+
+
किशोर पुस्ता :

मायावी पिरती : किन कोही प्रेममा ज्यानै फाल्छन् ? 

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन ३१ गते १६:११

काठमाडौं । ‘आमाबुबा मलाई माफ गरिदिनुहोला मैले तपाईंहरूको इच्छा पूरा गर्न सकिनँ ।’ कैलालीकी हिमानी विष्टले यही साउन १३ गते ‘सुसाइड नोट’ लेखेर आफैंलाई समाप्त गरिन् । गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा कक्षा १० मा पढ्दै गरेकी हिमानीलाई होस्टलमा मृत्त भेटिएको थियो ।

‘असफल प्रेम सम्बन्ध’ले उनलाई आत्महत्याको स्थितिमा पुर्‍याएको उनका सहपाठीहरु बताउने गर्थे ।

यसैगरी गत साउन २४ गते इटहरीकी २१ वर्षीय श्रद्धा घिमिरेले आत्महत्या गरिन् । इटहरीस्थित सुष्मा गोदावरी कलेजमा कक्षा १२ पढ्दै गरेकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का बताउँछन् ।

उनले केही दिनअघि आफ्नो फेसबुक अकाउन्टमा एउटा स्टाटससहित भिडियो सेयर गरेकी थिइन् । जसमा लेखिएको थियो, ‘कुनै केटीको लाइफसँग खेल्नु हुँदैन नि केटाहरू ।’

यी दुई घटनाले किशोर पुस्ताको बिग्रिंदो मनोदशा र त्यसले कसरी उनीहरुलाई अप्रिय निर्णय गर्न उक्साइरहेको छ भन्ने देखाउँछ । खासगरी प्रेममा बहकिएर आफैंलाई नियन्त्रण गर्न नसक्ने स्थितिमा यस्तो दुर्घटना हुने गरेको पाइन्छ । ‘तर घरपरिवारले कारण खुलाएर उजुरी नगर्ने भएकाले आत्महत्याको कारण यही हो भनेर हामीले ठोकुवा गर्न मिल्दैन,’ डीएसपी खड्का भन्छन्, ‘आत्महत्याको पछाडि उनीहरुको प्रेम सम्बन्धबारे थाहा हुने कुरा पनि हुँदैन ।’

यतिबेला उनीहरु देखासिकीमा पनि प्रेम गर्छन् । आफू आकर्षक छु भन्ने पुष्टि गर्न पनि ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्ड बनाउने प्रवृत्ति हुन्छ । यतिबेला उनीहरु एकातिर प्रेमलाई सर्वोपरी मानिरहेका हुन्छन् भने सम्भावित विछोड वा धोकाबाट भयभित पनि । त्यसैले उनीहरु भावनात्मक रुपले नाजुक अवस्थामा हुन्छन् ।

यद्यपि यो उमेरमा आत्महत्या गर्नुपर्ने खासै अरु कारण नहुने र साथीसंगीको भनाइलाई आधार मान्दा ‘असफल प्रेम सम्बन्ध’ले यस्तो मोडमा पुर्‍याउने गरेको पाइन्छन् ।

किशोरावस्था आफैंमा एक संवेदनशील उमेर भएको र यसबेला उनीहरु भावनात्मक रुपले धेरै बहकिने भएकाले कतिपय निर्णय गर्न हतारिने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् । ‘यो उमेरमा चाँडै एकअर्कासँग आकर्षित हुने, प्रेम सम्बन्ध गाँस्ने र भावनामा बहकिने हुन्छन्,’ मनोविद् ठगुन्ना भन्छन्, ‘प्रेमभन्दा अरु केही छैन भने जसरी उनीहरु त्यसैमा एकोहोरिन्छन् ।’ जब यसमा ठेस लाग्छ वा प्रेममा धोका पाउँछन्, तब उनीहरुले अरु कुनै उपाय सोच्न भ्याउँदैनन् । नतिजा, आफैंलाई समाप्त गर्ने मनोदशामा पुग्छन् ।

किशोर चरणमा पुगेपछि उनीहरु आफूलाई स्वतन्त्र महसुस गर्न थाल्छन् । शारीरिक विकास र भावनात्मक उथलपुथलले पनि उनीहरुको चञ्चलता बढ्छ । यही बेला उनीहरुलाई नयाँ नयाँ अभ्यास गर्न मन लाग्छ । सानैदेखि सुनिरहेको ‘प्रेम’को अनुभव लिने रहर जाग्छ । त्यसैले उनीहरु कसैप्रति आकर्षित हुन्छन् र त्यसैलाई ‘प्रेम’ भनी बुझ्छन् ।

एकअर्कासँग नजिकिने, कुराकानी गर्ने क्रमसँगै उनीहरु बहकिन थाल्छन् । ‘यो एक हिसाबले बेहोसीको अवस्था जस्तै हो,’ मनोविद् ठगुन्ना भन्छन्, ‘यसबेला उनीहरुले अरु केही देख्दैनन् ।’

यतिबेला उनीहरु देखासिकीमा पनि प्रेम गर्छन् । आफू आकर्षक छु भन्ने पुष्टि गर्न पनि ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्ड बनाउने प्रवृत्ति हुन्छ । यतिबेला उनीहरु एकातिर प्रेमलाई सर्वोपरी मानिरहेका हुन्छन् भने सम्भावित विछोड वा धोकाबाट भयभित पनि । त्यसैले उनीहरु भावनात्मक रुपले नाजुक अवस्थामा हुन्छन् ।

‘प्रेममा परेको बेला उनीहरुको शरीरमा अक्सिटोसिन भन्ने हर्मनको श्राव हुन्छ,’ मनोविद् ठगुन्ना भन्छन्, ‘यो हर्मनले गर्दा जुन व्यक्तिको प्रेममा उनीहरू हुन्छन् त्यो व्यक्तिले गरेको हरेक काम राम्रो लाग्छ । गलत नै काम गरे पनि सही लाग्छ  । त्यसैले गर्दा सही गलत छुटाउन सक्दैनन् । अर्थात् आफ्ना पार्टनरले शारीरिक सम्बन्ध राख्न चाहेमा पनि उनीहरु तयार हुन्छन् ।’

यसरी गर्ने कतिपय अपरिपक्क निर्णयले उनीहरुलाई नराम्रो फन्दामा पार्छन् । त्यसमाथि अहिले सामाजिक सञ्जालको व्यापकता छ । फेसबुकबाट जोडिने, च्याटमा भावना साट्ने क्रममै उनीहरु एकअर्कालाई मन पराउन थाल्छन् । माया पिरतीका कुरा गर्दागर्दै एकअर्काको निजी कुराहरु साट्ने गर्छन् । कतिपयले नितान्त व्यक्तिगत फोटो भिडियो पनि आपसमा साझेदार गर्छन् । जब दुबैवीच मनमुटाव हुन्छ, विगतमा गरेको यही गल्तीले उनीहरुलाई अप्ठ्यारोमा पार्छ ।

‘कुनै पनि काम सोचविचार नगरी हतारमा गर्छन्,’ ठगुन्ना भन्छन्, ‘जसले उनीहरुलाई पछुतोमा पार्छ ।’ अन्ततः डिप्रेसन, एन्जाइटी जस्ता समस्याले सताउन थाल्छ । यसैले उनीहरुलाई आत्महत्यासम्मको मोडमा पुर्‍याउँछ ।

२४ वर्षसम्म मानसिक रोगको जोखिम बढी

कुनै पनि व्यक्ति १४ वर्षको उमेर सम्ममा पुग्दा यसमा ५० प्रतिशत मानसिक समस्या देखिने सम्भावना हुन्छ भने २४ वर्ष उमेर पुग्दासम्ममा ७५ प्रतिशत मानसिक रोगको समस्या देखा पर्ने सम्भावना हुने ठगुन्ना बताउँछन्  । ‘एकातिर संवेगात्मक अस्थिरताको अवस्था अर्कोतिर मानसिक समस्या देखिने सम्भावनासँग पनि जुध्नुपर्ने उमेर भएकाले पनि २४ वर्ष उमेर सम्मका व्यक्तिहरूले बढी आत्महत्या गरेको पाइन्छ’ ठगुन्ना भन्छन्, ‘जसमा कारण भने फरकफरक हुन सक्छ ।’

उनका अनुसार कसैले किशोर अवस्थामा गरेको प्रेम नै मेरो जिन्दगीभरको प्रेम हो भनेर सोच्छ र धेरै विश्वास गर्छ भने कसैले क्षणिक स्वार्थको लागि प्रेम गरेको पनि हुन सक्छ । ‘भविष्यको लागि सोचेर प्रेम गरेको मान्छेले क्षणिक स्वार्थ पूर्तिको लागि प्रेम गरेको मान्छे भेट्यो उ विचलित हुन्छ,’ ठगुन्ना भन्छन्, ‘उसले परिवार समाज केही देख्दैन । आफूले माया गरेको मान्छेले धोका दियो भने ऊ बिना  कसरी बाच्ने भन्ने मात्र देख्छ ।’

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

पछिल्लो समय आत्महत्याका घटना धेरै सुनिन्छन् । यस्ता घटना बढेका छन् मात्र भन्नु भन्दा पनि यसलाई कम कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि सचेतना जगाउनुपर्छ ।

मानसिक समस्या भएका किशोर किशोरीहरूले आत्महत्याको प्रयास गर्न सक्ने भएकोले उनीहरूको बानीव्यवहारमा आएको परिवर्तनलाई ख्याल गरेर उनीहरूसँग नजिक भएर उनीहरूको मनमा गुम्सिएर रहेको कुरा बाहिर ल्याउनुपर्ने ठगुन्ना सुझाउँछन् । ठगुन्ना भन्छन्, ‘यदि  कुनै व्यक्ति मानसिक समस्याले ग्रसित छ आफ्नो कुरा अरूलाई भन्न पनि सक्दैन भने निःशुल्क हेल्पलाइन नम्बर ११६६ मा फोन गरेर मनोपरामर्श लिन सक्छन् ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?