+
+

मनाङका घर–घरमा हाइब्रिड स्याउ

रासस रासस
२०७९ भदौ १ गते १६:०५

१ भदौ, मनाङ । हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए ।

‘रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पुर्‍याउन भने सडकका कारण समस्या छ’ उनले भने ।

रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार/पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उनले बताए । ‘हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ’ उनले भने, ‘यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।’

यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुर्‍याउन सकिने उनी बताउँछन् । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुर्‍याउने बेला भएको छ । विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन् । कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन् ।

सहज रुपमा यहाँको स्याउ बजारमा पुर्‍याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उनीहरुको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ ।

सडक सञ्जाल सहज बनाएर बजारमा पुर्‍याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ । तर, सडक यातायातको समस्याले बजारसम्म पुर्‍याउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?