+
+

मोबाइलको अनधिकृत आयात रोक्न ३० भदौदेखि एमडीएमएस लागू हुने 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १९:१५

काठमाडौं । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आगामी ३० भदौदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गर्ने भएको छ ।

दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनले काठमाडौंको सोल्टी होटलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) को संयुक्त कार्यशाला गोष्ठी आयोजना गर्दै एमडीएमएस सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले एमडीएमएसको महत्व, विशेषता र प्रविधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागू गर्नु पर्नेमा जोड दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थिति बाहेक आगामी ३० भदौदेखि एमडीएमएस सिस्टम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गोष्ठीमा मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दीपककुमार मलहोत्राले मोबाइल फोनलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय वस्तुको रुपमा लिने गरेको बताए । तर सरकारले विलासिताको वस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोप्रति उनले आपत्ति जनाए । गैरकानुनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौंको सङ्ख्यामा भित्रि‌ंदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुगेको उनको भनाइ थियो ।

मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा एमपीआईएका उपाध्यक्ष सञ्जय अग्रवालले ३० भदौदेखि औपचारिक रुपमा एमडीएमएस सुरुवात हुने र यसको दुईदेखि तीन महिनामा शतप्रतिशत लागू हुने बताए । देशलाई नै चाहिने अति आवश्यक बृहत योजनालाई सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

गोष्ठीमा नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?