+
+

काम नगर्ने ठेकेदारलाई कालोसूची मात्र होइन, लाइसेन्स खारेज : मन्त्री यादव

काम नसकी पुल उद्घाटन

सुरेश बिडारी सुरेश बिडारी
२०७९ साउन २८ गते १९:१९

२८ साउन, वीरगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

वीरगञ्जमा शनिबार तिलावे पुलको उद्घाटन गर्दै उनले वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको टिप्पणी गरे ।

‘जनताप्रति उत्तरदायी नहुने नेतालाई ‘नमस्कार’ गर्नु नै ठीक हुन्छ । जिम्मेवारी लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्छौं’ उनले भने ।

मुद्धा हालेर विकासमा अवरोध सिर्जना गर्नेलाई जनताले चिन्नुपर्ने मन्त्री राईको भनाइ छ । आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको उनले दावी गरे । उनले संघको जिम्मेवारीमा रहेका सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागका महानिर्देशकलाई निर्देशन दिए ।

वीरगञ्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लगाउने, त्रिभुवन राजपथ अन्र्तगत गण्डकदेखि घण्टाघरसम्मको खण्डमा ओभर ले गर्ने लगायतका काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने मन्त्री राईले आश्वासन दिए ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले वर्षौदेखि ठेक्का लिएर बस्ने काम नगर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे । उनले कालोसूचीमा राखेर मात्रै नहुने देखिएकाले लाइसेन्स नै खारेज हुनुपर्ने बताए । ‘१५ वर्षदेखि पुलको ठेक्का लिएर बसेका छन्, एक जना मान्छे पुल बनाउन खटिएको हुन्छ । कालो सूचीमा राखेर नहुने रहेछ, एउटा कालोसूचीमा राख्यो अर्को कम्पनी दर्ता गरेर आउँछ’, उनले भने ‘अब समयमा काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्ने र लाइसेन्स खारेज नै गर्नुपर्छ ।’

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी र ठोरी–माडी खण्डमा वनका कारण उत्पन्न समस्या समाधानमा वन मन्त्रालयले पहलकदमी लिने उनको भनाइ छ ।

‘१/२ वटा रुख काट्न कानुन बाधक बनिदिन्छ, जसका कारण नारायणघाट वीरगञ्ज जोडिने हुलाकी सडक अँधुरो छ । हुलाकी सडक बनेपछि पर्साको विकासले फड्को मार्छ’, उनले भने ‘दुई हप्ताअघि गएर माडीमा ८ किलोमिटर सडकखण्डको काम सुरु गराइसकेको छु । अदालतले हात्ती, बाघ, भालु लगायत वन्यजन्तुको बाटोमा अवरोध पुग्ने हुँदा विकल्प दिनुपर्ने भनेको छ । अण्डर वाइपास वा ओभर वाइपास बनाउने गरी स्वीकृति दिन सकिन्छ । ठोरी–माडी सडकखण्डको पनि अवरोध हट्छ ।’

तिलावेमा अझै काम बाँकी

उद्घाटनपछि शनिबारदेखि नै तिलावे खोलाको नयाँ पुल सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १७ र १९ जोड्ने तिलावे नदीको पुल हुँदै पर्साको ग्रामीण क्षेत्रका मानिसहरु विभिन्न कामका लागि वीरगञ्ज आउने जाने गरेका छन् ।

पुल सञ्चालनमा आएपछि सर्वसाधरणले वर्षौंदेखि खेप्दै आएको सवारी जाम हुने सास्तीबाट मुक्ति मिल्ने भएको छ । तर कतिपयले पुल निर्माणको काम शतप्रतिशत सम्पन्न नभई उद्घाटन गरेकोमा कतिपयले असन्तुष्टी जनाएका छन् ।

स्थानीय चन्द्रिका साहले काम अधुँरो छँदै पुलको उद्घाटन गरेकोमा असन्तुष्टी जनाए । ‘नेताले पनि हेरेका छन् नि पुलको काम बाँकी नै छ ? काम अधुरो देख्दादेख्दै उद्घाटन गरेको छ’, उनले भने, ‘राम्रोसँग काम सम्पन्न भएपछि उद्घाटन गर्नुपर्छ नि ।’

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि उद्घाटन समारोहमा सहभागी भएनन् । नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारुले भने जिल्लाका विभिन्न पुल र सडकको काम वर्षौंदेखि अधुरो रहेको गुनासो गरे । ‘ठेक्का लिने, मोबिलाइजेसन रकम पनि लिने अनि काम नगर्ने प्रवृत्तिको अन्त्य हनुपर्छ’ उनले भने ।

नयाँ पुलसम्म जानका लागि दुवैतर्फ ३/३ सय मिटर सडक बन्न बाँकी नै छ । त्यसैले तत्कालका लागि नयाँ पुलबाट हलुका सवारी साधन मात्रै सञ्चालन गरिने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

‘फलामे पुल मात्रै हुँदा साँझ र बिहान पुल पार गर्न लामो समय पर्खनुपर्ने स्थिति थियो । अब डबल लेनको १०३ मिटर लामो आरसीसी पुल तयार भएको छ । अब जाम लाग्दैन’, उनले भने, ‘दुवैतिर ३/३ सय मिटर एप्रोच सडक र नदी तटबन्धनको काम बाँकी छ । वर्षाको समयमा कालोपत्रे गर्दा राम्रो नहुने भएकोले सुख्खा समयमा कालोपत्रे गर्न भनेका छौं ।’

ठेक्काको म्याद पनि कात्तिक ३० गतेसम्म थप गर्नका लागि प्रस्ताव गरिएको उनले बताए । नयाँ पुलसँगै पुरानो तिलावेको पुरानो पुलपनि मर्मत र रंगरोगन गरेर सञ्चालनमा ल्याईने उनको भनाइ छ ।

१०३ मिटर लामो र ७ मिटर चौडाई रहेको तिलावे पुल निर्माणको जिम्मा पप्पु÷लुम्बिनी जेभीले २०७२ जेठ २५ मा लिएको हो । भ्याट सहित ८ करोड ७२ लाख रुपैयाँमा पुल बनाउने जिम्मा उसले लिएको थियो । सम्झौता अनुसार २०७५ जेठ २४ गते सम्ममा पुल तयार हुनुपर्ने थियो ।

तिलावे पुलको काम समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुको साटो योजना कार्यालयले म्याद थपको सहुलियत दिँदै आएको थियो । पछिल्लो पटक थपिएको म्याद पनि असार १३ गते सकिसकेको छ ।

पुल निर्माणमा ८५ प्रतिशत भौतिक र ८० प्रतिशत आर्थिक प्रगति भएको ह्ुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी ईन्जिनियर दुर्गा मण्डलले जानकारी दिए ।

सिर्सिया र मितेरी पुलको अनुगमन

मन्त्रीद्वय राई र यादवले वीरगञ्ज– २५ स्थित सिर्सिया पुल र मितेरी पुलको पनि स्थलगत निरीक्षण गरेका छन् । वडा नं २५ स्थित सिर्सिया पुलको काम सम्पन्न नहुँदा वर्षायाममा वडाका बासिन्दाले निकै सास्ती भोग्दै आएको वडा अध्यक्ष आशुतोश चर्तुवेदीले मन्त्रीहरुलाई सुनाए ।

वीरगञ्जको रजत जयन्तीचोकदेखि मितेरी पुलसम्मको सडक पनि वर्षौदेखि जीर्ण हुँदा सर्वसाधरण सास्ती र धुलो खान बाध्य छन् । व्यापारिक मार्ग विस्तार योजना कार्यालयले सडक बनाउने ठेक्का लगाएको भएपनि सर्वोच्च अदालतमा मुद्धा परेका कारण काम अघि बढ्न सकेको छैन ।

मन्त्री राईले सिर्सिया पुलमा काम नगर्ने ठेकेदारलाई कारबाहीका लागि सूचना निकाल्न महानिर्देशकलाई निर्देशन दिएका छन् । भने मितेरीपुलदेखि रजतजयन्ती चोकसम्मको सडक बनाउने काम एक साताभित्र सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?