+
+

मनोज गजुरेलसँग गाईजात्रे गफ : मेरो रोजाइ खानपिन मुक्ति मोर्चा

अंगद सिंह अंगद सिंह
२०७९ साउन २७ गते ७:४८

२७ साउन, काठमाडौं । आज गाईजात्रा पर्व । हास्यव्यंग्यात्मक कार्यक्रम गरी यो पर्व मनाइँदै छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रम आयोजना समेत हुन्छन् । हामीले चाहिं गाईजात्रा पर्वको अवसर पारेर कलाकार मनोज गजुरेलसँग कुराकानी गरेका छौं :

तपाईं एक दिनको लागि प्रधानमन्त्री हुनुभयो भने के के गर्नुहुन्छ ?

सबैभन्दा पहिला त यस्ता काल्पनिक र असम्भव कुरामा विश्वास गर्नेलाई होसको दबाई खुवाउँथें । त्यतिभन्दा पनि विश्वास गर्नेलाई नमान्नेलाई आश्वासनको लड्डु खुवाउथें । भ्रमको खेती लगाउथें । सपनाको समृद्धि ल्याउँथें ।

हाम्रा नेताहरु किन रिसाएर, आक्रामक र रातोपिरो भएर भाषण गर्छन् ? शालीन र शान्त ढंगले भाषण गर्न सकिंदैन होला ?

रातोपिरो भएर भाषण गर्ने त युवा नेता मात्र हुन् । वृद्ध नेता त र्‍याल सिंगान भएर बोल्ने गर्छन् । शालीन तरिकाले भाषण गर्ने सन्तले हो, नेताले होइन ।

नेताहरुको भाषण, अन्तर्वार्ताप्रति तपाईं कति रुचि राख्नुहुन्छ ? उनीहरुको कुरा तपाईंलाई पत्यार लाग्छ ?

नरुचे पनि हेर्नु र सुन्नु हाम्रो पेशागत आवश्यकता हो । तर उहाँहरुका कुरा पत्यारभन्दा पट्यारलाग्दा हुन्छन् ।

कुन नेताको अनुहार सम्झिंदा खित्का छाडेर हाँस्न मन लाग्छ ?

जुन नेता अभिनेताजस्तो देखिन्छन् ती सबै देख्दा हाँस्न मन लाग्छ ।

यदि मनलाग्दो सेवासुविधा नपाउने, भ्रष्टाचार गर्न नपाइने तर निस्वार्थ रुपले जनताको काममा खटिनुपर्ने हुँदो हो त मन्त्री बन्न तँछाडमछाड चल्थ्यो होला ? 

तँछाडमछाड हैन, म चाहिँ छाड्छु तँ चाहिं नछाड हुन्थ्यो होला !

नेपालका कुन नेता-मन्त्री छन्, जसलाई सम्झिंदा तपाईंको हृदयमा वास्तवमै श्रद्धाभाव पैदा हुन्छ ?

दुई जना छन्, एक जनाको मृत्यु भइसक्यो, अर्को जन्मिनै बाँकी छ ।

मानौं तपाईं सुपरहिरो हुनुभयो, सबैभन्दा पहिले कसलाई तह लगाउनुहुन्छ ?

सबैभन्दा पहिला म आफैंलाई तह लगाउथें । लोभ, मोह र अहंकाररुपी शत्रुका पाता कस्थें । आलस्यलाई कैद गर्दथें । र, आफूलाई पवित्र मानव बनाउथें ।

नेपालमा सरकारी काम कारवाही किन चुस्त, छरितो र विश्वसनीय नभएको होला ?

किनकि हाम्रो देश नियम कानुनले होइन, ‘मिलाएर’ हुने गर्दछ । जे काम पनि ‘मिलाएर’ गराउने जनता, मिलाएरै गरिदिने कर्मचारी हुन्जेल यस्तै रहन्छ ।

कतिपय सरकारी कर्मचारीहरुलाई धेरै अल्छी लाग्ने किन होला ?

सायद जाँगर कम भएर होला ।

अल्छी कर्मचारीका लागि त्यस्तो कुनै औषधि होला, जो खानासाथ स्फूर्ति जगाउँछ ?

इमान्दारलाई घर चल्ने गरी तलब र भ्रष्टका लागि घर बाहिर दुवैतिर पुग्ने घुस ।

मानौं तपाईं कुनै ठूलो व्यवसाय गर्ने सुरसारमा हुनुहुन्छ, यसका लागि सरकारी कागजात मिलाउन, बैंकबाट ऋण लिन घुस दिनुपर्ने भयो । के गर्नुहुन्छ ?

घुस हैन, तीनलाई भुस खुवाउँथें र सानो व्यवसाय गर्थें ।

भ्रष्टाचारीहरुलाई कस्तो सजाय दिनु उपयुक्त हुन्छ होला ?

सार्वजनिक शौचालयमा थुनेर एक घण्टासम्म देउवाको भाषण सुनाउनुपर्छ ।

गोल्ड मेडलिस्ट सरकारी कर्मचारी पनि भ्रष्टचार गर्न तम्सिन्छन्, किन होला ?

गोल्ड मेडल बिक्री नभएर होला ।

तपाईं कुनै पार्टीको कार्यकर्ता बन्नुपरेमा, कुन पार्टी रोज्नुहुन्छ ?

मेरो रोजाइ खानपिन मुक्ति मोर्चा ।

अहिले श्रीमती हराएमा प्रहरीलाई उजुरी गर्नु उचित हुन्छ कि युट्युबरलाई ?

अनलाइन मिडिया पनि कम छैनन् ।

काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्ने कुनै खाँट्टी फर्मूला छ ?

कुहिने र नकुहिने मात्र होइन, चुहिने र नचुहिनेलाई पनि छुट्टाछुट्टै राख्नुपर्छ ।

समाजमा चोरी, डकैती, हत्या, हिंसा, बलात्कार आदि बढ्नुमा मुख्य जिम्मेवार को हो ?

चोर, डाँका, हत्यारा र बलात्कारी !

मानौं तपाईंसँग जादूको छडी छ, सबैभन्दा पहिले के गर्नुहुन्थ्यो ?

जादूको छडी सक्कली हो कि नक्कली भनेर छुट्याउँथें ।

हर्क साम्पाङलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहनुहुन्छ ?

चाहन्न भन्न कसले सक्छ ?

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?