+
+

निरन्तरतामा क्रम भंग गर्ने प्रक्रिया सुरु भएको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते ९:१२

२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफू अहिले वामपन्थी आन्दोलनलाई एकीकृत गर्न सक्रिय रहेको बताए ।

‘हामी नेतृत्व पुरानै तरिकाले, पुरानै रुपमा मात्रै अगाडि बढेर अबको क्रान्ति या अबको राष्ट्रको आवश्यकता पूरा हुन सक्दैन,’ प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुविकृत गर्ने, एकीकृत गर्ने काम भइराखेको छ ।’

निर्वाचन पनि संघर्षकै एउटा चरण भएको भन्दै उनले यतिबेला वामपन्थीहरुबीच एकता र ध्रुवीकरण होस् भनेर आफूहरुले प्रयास गरेको बताए । केही समाचार सकारात्मक भएको महसुस गरेको उनले बताए । त्यसको उदाहरणको रुपमा उनले माओवादी केन्द्रको चिह्नमा चुनाव लड्ने डा. बाबुराम भट्टराई र बामदेव गौतमको निर्णय तथा पार्टी एकता संयोजन समिति गठन गर्ने एकीकृत समाजवादीको तयारीको प्रसंग जोडे ।

तर यतिले मात्रै नपुग्ने भन्दै उनले भने, ‘अझ धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उद्देश्य पूरा गर्न हामीले अझ धेरै मिहिनेत गर्नुपर्ने छ ।’ उनले निरन्तरतामा क्रम भंग गर्ने प्रक्रिया फेरि सुरु भएको बताए ।

उनले माओवादीमा क्रान्तिकारी स्पिरिट कमजोर हुँदै गएको बताउँदै भनाइ र गराईको अन्तरविरोध हल गर्ने उपाय खोज्न सुझावसमेत दिए । उनले भने, ‘सबैले सोचौं, भनाइ र गराईलाई एकरुपतामा ल्याउने, सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर फेरि एउटा आन्दोलन सुरु गर्ने तिर हामी सबैको बुद्धि विवेक, बर्कत लागोस् ।’ अन्यथा माओवादीहरुले हामी क्रान्तिकारी हौं भन्ने औचित्य सिद्धिने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?