+
+

‘त्रिविमा विभाग हटाएर स्कुल बनाउने तयारी छ’

अहिले त्रिविमा ४० वटा केन्द्रीय विभाग छन् । कुनै विभागमा विद्यार्थीको चाप अत्यधिक छ, कुनैमा ज्यादै न्यून । त्यसैले यी विभाग आपसमा गाभेर १७ वटा स्कुल बनाउने तयारी भइरहेको छ ।

प्रा.डा.ध्रुवकुमार गौतम, प्रमुख, त्रिवि योजना निर्देशनालय प्रा.डा.ध्रुवकुमार गौतम, प्रमुख, त्रिवि योजना निर्देशनालय
२०७९ भदौ ३ गते ११:३५

त्रिविका विभिन्न विभागमा विद्यार्थी संख्या कम हुनु सामान्य हो । कुनै विभागमा कुनै साल कम र कुनै साल बढी विद्यार्थी हुनु स्वाभाविक नै मानिन्छ । तुलनात्मक रूपमा केही विभागमा अघिल्लो वर्षहरूमा भन्दा विद्यार्थी घटेका छन् । तर शिक्षक भने उही संख्यामा छन् ।

त्योसँगै विभागमा नयाँ कार्यक्रमहरू एमफिल, पीएचडी थप भइरहेका छन् । शिक्षा संकायले सामाजिक अध्ययन शिक्षा शैक्षिक कार्यक्रम पनि सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम सुरु गरेपछि त्यता भने विद्यार्थी संख्या एकदम धेरै बढेको छ । अरू विभागमा विद्यार्थी कम भए पनि सामाजिक अध्ययन शिक्षाका विद्यार्थीले समग्र त्रिविको विद्यार्थी संख्या सन्तुलन राख्छ ।

स्नातकोत्तर तहमा विद्यार्थी कम भए पनि तिनै शिक्षकले एमफिल तथा पीएचडी पढाउनुपर्ने र शिक्षकको काम रिसर्च गर्ने भएकोले शिक्षकहरू पूर्ण रूपमै व्यस्त छन् । कतिपयमा त शिक्षक कमी भइरहेको छ । शिक्षा संकायमा सुरु भएको नयाँ शैक्षिक कार्यक्रममा पनि यता विभागमा भएका शिक्षकहरूबाटै अध्यापन भइरहेको छ । त्यसैले अहिले आंशिक शिक्षक राख्नुपर्ने अवस्था आएको छैन ।

कतिपय विभागमा भने विद्यार्थी ज्यादै कम छन् । त्यसैले विद्यार्थी संख्या कम भएका विभाग एकाएक आपसमा मिलाएर लैजाने अथवा त्यता सार्ने गरी ‘वर्क आउट’ भइरहेको छ । विद्यार्थी संख्या कम र शिक्षकहरू बढी भएकोले भन्दा पनि विश्वविद्यालयको संरचना परिवर्तन गर्नुपर्ने कुरा पहिलेदेखि नै उठिरहेको हो । विभागीय संरचना नै परिवर्तन गरेर नयाँ तरिकाले जानुपर्छ भन्ने हो । त्यसैले योजना निर्देशनालयले पनि त्यही आधारमा जाने भनेर गृहकार्य गर्दै आइरहेको छ । निर्देशनालयले अहिले विद्यार्थी संख्या कम भएका र मिल्दोजुल्दो सम्बन्धित विभागहरू गाभेर स्कुल बनाउने तयारी थालेको छ ।

समय अनुसार परिमार्जन हुँदै जानुपर्छ भन्ने मान्यता हो । शैक्षिक क्षेत्रको दायरा फराकिलो बनाउँदै लैजान नसके नागरिक मात्रै होइन राज्य नै पछि पर्छ । देश विकासको मुख्य मेरुदण्ड शिक्षा मानिन्छ । हरेक दृष्टिकोणबाट शैक्षिक गुणस्तर विश्वस्तरीय हुनुपर्छ । त्रिवि नेपालको पहिलो र ठूलो विश्वविद्यालय भनिरहेर मात्रै अब केही हुँदैन । त्रिविमा पढाइ हुने विषयको विश्वसनीयता, शैक्षिक गुणस्तर विश्वको प्रतिष्ठित विश्वविद्यालय सरह हुनुपर्छ । त्यसैको लागि त्रिभुवन विश्वविद्यालय पुनर्संरचित हुनुपर्छ भन्ने तर्कहरूको आधारमा काम सुरु भएको छ ।

अहिले हामीले ‘भिजन २०३०’ तयार गरेर त्यही अनुसार काम गरिरहेका छौं । निर्देशनालयले २०३० सम्ममा विभागहरूलाई मर्ज गरेर स्कुल बनाउने योजना अनुसार काम गरिरहेको छ । यस विषयमा हामीले पटक–पटक कुलपति समेत रहनुभएका प्रधानमन्त्रीसामु प्रस्तुति गरिसक्यौं । यस विषयमा भर्खरै पनि शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगमा एक चरणमा काम गर्यौं । अहिले कानुनी व्यवस्थाहरू कसरी समेटेर अघि बढ्ने भन्ने तहबाट काम भइरहेको छ ।

विभागहरूलाई स्कुल बनाउने तयारी

अहिले त्रिविमा ४० वटा केन्द्रीय विभाग छन् । कुनै विभागमा विद्यार्थीको चाप अत्यधिक छ, कुनैमा ज्यादै न्यून । त्यसैले यी विभागहरू आपसमा गाभेर जाने तयारीमा छौं । ‘भिजन २०३०’ अन्तर्गत ४० केन्द्रीय विभागलाई मर्ज गरेर १७ वटा स्कुल बनाउने तयारी भइरहेको छ ।

त्यसो हुँदा विभिन्न ३/४ वटा विभाग मिलेर एउटा स्कुल बन्नेछ । फ्याकल्टी अफ म्यानेजमेन्ट भए जस्तै स्कुल अफ म्यानेजमेन्ट नभए पनि यस्तै केही हुनेछ । कानुनी समस्याले विश्वविद्यालय पुनर्संरचनाको काम हुनसकेको छैन । किनभने २०१६ सालदेखिको विश्वविद्यालय पुनर्संरचना गर्नका लागि कानुनमा नलेखी सम्भव छैन । त्यत्तिकै तयारी र अध्ययन हुनुपर्छ । जुन अहिले भइरहेको छ । त्रिविको पुनर्संरचना कसरी गर्ने भन्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

(त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा.डा.ध्रुवकुमार गौतमसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?