+
+

अर्थसचिव मरासिनी किन मन्त्रालय फर्किन चाहँदैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १४:१३
कास्कीकोट पोखरामा अर्थसचिव मरासिनी(हातमा क्याप लिएका) अन्य व्यक्तिहरुका साथ

१७ साउन, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी आइतबार पोखरा थिए । त्यही दिन जनार्दन शर्मा पुनः अर्थमन्त्री  नियुक्ति भएर मन्त्रालय आउँदै थिए ।

मन्त्रीको पदभार ग्रहण साँझ मात्र थियो । चाहेको भए मरासिनी तत्काल उनलाई स्वागत गर्न काठमाडौं आउनसक्थे ।  विहानैदेखि अर्थमन्त्री नियुक्तिको तयारीबारे खबरहरू आएकाले चाहेको भए उनी सडकबाटै २ सय किलोमिटर छिचोल्न उनलाई कठिन हुने थिएन । विमान चढेर आउन पनि सक्थे । तर सचिव मरासिनी आएनन्, राजस्व सचिव कृष्णहरि पुष्करले नवनियुक्त मन्त्रीलाई स्वागत गरे ।

मन्त्रालयका एक सहसचिवको बुझाईमा, उनले मन्त्रीलाई अव्यक्त रुपमा ‘म तपाईँको सचिव भएर काम गर्न सक्दिन’ भन्ने सन्देश दिएका हुन् ।

सचिव मरासिनी सामाजिक सञ्जाल ट्विटरमा नियमित रुपमा मन्त्रालयको गतिविधि अद्यावधिक गरिरहन्थे । तर उनले मन्त्री शर्मालाई बधाई पनि दिएका छैनन् । त्यस मामिलामा मौन बसेर ‘म सन्तुष्ट छैन है’ भन्ने सन्देश दिएका हुन्न् ।

संसदीय विशेष समितिमा दिएको प्रतिक्रियाबाट पनि अर्थसचिव मरासिनीको असन्तुष्टि बुझ्न सकिन्छ ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप खेपिरहेका शर्मामाथि सीसीटीभी मेटेको भन्दै राजीनामा दिन दबाव पर्‍यो । संसदले छानबिनका लागि विशेष समिति नै बनाउने संकेत पाएपछि शर्माले २२ असारमा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गर्न खोजेका थिए ।

तर सचिव मरासिनी आकस्मिक विदामा बसे । विदामा बस्नुको कारणबारे उनले ‘श्रीमती विरामी भएको’ भन्ने जनाउ दिए ।

जब शर्माले राजीनामा दिए, सचिव मरासिनी मन्त्रालयमा हाजिर भए । यसबारे उनलाई संसदीय विशेष समितिले समेत सोधेको थियो, ‘तपाईं त यो विषयमा विवाद आएपछि बिदामा पनि बस्नुभएको थियो । जनार्दन शर्मा मन्त्री हुँदासम्म नफर्कने भन्नुभएको थियो भनेर मिडियामा सुनिएको थियो । मन्त्रीले राजीनामा दिनुभएपछि भोलिपल्टै फर्कनुभयो फेरि । मन्त्रीले राजीनामा नदिँदा बिदा बस्नुपर्ने र राजीनामा दिएपछि फर्कने के कारण थियो ?’

जवाफमा उनले मिडियामा विवाद आएपछि आफूले थेग्न नसकेको प्रतिक्रिया दिए । ‘विवाद मिडियामा आयो र त्यसपछि सदनमा पनि कुरा उठ्यो, मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा मलाई पनि धेरै नकारात्मक टीकाटिप्पणी आए,’ उनले जवाफमा भनेका छन्, ‘मानसिक रूपमा त्यो सबै थेग्न नसकेर केही समय बिदा बस्छु भनेर बसेको हो । सम्माननीय प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्न थाल्नुभएपछि मलाई फर्केर सहयोग गर्न भन्नुभयो । देशको कार्यकारी प्रमुखले त्यति भन्नुभएपछि नमान्ने कुरै भएन ।’

तर शर्मा अर्थमन्त्री हुञ्जेल विदामा बस्ने भनी दिएको अभिब्यक्तिको खण्डन गरेनन् । ‘यी सबै घटनाक्रमले उहाँ कुनै पनि हालतमा अब अर्थमन्त्रालयमा बस्न नचाहेको देखियो’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत एक सहसचिवले भने, ‘उहाँले अन्यत्र सरुवा मागिसक्नुभएको छ । अर्को सचिव व्यवस्थापन भएपछि सरुवाको निर्णय होला ।’

महालेखा नियन्त्रक रहेका सचिव मरासिनी अर्थमन्त्रालयको प्रशासनिक नेतृत्वमा आएको ठयाक्कै एक वर्ष बितेको छ । उनी अझै केही समय अर्थमन्त्रालयमा रहन चाहन्थे । ‘अरु मन्त्री आएको भए उहाँले सरुवा माग्नुहुदैनथ्यो होला’ अर्थमन्त्रालयका एक सहसचिवको भनाईमा, ‘त्यसैले उहाँ प्रधानमन्त्रीले बोलाएर भोलीदेखि मन्त्रालय जानुहोस् भनेपछि विदाबाट फर्किनुभएको हो । नत्र त्यतिबेला नै सरुवा माग्नुहुन्थ्यो ।’

यो सरकार अब करिव चार महिना पनि रहदैन । अर्कोतर्फ अर्थमन्त्री शर्माका निर्णय र क्रियालकप एकपछि अर्को गर्दै विवादमा आउन थालेपछि आफ्नो छवी समेत बिग्रने उनी डराइसकेका थिए ।

अर्थमन्त्री शर्माले गर्ने भनिएको पत्रकार सम्मेलनको योजना बनेको दिन र त्यसपछि समेत मरासिनी प्रतिक्रिया र व्यवहारले अब उनलाई मन्त्री शर्मासँग काम गर्न कठिनमात्रै होइन, सम्भवै थिएन । उनीनिकटका एक सहसचिवले भने, ‘भोली थप मनमुटाव र चिसोपन आएर हिड्नुभन्दा अहिले नै जानुपर्छ भन्ने ठान्नुभयो ।’

सहसचिवदेखि माथिका पदमा खटनपटन र पदस्थापनका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ । मरासिनी नफर्किएको अवस्थामा बको अर्थसचिव को भन्ने जिज्ञासा सुरु भएकाे छ ।

सचिवहरुको पदस्थापनामा अहिले क्लष्टर समूह छ । विभिन्न समूहका सचिवहरु सोही समूहको दरबन्दी हुने मन्त्रालयमा मात्रै पदस्थापना हुने व्यवस्था मिलाइएको छ । प्रशासन, इञ्जिनियरिङ, स्वास्थ्य, कानून, सरकारी वकिल, लेखापरिक्षण लगायतका समूहका सचिवहरु सम्बन्धित दरबन्दी रहेको निकायमा मात्रै सरुवा हुन्छन् । प्रशासन समूह अन्तर्गत परे पनि अर्थमन्त्रालयमा क्षेत्रगत विशिष्टता र प्राविधिक ज्ञान आवश्यक पर्ने हुनाले राजस्व वा अर्थप्रशासनमा अनुभव भएका सचिवहरु मात्रै खटाउने चलन छ ।

राजस्व र अर्थप्रशासनमा अनुभव भएका केवल भण्डारी हाल राष्ट्रिय योजना आयोगका सचिव छन् । अर्थमन्त्रालयको लामो अनुभव भएका उनी सचिव हुनासाथ कर्णाली प्रदेशको प्रमुख सचिव भएर गए भने त्यसपछि योजना आयोगमा छन् । अर्थसचिवमा उनको नाम चर्चामा छ ।

अर्थप्रशासनको अनुभव भएका अर्का सचिव डा. बैकुण्ठ अर्याल वित्त आयोग लगायतका निकाय हुँदै अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव छन् ।

उनको नाम समेत आगामी अर्थसचिवको रुपमा चर्चामा छ । त्यसबाहेक कोरोनाकालमा स्वास्थ्य मन्त्रालयमा रहेका लक्ष्मण अर्याल पनि अर्थप्रशासनपृष्ठभूमिका हुन्, उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । साथै, उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको पनि नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?