+
+

नेपाल टी-२० लिग : ड्राफ्ट मिति नजिकिँदै, टिम घोषणा हुनै बाँकी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ १ गते १७:५०
गत जेठमा भएको टी–२० लिगको आधिकारिक घोषणा समारोह । फाइल तस्वीर

१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने लागेको पहिलो फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगका लागि खेलाडी अनुबन्ध (ड्राफ्ट) मिति नजिकिँदा सहभागी टिमले पूर्णता पाउन सकेको छैन ।

साउन २ गते प्रतियोगितामा सहभागी ६ मध्ये चार टिमको घोषणा गरेको क्यानले बाँकी टिमकै आग्रहमा नाम सार्वजनिक नगरेको बताएको थियो । दुई टिम एक सातापछि घोषणा गर्ने क्यान पदाधिकारीले अनौपचारिक कुराकानीमा बताएका थिए । एकैपल्ट टिम घोषणा गर्न नसकेको भनेर क्यानको आलोचना पनि भएको थियो ।

अहिलेसम्मकै भव्य फ्रेञ्चाइज क्रिकेट दाबी गरिएको यो प्रतियोगिताका सुरु हुन एक महिना र एक साता बाँकी छ । अहिलेसम्म बाँकी दुई टिमको टुंगो छैन । टिम घोषणामै अलमल भएपछि प्रतियोगिता निर्धारित मितिमा आयोजना हुनेमा आशंका उब्जेको छ ।

क्यानले भने सबै तयारी योजना अनुसार नै अगाडि बढिरहेको जनाएको छ । क्यान सचिव प्रशान्त विक्रम मल्लले नेपाल टी–२० लिग निर्धारित मितिमै आयोजना हुनेमा शंका नगर्न आग्रह गरे । ‘शतप्रतिशत तोकिएको मितिमै लिग हुनेछ । त्यसका लागि हामीले विभिन्न चरणमा काम गरिरहेका छौं । हामीले अहिले मैदानको अपग्रेड गर्ने, दुई टिमको टुंगो लगाउने, ड्राफ्टको तयारी गर्ने काममा छौं,’ उनले अनलाइनखबरसँग भने ।

सचिव मल्लका अनुसार बाँकी दुई टिमको टुंगो अर्को साता लाग्नेछ । प्रतियोगिताका लागि यसअघि घोषणा भएको टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स र लुम्बिनी अल स्टार्स छन् । यसमध्ये विराटनगर, जनकपुर र लुम्बिनीले कार्यक्रम गरेर आधिकारिक लोगो पनि सार्वजनिक गरिसकेको छ ।

बाँकी टिमको घोषणा भएपछि मात्र क्यानले ड्राफ्ट मार्फत खेलाडी अनुबन्धन प्रक्रिया सम्पन्न गर्नेछ । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको अधिकार दिएको छ ।

नेपाल टी–२० लिग र नवौं राष्ट्रिय खेलकुदको मिति एउटै समयमा परेपछि क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग समन्वय गरी नवौं राष्ट्रियमा समावेश पुरुष क्रिकेट असोज ८ गते अघि नै सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

प्रतियोगिता उद्घाटनको २० दिनअघि ड्राफ्ट

अहिले विश्वभर फ्रेञ्चाइज क्रिकेट लिगको लहर छ । सन् २००८ मा भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएपछि अष्ट्रेलियादेखि क्यानडासम्म यस्ता लिग हुन थालेका छन् । कति देशमा निरन्तरता पाउँदा कतिपय देशले निरन्तरता दिन सकेको छैनन् ।

आईपीएल विश्वकै सबैभन्दा चर्चित र ग्ल्यामरस छ । आईपीएलमा खेलाडीको लागि मेगा अक्सन, मिनी अक्सन हुन्छ । बिग बास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग लगायत लिगमा टिमले ड्राफ्टमार्फत सिधै खेलाडी अनुबन्ध गर्छन् ।

नेपाल टी२० लिगमा पनि ड्राफ्टमार्फत खेलाडी अनुबन्ध गरिनेछ । खेलाडीको ड्राफ्ट भदौको तेस्रो साता हुने क्यान सचिव मल्लले जानकारी दिए । ‘लिग सुरु हुनु २० दिनअघि ड्राफ्ट हुनेछ । ड्राफ्टमा कूल ६६ नेपाली खेलाडी सहभागी हुनेछन् । त्यसबाट हरेक टिमले ११–११ खेलाडी अनुबन्ध गर्नेछन्’, मल्लले भने ।

उनले ड्राफ्टमा समावेश हुने खेलाडीको मापदण्ड बनाइने बताए । ‘टेक्निकल कमिटीले ड्राफ्टमा पर्ने खेलाडीको लागि मापदण्ड बनाउँदैछ । त्यसैबाट तीन क्याटेगोरीमा खेलाडी राखिनेछ,’ मल्लले थपे, ‘क्याटेगोरी ‘ए’ मा ६ जना, क्याटेगोरी ‘बी’ मा २४ र क्याटेगोरी ‘सी’ मा ३६ खेलाडी हुनेछन् ।’

हरेक फ्रेन्चाइजले क्याटेगोरी ‘ए’ बाट एक खेलाडी, क्याटेगोरी ‘बी’ बाट ४ र क्याटेगोरी ‘सी’ बाट ६ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

क्याटेगोरी ‘ए’मा रहेका खेलाडीले १५ लाख, क्याटेगोरी ‘बी’का खेलाडीले १० लाख र क्याटेगोरी ‘सी’मा रहेका खेलाडीले ५ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । एउटा टिमले नेपाली खेलाडीका लागि ८५ लाख खर्च गर्नुपर्नेछ ।

नेपाल टी–२० लिगको गभर्निङ काउन्सिल (सञ्चालक परिषद) का निर्देशक समेत रहेका मल्लले ड्राफ्ट हुँदा खेलाडी मुल्य नबढ्ने बताए । ‘अक्सन भएको भए खेलाडीको मूल्य बढ्दै जानसक्थ्यो । ड्राफ्टमा त्यही मूल्य नै अन्तिम हुनेछ,’ उनले भने ।

टी-२० विश्वकपसँग जुध्दा विदेशी खेलाडीलाई असर

नेपाल टी२० लिगमा सहभागी एक टिमले १६ खेलाडी राख्न पाउनेछन् । जहाँ ११ नेपाली र ५ विदेशी खेलाडी हुनेछन् ।

क्यानले नेपाली टी२० लिगका ठूला विदेशी खेलाडी ल्याउने योजना बनाएको थियो । तर अष्ट्रेलियामा हुने आईसीसी टी२० विश्वकपसँग समय जुधेकोले विश्वकप खेल्ने खेलाडी नेपाल आउने छैनन् । नेपाल टी२० लिग कात्तिक ५ गतेसम्म चल्नेछ । अष्ट्रेलियामा टी२० विश्वकप असोज ३० गतेदेखि सुरु हुनेछ ।

‘विश्वकपसँग मिति जुधेपछि योजनामा रहेका केही खेलाडीहरु छुट्ने भए । तर, विश्वकप खेल्ने टिममा नपरेका र अन्य देशका खेलाडीहरु उपलब्ध हुनेछन्,’ मल्लले भने । विदेशी खेलाडीको लागि पनि ‘ए’, ‘बी’ र ‘सी’ क्याटेगोरीमा छुट्याएर अनुबन्ध गर्ने योजना रहेको उनले बताए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?