+
+

नेपालबाट विदेशी कम्पनीमा काम गर्ने व्यक्तिले आफ्नै बैंक खातामा पारिश्रमिक पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १३:४०

३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमै बसेर विदेशी कम्पनीमा काम गर्ने कम्पनी तथा व्यक्तिले पाउनुपर्ने शुल्क तथा पारिश्रमिक वापतको विप्रेषण आप्रवाह (रेमिट्यान्स) को दैनिक सीमा वृद्धि गरेको छ । साथै, नेपालमा बसेर विदेशी फर्म वा कम्पनीमा काम गर्नेले सम्बन्धित व्यक्तिको बैंक खातामा सिधै पारिश्रमिक पाउने भएका छन् ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै नेपाली तथा विदेशी नागरिक वा कम्पनीले विभिन्न सेवा उपलब्ध गाराउँदा विदेशबाट प्राप्त हुने रकम तथा पारिश्रमिक फिर्ता नहुने गरी अनुमति प्राप्त रेमिट्यान्स कम्पनीमार्फत लाभग्राही (वेनेफिसियरी) को खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि त्यस्तो सेवा वापत प्राप्त पारिश्रमिक रेमिट्न्यास मार्फत कम्पनीको खातामा मात्रै जम्मा गर्नसक्ने भएपनि अब नेपालमै बसेर विदेशी कम्पनीमा काम गर्नेले सिधै आफ्नो खातामा उक्त रेमिट्न्यान्स पाउने भएको हो ।

साथै यसरी प्राप्त गर्नसक्ने रेमिट्यान्सको दैनिक सीमा पनि बढेको छ । राष्ट्र बैंकले यसरी प्राप्त गर्नसक्ने रेमिट्यान्सको दैनिक सीमा १० लाखसम्म रहेकोमा त्यसलाई बढाएर १५ लाख पुर्‍याएको छ ।

‘नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित ‘वेनेफिसियरी’को खातामा जम्मा गर्ने गरी दैनिक १५ लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने छ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यसरी प्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनुपर्ने जनाएको छ । त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र यस विभागमा पेश गर्नुपर्ने जनाएको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्यमा जारी भएको कार्डमार्फत पनि रेमिट्यान्स भित्र्याउन सकिने व्यवस्था गरेको छ । ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधीनमा रही विप्रेषण भित्र्याउन सक्नेछन्’ परिपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?