News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको जलजलामा भएको जीप दुर्घटनामा २० जनाको घटनास्थलमै ज्यान गएको छ भने ९ जना जिसी परिवारका सदस्य पनि मृत्यु भएका छन्।
- यमबहादुर र द्रोपदा जिसी दम्पती, छोरी युभा र उनका नाति दिव्यनसहित ९ जनाको परिवार पूजाआजामा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेका थिए।
- जिसी दम्पतीले नयाँ घरमा सर्न नपाउँदै परिवारको यो दुर्घटना भएको छ र छोरी युभा अमेरिका जान लागेको खुसी परिवारमा थियो।
१८ चैत, काठमाडौँ । केही दिनमै छोरी अमेरिका उड्ने तयारीमा थिइन्, उता गाउँमा भर्खरै ठड्याएको नयाँ घरमा सर्ने चटारो थियो ।
यही खुसीयाली मनाउन र भाकल बुझाउन घोराही उपमहानगरपालिका-१५ रत्नपुरका यमबहादुर र द्रोपदा जिसी दम्पती छोरी, बुहारी र नातिनातिनीसहित ९ जनाको परिवार लिएर घरबाट निस्किएका थिए ।
यसका लागि उनीहरूले शुक्रबार परेको चण्डी पूर्णिमाको अवसरलाई रोजे । तर पूर्णिमाको अघिल्लै दिन भएको सडक दुर्घटना उनीहरूका लागि कालरात्रि बन्यो । उनीहरूको खुसीले गन्तव्य भेट्टाउन पाएन ।
शुक्रबार रोल्पाको जलजलामा हुने पूजाआजामा सहभागी हुन जिसी दम्पती लगायत सवार जिप रुकुमकोटबाट रोल्पाको जलजलातर्फ जाँदै थियो । २१ जना सवार उक्त जीप थबाङ गाउँपालिका–१ र ४ नम्बरको सिमानामा पर्ने डाँडामा दुर्घटनामा पर्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, वर्षात्का कारण बाटो चिप्लो हुँदा दुर्घटनामा परेको जिपमा सवार २० जनाको घटनास्थलमै ज्यान गयो भने जीसी परिवारका ९ जना पनि एकै चिहान बने ।
भाकल पूरा गर्न जाँदा दुर्घटना
छिमेकी तथा नातामा आफन्त पर्ने मालती थापाका अनुसार पूर्वप्रहरी यमबहादुर र उनकी श्रीमती द्रोपदा घोराही–१५ रतनपुरमा बस्दै आएका थिए । उनीहरूकी छोरी २८ वर्षीया युभा बिसीका श्रीमान् दीपक बुढाथोकी (यमबहादुरका ज्वाइँ) अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । यमबहादुरकी छोरी युभा श्रीमान् दीपकलाई भेट्न वैशाख २९ गते अमेरिका जाने तयारीमा थिइन् ।
जिसी परिवारमा एकसाथ दुईवटा खुसी थपिएका थिए । पहिलो– छोरी अमेरिका जाँदै थिइन् । दोस्रो– लामो समयपछि बनेको नयाँ घरमा जिसी दम्पती सर्ने तयारीमा थिए ।
संयोगले एकसाथ जुरेको खुसियाली मनाउन यमबहादुर सपरिवार दर्शनका लागि जलजला जाँदै थिए । उता रुकुम पूर्वमा रहेका युभाका देवर बिरामी भएकाले उनको स्वास्थ्यलाभको भाकल बुझाउन पनि उनीहरू त्यसतर्फ जाँदै थिए ।

‘छोरी युभा अमेरिका जान लागेकाले परिवारमा खुसियाली छाएको थियो,’ छिमेकी मालतीले भनिन्, ‘एकैसाथ खुसी मनाउन हिँडेको परिवारको एकै चिहान हुन पुग्यो ।’
यमबहादुर र श्रीमती द्रोपदासहित छोरी युभा र उनका १० वर्षीय नाति दिव्यन बिसीले ज्यान गुमाए । त्यस्तै, जिसी दम्पतीकै बुहारी तिला विष्ट जिसी र उनका दुई छोराछोरी ७ वर्षीय जेनिस र १२ वर्षीया जेनिसाको पनि ज्यान गयो । तिलाका श्रीमान् गोविन्द जिसी पनि अमेरिकामै छन् ।
दुर्घटनामा जिसी दम्पतीकी २५ वर्षीया छोरी एलिना जिसी र उनका ७ वर्षीय छोरा संयोग जिसीले पनि ज्यान गुमाए । एलिनाका श्रीमान् अहिले इटालीमा छन् ।
नयाँ घरमा सर्न नपाउँदै अस्ताए
यमबहादुर जिसी दम्पतीले घोराहीकै रतनपुरमा भर्खरै नयाँ घर बनाएका थिए । त्यसअघि उनीहरू रतनपुरमै सानो घरमा बस्दै आएका थिए । छिमेकीका अनुसार जिसी परिवारले धेरै लामो मिहिनेतपछि त्यस क्षेत्रमा ठूलै घर हालेको थियो ।
केही दिनमा दम्पती त्यो नयाँ घरमा सर्ने तयारीमा थिए । तर नयाँ घरमा बस्न नपाउँदै बिहीबार जिसी परिवार अस्तायो ।

छिमेकी मालती थापाका अनुसार जिसी परिवार टोलकै सुखी र खुसी परिवारमा पर्थ्यो । सबैजसो छोरा–ज्वाइँ विदेशमै थिए । त्यसमाथि छोरी पनि अमेरिका जान लागेको खुसी झन् थपिएको थियो ।
उनले यो घटना आफूलाई पत्याउन मुस्किल भइरहेको बताइन् । ‘केही दिनअघि हाँस्दै–रमाउँदै गएको परिवार यसरी फर्किएला भनेर कसले सोचेको होला र ?’ उनले भनिन्, ‘सपना हो कि विपना, पत्याउन गाह्रो भइरहेको छ । यो घटनाले पूरै गाउँ शोकमग्न भएको छ ।
प्रतिक्रिया 4