+
+

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन २६ गते २०:१४
तातोपानी नाका/फाइल तस्वीर

२६ साउन, काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् ।

रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले अनलाइनखबरलाई बताए ।

केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए ।

‘औपचारिक कुनै जानकारी छैन, कोभिड-१९ बढेको मात्रै भनेको छन् । बुधबारदेखि नाका बन्द भएको छ,’ गौतमले भने, ‘सोमबार/मंगलबारसम्म नाका भएर २/३ वटा मालबहाक सवारी साधन आए पनि त्यो अखहिले ठप्प छ ।’

तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको उनले बताए । तर, यसबारे चिनियाँहरुले कुनै पनि जानकारी नाकामा नगराएको उनको भनाइ छ ।

यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताए । नाका भएर शनिबारदेखि मालसामान आयात नभएको उनको भनाइ छ । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ,’ मैनालीले भने , ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।’

रसुवागढी नाका/फाइल तस्वीर

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले त्यस क्षेत्रमा झण्डै लकडाउनकै अवस्था रहेको मौखिक जानकारी गराएको मैनालीले बताए । तर, नाका बन्दको अग्रिम जानकारी नदिई एक्कासी मालसामानको ढुवानी रोकिएको उनको भनाइ छ ।

नाका बन्द भएपछि व्यापारीहरु पनि सम्पर्कमा नआएको र चीनतर्फ के-कस्ता मालसामान बाटोमा रोकिएका छन् भन्ने यकिन हुन नसकेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । यता तातोपानीको खासातर्फ भने कुनै मालवस्तु नरहेको त्यहाँका भन्सार प्रमुख गौतमले बताए ।

कोरोना बढेपछि पहिला चरणमा त्यहाँका जिल्लाहरुले ८ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘मलाई आएको अनौपचारिक जानकारीमा कोभिड-१९ ले गर्दा नाका बन्द भएको भन्ने छ, थप हामी बुझ्दैछौं’ प्रजिअ जैसीले भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?