+
+

युवा कवि श्रेष्ठको ‘बूढो समय’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते ७:२१

२७ साउन, काठमाडौं । युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ सार्वजिनक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले शनिबार राजधानीमा एक कार्यक्रममा संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि डा. बरालले नेपाली साहित्यमा कवि यात्रीका कविताले प्रगतिवादी धार समातेको चर्चा गरे । वैदेशिक रोजगारीका पीडा, समसामयिक राजनीति, माओवादी युद्धले नेपाली समाजका विविध क्षेत्रमा पारेका प्रभाव यात्रीको कवितामा देख्न पाइने उनले टिप्पणी गरे ।

यात्रीको कवितामा कविता जति डुबेर, हराएर पढिन्छ त्यति मजा आउने समालोचक ज्ञानु अधिकारीको टिप्पणी थियो । ‘कविता पढ्नु सरल छैन । कविले जुन चेतना, अनुभूति विचारमा डुबेर लेखेको हुन्छ त्यो तहमा कविता बुझ्नु जटिल बिषय हो,’ उनले भने ।

‘यात्रीको कवितामा शब्द छनोट र वाक्य निर्माण छोटा छन्,’ कवि सुरेश किरणले भने, ‘फ्रेस जस्तो लाग्यो । अरू कविको भाषासँग मेल खाएको लागेन । अहिलेको कविता सरल भाव, शैलीमा धेरै अर्थ भन्ने नै हो ।’

यात्रीको ‘काठमाडौँहरू’ कविताको भावसँग उनले असहमित राखे । ‘काठमाडौंले कसलाई चुसेको छ ? म काठमाडौंमा जन्मिएको मानिस हुँ,’ उनले प्रश्न गरे, ‘म सोच्छु बाहिरका मानिसले हामीलाई पो चुसिरहेको छ कि ?’
कवि महेश पौडेलले कविको भूगोलमा प्रवेश गरेर कविता पढ्नुपर्ने बताए । उनले भने, ‘क्लिस्ट शब्दको ठाउँमा सरलको खोजी हुनुपर्छ । नयाँ बिम्ब, प्रतिक, भाव अभिव्यञ्जना कविता पढ्दा पाउनुपर्छ ।’

कवि यात्रीले सहरभन्दा टाढा ग्रामीण बस्तीका अनुभूतिलाई आफूले कवितामा उतारेको बताए । कवि यात्री सिन्धुलीको मरिणमा रहेर कविता लेखनमा सक्रिय छन् । उनको पहिलो काव्यकृति २०६३ सालमा ‘देश स्वप्न’ प्रकाशित भएको थियो ।

कवि यात्री मरिण बहुमुखी क्याम्पस र कपिलाकोट माध्यमिक विद्यालयमा अध्यापनरत छन् । उनी अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरपछि काठमाडौँ विश्वविद्यालयबाट एमफील समेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?