+
+

कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १३:३६

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको नाफा गत आवको तुलनामा २३.७४ प्रतिशतले घटेको हो । गत आवमा खुद ब्याज आम्दानी १३.३० प्रतिशतले वृद्धि भएर ७ अर्ब ७७ करोड ७७ लाख पुगेको छ ।

कर्जा लगानी १८.५४ प्रतिशतले विस्तार गरेर १ खर्ब ७८ अर्ब ५१ करोड ४८ लाख पुर्‍याएको बैंकले निक्षेप २.२६ प्रतिशतले वृद्धि गरी १ खर्ब ६६ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुर्‍याएको छ । कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको हो ।

तर, अघिल्लो आवमा ९९ करोड ४३ लाख खुद ट्रेडिङ आम्दानी गत आवमा २६ करोड २५ लाखले नोक्सानीमा रहेको छ । जसले गर्दा बैंकको खुद सञ्चालन आम्दानी नै घटेको छ । अघिल्लो आवमा ९ अर्ब ७५ करोड ७१ लाख रहेको बैंकको खुद सञ्चालन आम्दानी गत आवमा ८ अर्ब ८५ करोड ६७ लाखमा झरेको छ । जसले गर्दा बैंकको सञ्चालन नाफा नै घटेको छ ।

कर्मचारी खर्च खासै नबढे पनि बैंकको आम्दानी घटेकोले नाफा प्रभावित भएको हो । बैंकको कर्मचारी खर्च ०.५५ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३२ करोड ९६ लाख पुगेको छ । बैंकको सञ्चालन मुनाफा १८.२५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८२ लाख रुपैयाँमा झरेको छ ।

बैंकले गत आवमा २० प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १० अर्ब ९८ करोड ९९ लाखबाट १३ अर्ब १८ करोड ७९ लाख पुर्‍याएको छ । बैंकको सञ्चित कोषमा ३ अर्ब ९० करोड ७० लाख र जगेडा कोषमा ११ अर्ब २२ करोड २० लाख रुपैयाँ छ ।

नाफा घटेसँगै प्रतिसेयर आम्दानी २४ रुपैयाँ २८ पैसाबाट घटेर १७ रुपैयाँ ९३ पैसामा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसाबाट घटेर २१२ रुपैयाँ २५ पैसामा झरेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा छ ।

बैंकको कोषको लागत बढेसँगै बेसरेट ७.१३ प्रतिशतबाट ८.९० प्रतिशत पुगेको छ । यस्तै निष्किय कर्जा १.८८ प्रतिशतबाट १.६८ प्रतिशतमा झरेको छ । पूँजी पर्याप्तता अनुपात १६.९४ प्रतिशतबाट १६.३४ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कर्जा–निक्षेप अनुपात ८९.१७ प्रतिशत छ । गत आवमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २ करोड ८० लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?