+
+

लिगलिगकोटदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १८:३१

२ भदौ, गोरखा । पालुङटार नगरपालिकाको ऐतिहासिक स्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ । नेपाल एकीकरणको दौरान प्रयोग भएका पदमार्गलाई समेटेर दौड गर्न लागिएको मूल आयोजक समारोह समितिले जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले भदौ २५ गते दौड हुने बताएको छ । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको समिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । एकीकरणको दौरान प्रयोग भएका गढी तथा किल्लाहरुको संरक्षण गर्ने उद्देश्उ पनि रहेको उनले जानकारी दिए ।

‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने अवधारणासहित हुन लागेको दौडको निर्धारित दुरी ४० किलोमिटर रहेको छ । प्रतियोगिताको उपाधि बिजेताले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

उपविजेताले एक लाख, तृतीय हुनेले ७५ हजार, चौथो हुनेले ५० हजार र पाचौं स्थान हासिल गर्नेले ३५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै छैटौं, सातौं, आठौं, नवौं र दशौं हुनेले क्रमश ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने आयोजक समितिले जनाएको छ ।

लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोकको चित्रेपोखरी हुँदै गोरखा दरवारमा आएर टुङ्गिने छ । दौड हुने मार्गको केही दिनमा स्थलगत निरीक्षण गरी आवश्यक मर्मत गरिने आयोजकले जनाएको छ ।

दौडमा सहभागी हुन चाहनेहरुले अनलाइन फारम भर्न सक्ने छन् । नेपाली सेनाको रिपुमर्दन गण, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकाले संयुक्त रुपमा प्रतियोगिता गर्न लागेका हुन् । प्रतियोगिता गर्न करिव १५ लाख लाग्ने अनुमान गरिएको छ । नेपाली सेनाले एक लाख र बाँकी रकम सम्बन्धित पालिकाले व्यहोर्ने बताइएको छ ।

२०७६ सालबाट जिल्लामा उक्त दौड प्रतियोगिता सुरु भएको थियो । वर्षेनि प्रतियोगिता गर्ने भनिए पनि कोभिडका कारण दुई बर्ष गर्न नसकिएको आयोजकले जनाएको छ । यसबर्षबाट दौड प्रतियोगिताले निरन्तरता पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?