त्रालयकै ‘क्याडर’ हुन् । उनले अर्थमन्त्रालयको बजेट महाशाखामा बसेर लामो समय काम गरेका थिए भने प्रकृतिक स्रोत तथा वित्त आयोग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको रुपमा समेत काम गरिसकेका छन् ।

अर्थसचिवका अर्का दाबेदार केवलप्रसाद भण्डारी हुन् । हाल योजना आयोगमा सचिवका रुपमा कार्यरत रहेका उनी पनि अर्थमन्त्रालयमै लामो समय काम गरेका व्यक्ति हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्यालको सम्भावना भण्डारीको भन्दा केही बलियो छ ।

‘बैकुण्ठ अर्यालको सम्भावना बढी छ,’स्रोतले भन्यो,’तर, अरु नामहरुबारे पनि बिमर्स भइरहेको छ ।’ राजस्व सचिव कृष्णहरी पुष्कर, अख्तितयार दुरुपयोग अनुसन्धन आयोगका सचिव तोयम राया र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनकुमार पोखरेल पनि अर्थसचिवका दाबेदार हुन् । तर, उनीहरु प्रधानमन्त्री कार्यालयको प्राथमिकतामा भने छैनन् ।

राजस्व सचिव पुष्करले सकेसम्म राजस्व सचिवका रुपमा कायमै रहने सुनिश्चिताता खोजेका छन् । तर, प्रधानमन्त्री कार्यालय र अर्थमन्त्री शर्मा स्वयम् पुष्करका सम्बन्धमा खासै सकारात्मक नरहेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?