+
+

जब पतिलाई रक्सीको लत लाग्छ…

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन ३० गते १६:४५

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल भन्ने गर्छन्, ‘रक्सी पिउनु स्वास्थ्य र स्वास्नी दुवैको लागि हानिकारक छ ।’

अक्सर कतिपय श्रीमानमा रक्सीको लत हुन्छ । महिलाहरु पनि रक्सी नपिउने होइनन् । तर तुलनात्मक रुपमा पुरुषहरु बढी रक्सीको लतमा परेको देखिन्छ ।

मनोविद् करुणा कुँवर भन्छिन्, ‘पितृसत्तात्मक संरचनामा पुरुषहरु हरेक कुरामा हाबी हुन खोज्छन् । उनीहरु बढी स्वतन्त्र र शक्तिको उपभोग गर्ने चाह राख्छन् । पुरुषले रक्सी पिउनुमा पनि यही मनोविज्ञानले बढी काम गरेको छ ।’

चाडपर्व, भोजभतेर, साथीभाइको जमघटमा प्राय: पुरुषहरु रक्सीको साथ खोज्छन् । जब कसैले रक्सी पिउँछन्, उसको मस्तिष्कले डोपामाइन हर्मोन उत्सर्जन गर्छ । यसले रक्तप्रवाह बढाउँछ, मुटुको गति बढाउँछ । यही कारण मान्छेमा आवेग र उत्तेजना बढ्छ ।

ठीक यही स्थितिमा हो, मान्छेको बोली र व्यवहार अनियन्त्रित हुने । यसरी नै साँझ अनियन्त्रित रुपमा जब श्रीमानको प्रवेश हुन्छ, घरको माहोल बिथोलिन्छ । एक किसिमको त्रास र तनावको स्थिति पैदा हुन्छ । बालबच्चाहरु डराउँछन् ।

पारिवारिक सुख बिथोल्छ

सामान्य हिसाबले त यो एक पेय मात्र हो । तर रक्सी पिउने जुन प्रवृत्ति छ, त्यसले सुन्दर पारिवारिक संरचनालाई नै ध्वस्त बनाउँदै लगेको हुन्छ । यसले पारिवारिक व्ययभार बढाउँछ ।

रक्सी आफैंमा महंगो पेय हो । अर्कोतिर यसले तनावको स्थिति सिर्जना गर्छ । ‘रक्सी पिएपछि अक्सर मान्छेहरुमा उत्तेजना, क्रोध पैदा हुन्छ,’ मनोविद कुँवर भन्छिन्, ‘यसले पारिवारिक कलह निम्त्याउँछ ।’

रक्सी पिएपछि घरका अरु सदस्यहरु आनन्दित र शान्त रहन सक्दैनन् । उनीहरुलाई पीर पर्छ ।

उनी भन्छिन् ‘यसको अर्को साइड इफेक्ट भनेको, ढिलो चाँडो रक्सी पिउनेलाई रोगले च्याप्छ । रोगले च्यापेपछि परिवारको आर्थिक बोझ बढ्छ । तनाव र दुःखले घरमा प्रवेश गर्छ ।’

रक्सीले एकातिर आर्थिक बोझ थपिदिन्छ भने अर्कोतिर आफ्नो स्वास्थ्यलाई कमजोर बनाउँदै लैजान्छ । जसले गर्दा उनीहरुले पारिवारिक दायित्व राम्ररी निर्वाह गर्न सक्दैनन् ।

शारीरिक र मानसिक रोगी

बेलामौकामा रक्सी पिउनु सामान्य भए पनि यसलाई कतिपयले लतकै रुपमा लिएका हुन्छन् । यदि कोही नियमित रक्सी पिउँछन् भने उनीहरु शारीरिक र मानसिक दुवै रुपले स्वस्थ हुँदैनन् । रक्सीले मानिसको मस्तिष्कलाई असर गर्ने, सोच्ने क्षमतामा कमी आउने आदि समस्या हुन सक्छ ।

वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा भन्छन्, ‘रक्सी रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । अनि मस्तिष्कसँग सम्बन्धित समस्या देखा पर्न थाल्छ ।’

रक्सी पिउने मान्छेको तार्किक, सोच्ने क्षमता कमजोर हुन्छ । यसैले उनीहरु सही ढंगले काम व्यवहार गर्न सक्दैनन् ।

बालबालिकामा भय   

घरका सदस्य वा बुवाले रक्सी पिएपछि त्यसले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने मनोविद् कुँवर बताउँछिन् । रक्सी पिएपछि उनीहरु सही ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् । उनीहरुको बोली, व्यवहार भड्किलो हुन्छ । झैझगडा गर्न तम्सिन्छन् । यसले गर्दा बच्चाहरुमा भय पैदा हुन्छ ।

रक्सीले घरको वातावरण बिगार्छ । यसले गर्दा बच्चाहरु आफ्नो पढाइ वा काममा राम्ररी ध्यान दिन सक्दैनन् । उनीहरुको खानपान र निद्रा बिथोलिन्छ । उनीहरुको मनोबल पनि कमजोर हुँदै जान्छ ।

त्यति मात्र होइन, घरपरिवारमा रक्सी खाने व्यक्ति छन् भने उनीहरुका छोराछोरीले पनि त्यसको सिको गर्छन् ।

यौन जीवनमा भाँजो

रक्सी पिएपछि मान्छे शारीरिक र मानसिक रुपमा शिथिल हुन्छन् । यसले दम्पतीबीचको यौन जीवनमा पनि भाँजो हाल्छ ।

मदिराको असरले यौन इच्छामा कमी आउने वा यौनाङ्ग शिथिल हुने समस्या हुन्छ । साथै उनीहरुले यौनबाट आनन्द वा सन्तुष्ट लिन सक्दैनन् । त्यसैले रक्सीको कारण दम्पतीको यौन जीवन बिथोलिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?