News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्यान फाउन्डेसनले नुवाकोटको त्रिशूली नदी किनारमा राष्ट्रिय बाल दिवसमा बाढी प्रभावित बालबालिका र जेनजी सहिदका सन्तानलाई एकै ठाउँमा भेला गराएर कार्यक्रम गरेको छ।
- कार्यक्रममा करिब ६० जना बाढी प्रभावित बालबालिका, १५ जना जेनजी सहिदका सन्तान र अभिभावकसहित करिब १२० जनाको सहभागितामा खेल, फेस पेन्टिङ र भेटघाट गराइएको छ।
- फाउन्डेसनले जेनजी सहिदका ३१ जना बालबालिकालाई कक्षा १२ सम्म मासिक ४० हजार रुपैयाँका दरले शैक्षिकवृत्ति दिँदै आएको छ।
२९ भदौ, नुवाकोट पीडाको प्रकृति फरक थियो, तर चोट एउटै। कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोही यही भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीमा घरबार र आफन्त गुमाएका।
तर बालबालिकाका लागि यी पीडाबीच पनि खेल्नु, रमाउनु र मनोरञ्जन गर्नु बालअधिकारको अनिवार्य हिस्सा हो। यही कुरालाई मनन गर्दै गोल्यान ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्यान फाउन्डेसनले त्रिशूली नदी किनारमा राष्ट्रिय बाल दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बाढी प्रभावित बालबालिका र जेनजी सहिदका सन्तान एकै थलोमा भेला भएर रमाए। एकअर्कासँग चिनजान गरे, खेल खेले र मित्रताको साइनो गाँसे।
गोल्यान फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेका अनुसार दुवै समूहका बालबालिकाका लागि फाउन्डेसनले काम गरिरहेको सन्दर्भमा बाल दिवसको अवसर पारेर उनीहरूलाई एकै ठाउँमा भेला गरिएको हो।
फाउन्डेसनले एक वर्षदेखि जेनजी सहिदका सन्तानलाई अध्ययनका लागि सहयोग गर्दै आएको छ। पछिल्लो समय बाढीबाट प्रभावित बालबालिकालाई पनि विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा भोजन, बालमनोसामाजिक परामर्श, खेल तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ।
‘यही अवस्थामा हामीले बालबालिकालाई एकै ठाउँमा राखेर बाल दिवस मनाउनुपर्छ भनेर विदुरमा यो कार्यक्रम आयोजना गरेका हौँ,’ गैह्रेले भनिन्।

कार्यक्रमका लागि फाउन्डेसनले काठमाडौंमा अध्ययनरत १५ जना जेनजी सहिदका बालबालिका र उनीहरूका अभिभावकलाई विदुर लगेको थियो। चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा करिब ६० जना बाढी प्रभावित बालबालिका सहभागी थिए।
कार्यक्रमको मुख्य उद्देश्य बाल दिवसको अवसरमा बालबालिकालाई एकअर्कासँग भेटघाट गराउने र रमाइलो वातावरणमा दिवस मनाउने थियो। कार्यक्रममा फेस पेन्टिङलगायत बालमनोरञ्जनात्मक विभिन्न खेल तथा गतिविधि सञ्चालन गरिए।
फरक भूगोल र परिवेशबाट आएका बालबालिकाबीच केही समयमै घनिष्ठ चिनजान भयो। उनीहरूले एकअर्कासँग खेल्दै र रमाउँदै मित्रताको सम्बन्धसमेत गाँसे।
कार्यक्रममा बालबालिका र उनीहरूका अभिभावकसहित करिब १२० जनाको सहभागिता थियो। बाढी प्रभावितसमेत रहेका विदुर नगरपालिका–५ का वडा सदस्य विनोद चित्रकारले फरक–फरक मनोसामाजिक समस्याबाट प्रभावित बालबालिकालाई एकै थलोमा भेला गरेर बाल दिवस मनाउँदा सकारात्मक प्रभाव परेको बताए।
‘फाउन्डेसनको यो कार्यले बालबालिकालाई खुसी प्रदान गर्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको छ,’ उनले भने। सहिद परिवारकी सदस्य पार्वती अधिकारीले कार्यक्रमले बालबालिकाको मुहारमा खुसी थपेको बताइन्।
‘एक वर्षदेखि साथी बनेका हाम्रा सहिदका बालबच्चाहरूले त्यहाँ गएर नयाँ साथी बनाए। हामीलाई पनि बाढी प्रभावितको पीडा बुझ्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘यसबाट जीवनमा दुःख, पीडा जेजस्तो आइलागे पनि सहनुपर्छ भन्ने शक्ति मिलेको छ।’
फाउन्डेसनले जेनजी सहिदका ३१ जना बालबालिकालाई कक्षा १२ सम्मको शिक्षाका लागि शैक्षिकवृत्ति प्रदान गर्दै आएको छ। उनीहरूलाई मासिक ४० हजार रुपैयाँका दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्मको शैक्षिकवृत्ति प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
प्रतिक्रिया 4