+
+

नेपालको फुटबल सिजन असोजदेखि सुरु हुने

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन २७ गते १४:२३
गत मार्चमा थाइल्याण्डसँगको मैत्रिपूर्ण खेलमा नेपाली टिम । फाइल तस्वीर

२७ साउन, काठमाडौं । नेपाली फुटबलको नयाँ सिजन असोजदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिग, नेपाल सुपर लिग (एनएसएल) लगायतsf प्रतियोगिताको मिति तय गरेको छ ।

कार्यसमितिको निर्णयअनुसार तय भएका फुटबल प्रतियोगिता असोजदेखि अर्को वर्ष असारसम्म सञ्चालन हुनेछन् ।

ए डिभिजन लिग

फुटबल सिजन ९ महिनाको भए पनि  फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग भने करिब तीन महिना मात्र चल्ने छ ।

ए डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म गर्नका लागि प्रस्ताव भएको छ । निर्णय सार्वजनिक नभए पनि त्यही मितिमा लिग गर्ने एन्फाको तयारी रहेको महासचिव किरण राईले जानकारी दिए ।

‘ए डिभिजन लिगको पनि मिति प्रस्ताव भएको छ तर विज्ञप्तिमा त्यहाँ छुटेछ । अब साधारण सभाबाट यसलाई अनुमोदन गरिनेछ’,  एन्फा महासचिव राईले भने । उनका अनुसार राष्ट्रिय लिगको विषयमा छलफल भए पनि अन्तिम निर्णय भएको छैन ।

एन्फा निर्वाचनअघि पंकज विक्रम नेम्वाङले राष्ट्रिय लिग गर्ने आफ्नो एजेन्डा बनाएका थिए । तर एन्फाले यसबारे तत्काल भने केही निर्णय गरेको छैन । गत वर्ष पनि राष्ट्रिय लिग गर्ने भनिको थियो, तर आयोजना हुन सकेन ।

मंसिरमा कतारमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप हुँदैछ । यस्तै मंसिरमै नेपालमा निर्वाचन पनि हुनेछ । नेपाल सुपर लिगको दोस्रो संस्करण पनि आयोजना गर्नुपर्ने भएकोले यस पटक ए डिभिजन लिग पुसमा सुरु गर्न गर्न लागिएको हो । पोहोर लिग मंसिरमा सुरु गरेर फागुनमा सकिएको थियो ।

असोज १ देखि सी डिभिजन छनोट

फुटबलको सिजनको पहिलो प्रतियोगिताको रुपमा असोज १ गतेदेखि सी डिभिजन लिगको छनोट सुरु हुनेछ । असोज ३० गतेसम्म चल्ने छनोटमा सहभागि टिमको आधारमा आयोजना स्थल तोकिने एन्फाले जनाएको छ ।

त्यसअघि भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौँमा छैटौं साफ महिला च्याम्पियनसिप आयोजना हुनेछ ।

साफ च्याम्पियनसिप सकिएपछि राष्ट्रिय महिला लिगाको दोस्रो चरणका खेलहरु विराटनगरमा गर्ने एन्फा कार्यसमिति बैठकले निर्णय गरेको छ ।

असोज ३ गते साफ च्याम्पियनसिप सकिनेछ । असोजकै २३ गतेदेखि नेपाल सुपर लिगका लागि मिति उपलब्ध गराउने पनि एन्फाले निर्णय गरेको छ ।

एन्फाले यही समयमा महिला लिगको खेल गर्ने जनाएको छ । ‘यता एनएसएल भए पनि उता महिला लिग आयोजना हुन्छ । साफ महिला लगत्तै महिला लिग हुनेछ’, महासचिव राईले भने ।

बंगलादेशसँग मैत्रीपूर्ण खेल

नेपालले असोज दोस्रो साता घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । असोज ११ गते दशरथ रंगशालमा नेपाल र बंगलादेशबीच खेल हुनेछ । एन्फा कार्यसमिति बैठकको मैत्रीपूर्ण खेल खेल्ने निर्णय पारित गरेको छ ।

बंगलादेशसँगको मैत्रीपुर्ण खेलको लागि कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईंलाई मनोनयन गर्ने निर्णय पनि बैठकले पारित गरेको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिरामी बिदामा आफ्नै देश कुवेतमा रहेकोले एन्फाले मैत्रीपूर्ण खेलका लागि नयाँ प्रशिक्षक तोकेको हो ।

कार्यसमिति बैठकले अल्मुताइरीको बारेमा अन्य कुनै निर्णय भने गरेन । ‘प्रशिक्षकको विषयमा भने उहाँ बिदामा हुनुहुन्छ र बिरामी पनि भन्ने कुरा छ । छानबिन प्रतिवेदनको विषय पनि टुङ्गिएको छैन । त्यस विषयमा उहाँको धारणाको जवाफ पनि आउन बाँकी छ । यो सबै विषयलाइ ध्यानमा राख्दै अर्को प्रशिक्षक नियुक्त गररिएको हो’, एन्फा महासचिव राईले भने ।

हाल अमेरिकामा रहेका हुमागाईंलाई खबर पठाएको र औपचारिक पत्र पनि पठाउने राईले जानकारी दिए ।

एनएसएल असोज अन्तिमदेखि

फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) का लागि एन्फा कार्यसमितिले असोज २३ गतेदेखिको मिति उपलब्ध गराएको छ ।

तर त्यसअघि एन्फा र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)सँगको यसअघिको त्रुटिपूर्ण सम्झौता खारेज गरी नयाँ सम्झौता नवीकरण गरेर एनएसएल गर्ने कार्यसमितिले निर्णय गरेको छ ।

‘नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसँग छलफल गर्न एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नववीकरण समिति निर्माण गरि, सम्झौता नविकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल संचालनका लागि समय उपलब्ध गर्ने निर्णय गरियो ।’

एनएसएलपछि मंसिर ४ गतेदेखि कतारमा फिफा विश्वकप सुरु हुनेछ भने नेपालमा त्यही दिन नेपालमा प्रतिनिधि सभा निर्वाचन हुनेछ । एक महिना चल्ने कतार विश्वकप पुस ३ गते सकिनेछ ।

त्यसपछि ए डिभिजन लिग गर्ने एन्फाले तयारी गरेको छ ।

ए डिभिजन लिग सकिएपछि चैत-वैशाखमा बी डिभिजन लिग र वैशाख-जेठमा सी डिभिजन लिग पनि गर्ने एन्फाको योजना छ ।

ललित स्मृति यू१८ फुटबल

सबै लिग सकिएपछि एन्फाले उमेर समूहको फुटबल प्रतियोगिता ललित स्मृति यू-१८ च्याम्पियनसिप अर्को वर्ष जेठ २९ देखि असार १० गतेसम्म गर्ने निर्णय गरेको ।

उमेर समूहका खेलाडीका लागि प्रतिभा देदाउने ठाउँको रुपमा रहेको ललित स्मृति यू-१८ कोभिड-१९ का कारण पछिल्लो दुई वर्ष हुन सकेन ।

पछिल्लो पटक २०७६ मा ललित स्मृति यू-१८ च्याम्पियनसिप आयोजना भएको थियो ।

एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा २०७३ सालदेखि ललित स्मृति यू-१८ फुटबल आयोजना गर्न थालिएको हो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?