+
+

भारतबाट करोडभन्दा बढी मूल्यको सुन र गरगहना चोरेको आरोपमा थप ३ जना पक्राउ

जनक विष्ट जनक विष्ट
२०७९ साउन १९ गते १४:०१
सन्तोष लामिछाने

१९ साउन, धनगढी । भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका लामिछानेलाई बिहीबार कैलाली ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै जोशीले तत्काल विस्तृत विवरण दिन नसकिने बताए ।

भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार एक करोड रुपैयाँ भन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको डीएसपी जोशी बताउँछन् । यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले प्राविधिक सहयोगका लागि विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली कैलाली आइपुगेको पुष्टि गरे । टोलीमा को को छन् भन्ने खुलाउन भने एसपी राठौरले अस्वीकार गरेका छन् । ‘विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हामीलाई प्राविधिक सहयोग गरिरहेको छ । विस्तृत विवरण अहिले नै दिन मिल्दैन्,’ एसपी राठौरले अनलाइनखबरसँग भने ।

प्रहरी स्रोतकाअनुसार कैलाली प्रहरी विगत डेढ महिनादेखि यो चोरी प्रकरणको अनुसन्धानमा सक्रिय थियो । विशेष अनुसन्धान ब्युरोको टोली पनि केही समय अघि कैलाली पुगेर फर्किएको थियो । प्रहरीले केही गरगहना र नगद समेत बरामद गरेको छ । तर अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?