+
+
काभ्रेस्थली घटनाको नालीबेली :

पाण्डे दम्पतीको खटपटले परिवार नै सखाप

प्रेम विवाह, दम्पत्तिका रुपमा निकट हुन नपाउँदैको वैदेशिक रोजगारी र दुवैलाई एकअर्काप्रतिको आशंका–महिला पुरुष जोडिएका हिजोआज हुने अधिकांश हत्या पछाडि यिनै कारण देखिन्छन् । काभ्रेस्थली घटना पनि यसकै वरपर घुमेको छ र बाबुको सनकमा दुई नाबालिगले अकारण ज्यान गुमाएका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ साउन १६ गते २३:१४

१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीकी सुनिता पाण्डेले करिब ६ महिनाअघि छिमेकी सुनिता कार्कीसँग आफ्ना श्रीमानलाई संकेत गर्दै भनेकी थिइन्, ‘कुनै दिन मलाई यसैले मार्छ होला, खुकुरी र कर्द पनि राखिबस्छ ।’

पति दिनेश पाण्डेसँग हुने रातदिनको झगडाबाट वाक्क भएर उनले यसो भनेकी थिइन् होला । तर भयो त्यस्तै । दिनेशले सुनिता मात्र होइन, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिकको हत्या गरे, अनि आत्महत्याको बाटो रोजे ।

सोमबार दिउँसो ३ बजेतिर पदमसाल पुग्दा सुनिताकी छिमेकी कार्की सुनितासँग भएको पुराना सम्वादहरु सम्झिइरहेकी थिइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘सुनिताले वाक्क भएर भनेकी थिइन्, कहाँ यसरी मार्ला नै भनेर सोच्नु र !’

सरल र मिजासिली स्वभावकी सुनिता छरछिमेकमाँझ सधैं मिठो सुनिन्थिन् । ‘देख्दा बोलाएन भने रिसाउनुभयो कि क्या हो भन्दै आइहाल्थी’ कार्की भन्छिन् ।

हरेक दिन बिहान ९ः१५ तिर सुनिता घरबाट छोरी आशिकालाई स्कुल बस चढाउन चोकतिर निस्किन्थिन् । त्यसपछि दिनभर चोकैमा रहेको फेन्सी पसलमा व्यस्त हुन्थिन् । तर सोमबार न त उनी चोकमा पुगिन्, न आशिका स्कुल जान आइन् ।

सैनिक स्कुलको गाडीले निकैबेर हर्न बजाइरह्यो, तर कोही नबोलेपछि गाडी गयो । ‘कहिल्यै त्यसरी नभनी बच्चा नपठाउने, फेरि पसल खोल्न भए नि आउँथिन्’ छिमेकी परिवर्तन कार्की भन्छन्, ‘तर आज नआएपछि म आफैं गेट ढक्ढक्याउन पुगेको थिएँ ।’

उनका अनुसार गेट भित्रबाटै बन्द थियो । पर्खालको एकछेउमा चढेरभित्र हेर्न खोजे, तर देखेनन् । अरु छिमेकी पनि आए । एकअर्का गर्दागर्दै ठूलो भीड जम्मा भयो । त्यही भीडबाट कसैले प्रहरी कन्ट्रोल १०० मा खबर गरे । प्रहरी वृत्त बालाजुको टोली १० बजेतिर पुगेर ताला ‘लक’ फोड्दै गेटभित्र प्रवेश गर्‍यो ।

प्रहरी घरभित्र छिर्दा भुइँतलाको उत्तरपट्टिको कोठामा झ्याल छेउ श्रीमान् दिनेश पाण्डे लडिरहेका थिए । घाँटीमा चक्कु हानेको जस्तो देखिन्थ्यो, सँगै डोरीमा झुण्डिन खोजेको जस्तो पनि देखिएको एक प्रहरी अधिकृत बताउँछन् ।

दक्षिणतिर खाटमा छोरी आशिका र छोरा आशिक लडिरहेका थिए, भुइँमा मृत अवस्थामा थिइन् सुनिता ।

सुसाइड नोट बरामद, श्रीमतीप्रति गुनासो

राजधानीमै एकैपरिवारको चार जनाको हत्या भएको खबर आएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोली घटनास्थलमा पुग्यो ।

‘सुरुमा घटनास्थल सुरक्षित गरेर जाँच थालेका थियौं’ काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोरा भन्छन्, ‘घटनास्थलमा सुसाइड नोट बरामद भयो, त्यसबाटै धेरै कुरा स्पष्ट भइहाल्यो ।’

नोटले ४१ वर्षीय दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने देखाएको प्रहरी बताउँछ । घरभित्र चारजना बाहेक तेस्राे व्यक्तिको प्रवेश नहुनु, हत्यामा प्रयोग भएका चक्कु र ब्लेड पनि त्यहीं फेला पर्नुले पनि हत्यापछि आत्महत्या भएको आशंकालाई नै बल पुर्‍याएको प्रहरी बताउँछ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विभागका डा. गोपाल चौधरी नेतृत्वको टोली पनि घटनास्थल पुगेको थियो । टोलीका एक सदस्यका अनुसार शव जाँचबुझ भएभन्दा १२ घन्टा पहिलेको जस्तो देखिन्छ । अर्थात्, आइतबार राति ११ बजेदेखि १२ बजेको बीचमा घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

छरछिमेकले भने रातको समयमा दिनेशको घरबाट कुनै किसिमको आवाज नसुनेको बताएका छन् । राति पानी परेकाले पनि केही थाहा नभएको हुनसक्ने छिमेकी परिवर्तन कार्की बताउँछन् । भन्छन्, ‘अझ झ्याल ढोका सबै लगाएपछि के थाहा हुनु !’

फरेन्सिक विज्ञको रायका आधारमा प्रहरीले दिनेशले पूर्वतयारी गरेर श्रीमतीको हत्या गरेको हुनसक्ने आशंका गरेको छ । घरमा दिनेश र सुनिता बेग्लाबेग्लै कोठामा सुत्ने गर्थे । आइतबार राति श्रीमती र छोराछोरी निदाइसके पछि दिनेशले घटना घटाएको हुनसक्ने अनुसन्धान अधिकृतहरुको विश्लेषण छ ।

मध्यरातमा दिनेश श्रीमतीको कोठामा आएपछि सुनितासँग विवाद भएको र त्यही क्रममा चक्कु प्रहार गरेपछि प्रतिकार गरेको हुनसक्ने भन्दै एक अधिकृत बताउँछन् । भन्छन्, ‘उनले शरीरमा लगाएको कपडा च्यातिनु र खाटबाट वरैदेखि रगतका छिट्टाहरु देखिनुले त्यही संकेत गर्छ ।’ सुनिताको शव भेटिए वरपर रगताम्ये अवस्थामा पैंतालाका डोब पनि छन् ।

श्रीमतीको हत्या गर्दागर्दै छोराछोरीले थाहा पाएको अथवा ब्युँझिएको हुनसक्छ, त्यही क्रममा दुवैको हत्या भएको हुनसक्ने प्रहरी अधिकृतहरुको विश्लेषण छ । दिनेशले लेखेको सुसाइड नोटमा भने ‘छोराछोरीलाई छाड्न मन नलागेर सँगै लगेको’ दाबी छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार राति दिनेशले सुरुमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको संकेत देखिन्छ । तर त्यो सम्भव नभएपछि आफैंलाई चक्कु प्रहार गरेको हुनसक्ने देखिएको छ ।

प्रहरीका अनुसार दिनेशले लेखेको सुसाइड नोटमा श्रीमती सुनिताप्रति धेरै गुनासो गरेका छन् । प्रहरीले हालसम्म नोटमा उल्लेखित विषयहरुलाई ‘क्रसचेक’ गरिसकेको त छैन, तर उनको एकतर्फी लेखौटलाई मान्ने हो भने परिवारै सिद्धाउनु पछाडिको कारण श्रीमान् र श्रीमतीबीचको बेमेल नै भएको देखिन्छ ।

नोटमा उनले श्रीमतीकै खुसीका लागि १३ वर्ष विदेश गएर दुःख गरेपनि आफू एक्लो भएको भनेका छन् । ‘परिवार र श्रीमतीको सुखीका लागि दुःख गर्न विदेश गएँ, तर सबैले सम्पत्ति हडपेर मलाई एक्लै पार्न खोजे’ उनले भनेका छन्, ‘जति माया गरेपनि मैले बदनामी मात्रै पाएँ, मलाई थुनाउन पनि पछि परेनन् ।’

छिमेकीका अनुसार अहिले उनीहरु बस्ने घरजमिन सुनिताको नाममा थियो । दिनेशले त्यसलाई बिक्री गर्न खोजेका थिए, एकजनासँग १० लाख रुपैयाँ बैना पनि लिएका थिए । ‘तर सुनिताले माइती पक्षसँग समेत सरसापट लिएर जरिवानासहित ११ लाख रुपैयाँ फिर्ता दिएकी थिइन्’ छिमेकी परिवर्तन भन्छन् ।

डिभोर्सको प्रस्ताव अस्वीकार

छिमेकी परिवर्तनका अनुसार दिनेश र सुनिताबीच झगडा भइराख्थ्यो । २०७७ को वैशाखमा पनि झगडा भएपछि आफन्त र छरछिमेक बसेर छलफल गराइएको थियो ।

परिवर्तनका अनुसार त्यसबेला दिनेशले श्रीमतीलाई सम्बन्धविच्छेद गर्ने प्रस्ताव राखेका थिए । सुनिताका केही आफन्तले पनि दिनेशसँग नबस्न सुझाएका थिए । तर सुनिता भन्थिन्, ‘छोराछोरीका लागि भएपनि मैले अहिले छुट्टिन मिल्दैन ।’

छिमेकी परिवर्तनको स्मरणमा आफ्नै परिवारका सदस्यले पनि छोडपत्र गर्न सुझाउँदा पनि नमान्नुको कारण तिनै छोराछोरी भएको उनले बताएकी थिइन् । त्यसबेला दुवै मिलेर बस्ने सहमति भएपनि झगडाको चुरो सुल्झिएको थिएन । त्यसपछि पनि सुनिताले दुईपटक आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै प्रहरी वृत्त बालाजुमा निवेदन दिएकी थिइन् ।

प्रहरीका अनुसार दिनेशलाई दुई पटक हिरासतमा उभ्याइएको पनि थियो । दिनेशले त्यसलाई इखका रुपमा पालेर बसेको सुसाइड नोटमा पनि संकेत गरेका छन् ।

छोराछोरीको शव भेटिएको खाट ।

दिनेशले श्रीमतीसँगै बसेर खाना नखाएको पनि महिनौं भएको उल्लेख गरेका छन् । छिमेकीहरुका अनुसार सुनिता चाहिं श्रीमान् विग्रिएको भन्दै सधैं गुनासो गरिराख्थिन् । परिवर्तन भन्छन्, ‘मेरी श्रीमतीलाई उहाँले श्रीमानले रासनहरु पनि केही ल्याउँदैन, केटाकेटीलाई पनि राम्ररी हेर्दैन भन्नुभएको रहेछ ।’

घरपरिवारलाई नहेरेको बरु बाहिर सम्बन्ध बनाएको हुनसक्ने आशंका गर्ने गरेको छरछिमेकहरु बताउँछन् । दिनेशको पनि सुनिताप्रति यस्तै आशंका देखिन्छ । छरछिमेककै उपस्थितिमा श्रीमान्–श्रीमतीबारे छलफल भएपछि लामो समयसम्म उनीहरुबीच बोलचाल भएन, केही महिना अघिबाट चाहिं उनीहरु बोलिरहेका देखिन्थे ।

सुसाइड नोटमा चाहिं दिनेशले पुरानो घाउ कहिल्यै नपुरिएको भनेका छन् । ‘जे भयो, भयो भन्ने सोचेको थिएँ, तर मलाई घरमा आउँदा भात पनि दिएनौ, ढोका थुनेर आफैं बस्यौ’ नोटमा भनिएको छ, ‘सम्पत्ति पनि मलाई दुःख दिएर कब्जा गर्न खोज्यौ, बेघर बनाउन खोज्यौ ।’

४१ वर्षमा प्लस टु भर्ना भएका थिए दिनेश

छिमेकीहरुका अनुसार दिनेश र सुनिताबीच प्रेम विवाह भएको थियो । विवाह भएको केही वर्षपछि उनी विदेश गएका थिए, साउदी पुगेका दिनेश त्यताबाटै इराक पुगेर फर्किएका थिए । विदेशमा कमाएकाे पैसाबाट जोडेको सम्पत्ति श्रीमतीका नाममा थियो ।

दिनेश पढाइमा एसएलसी मात्रै उत्तीर्ण थिए, सुनिताले चाहिं स्नातकोत्तर पूरा गरेकी थिइन् । ‘श्रीमती धेरै पढेकी भइन्, आफू नपढेको भएँ भन्ने पनि उहाँलाई गुनासो थियो’ अर्का एक छिमेकीले अनलाइनखबरसँग भने, ‘त्यही कारण उहाँ भर्खरै कक्षा १२ मा भर्ना हुनुभएको थियो ।’

छिमेकीहरुका अनुसार उनी पढ्न कलेज हिंडेको भन्दै बिहान–बिहान घरबाट निस्किने पनि गरेका थिए । तर न सुनिताले श्रीमानमाथि शंका गर्न छाडे, न दिनेशले श्रीमतीमाथि । सुसाइड नोटसँगै श्रीमतीले अन्य व्यक्तिसँग कुराकानी गरेको ‘स्क्रिनसट’ राख्नुले पनि त्यसलाई संकेत गर्छ ।

उनले नोटमा भनेका छन्, ‘सुधार्न खोजें, सम्झाउन खोजें तर सम्भव भएन । त्यसैले यो बाटो रोज्नुपर्‍यो ।’

चोकमा रहेको यही टिनको टहरोमा सुनिताको फेन्सी पसल थियो ।

श्रीमतीको भिसा आयो, श्रीमानको आएन

छिमेकी परिवर्तनका अनुसार सुनिता र दिनेश दुवैले बेलायत जान ‘सिजनल भिसा’ को आवेदन दिएका थिए । सुनिताको भिसा लाग्यो, दिनेशको लागेन । त्यसप्रति दिनेश चिन्तित देखिन्थे ।

छरछिमेकलाई यही महिनाभित्र उड्नुपर्छ भन्न थालिसकेका थिए, तर आफ्नो भिसा नलागेपछि निराश थिए । सुनिताले चाहिं भिसा लागेपछि दाइको ट्राभल एजेन्सीमार्फत टिकट पनि काटिसकेकी थिइन् ।

उनी सोमबार मात्रै कमलपोखरीस्थित मेघा ड्रिम सहकारीमा आफ्नो खाता बन्द गर्न पुगेकी थिइन् । ‘छोराछोरीका लागि विदेश जानुपर्‍यो भन्दै खाता बन्द गर्न आउनुभएको थियो’ सहकारीका कर्मचारी हिक्मत कार्की भन्छन्, ‘धेरै पैसा त पहिल्यै निकालिसक्नुभएको थियो, पछिल्लो पटक ५ हजारजति बाँकी थियो ।’

विदेश जाने भएपछि चोकमा रहेको सानो फेन्सी पसल पनि विक्री गर्ने तयारी उनको थियो । श्रीमानले पनि विदेश जाने तयारी थालेपछि चार महिनाअघि पदमसाल चोकमा रहेको मोबाइल पसल विक्री गरेका थिए ।

आइतबार अपरान्ह मात्रै पनि उनले अर्को महिनासम्ममा जसरी पनि विदेश जान्छु भन्दै छिमेकीसँग भनेका थिए । तर त्यसको २४ घन्टा नपुग्दै उनी सपरिवार घरभित्रै मृत भेटिएका छन् । प्रहरीले घटनाका थप पाटो केलाइरहेको छ ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?