
२३ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा विद्यार्थीले आफैंले शिक्षण संस्था रोज्न पाउने व्यवस्थाले प्रतिस्पर्धा बढेको दाबी गरेको छ ।
आयोगले एकीकृत प्रवेश परीक्षामा योग्य सावित भएका विद्यार्थीले आफैंले छनोट गरेको शिक्षण संस्थामा योग्यताका आधारमा पढ्न पाउने व्यवस्था गरेको छ । शिक्षण संस्थाहरुमा योग्य र पर्याप्त विद्यार्थी आकर्षण गर्न गुणस्तरमा प्रतिस्पर्धा गर्ने प्रवृत्तिको विकास भएको आयोगको दावी छ ।
विद्यार्थीले रोजे अनुसार आयोगले विद्यार्थी पठाउने भएकाले शिक्षण संस्थाहरुलाई गुणस्तरीय बनाउन दबाव पर्न थालेको आयोगका अध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले बताए ।
सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम पढाउने अनुमति पाएका शिक्षण संस्थाले गुणस्तर नबढाए विद्यार्थीविहीन बन्न पुगेको पनि बताए ।
‘एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले रोजेको शिक्षण संस्थाको आधारमा हामीले म्याचिङ गर्छौं । विद्यार्थीले नरोजेको शिक्षण संस्थामा पठाउने कुरा हुँदैन । त्यसैले कतिपय शिक्षण संस्था विद्यार्थीको संख्या न्यून र कतिपयमा शून्य रोजाइमा परेका छन्’ डा. गिरीले भने । यसले गर्दा शिक्षण संस्थालाई शैक्षिक गुणस्तर उकास्न दबाव बढेको र विद्यार्थी आकर्षित गर्न प्रतिपस्र्धा बढेको उनको भनाइ छ ।
आयोगले गुणस्तर अभिवृद्धिका लागि सबै चिकित्सा शिक्षा अध्ययन गर्ने संस्थाहरुको वर्गीकरण सुरु गरेको पनि जनाएको छ ।
प्रतिक्रिया 4