+
+
फ्राइडे रिलिज :

हलमा लागे कृष्णलीला, प्रेमगञ्ज, माइकल अधिकारी र कार्तिकेय २

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १०:४६

काठमाडौं । कृष्ण जन्माष्टमीका दिन शुक्रबार नेपाली हलमा तीन नेपाली र एक दक्षिण भारतीय फिल्म रिलिज भएका छन् । अलग जनराका यी सबै फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्नेछन् ।

दीपक वली निर्देशित ‘कृष्णलीला’, रञ्जित रौनियारको ‘माइकल अधिकारी’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ रिलिज भएका हुन् । भारतमा पछिल्लो साता चर्चा बटुलिरहेको हिन्दी डब फिल्म ‘कार्तिकेय २’ समेत प्रदर्शनमा आएको छ ।

‘कृष्णलीला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका छ । अटिजम प्रभावित युवकले महत्वाकांक्षी र सामान्य स्वास्थ्य अवस्थाकी युवतीलाई एकोहोरो प्रेम गर्दा आउने घुम्ती र संघर्ष फिल्मको कथावस्तु हो । पुष्पले यसमा अटिजम प्रभावित युवकको चरित्र चित्रण गरेका छन् । यो फिल्मका गीतहरु नेपाली चार्टबस्टरमा हिट छन् । रोमान्टिक र सामाजिक कथावस्तुको फिल्म मनपर्छ भने यो फिल्म रुचिकर हुनसक्छ ।

‘माइकल अधिकारी’मा सृष्टि श्रेष्ठ र सौगात मल्लको प्रमुख अभिनय छ । गोपीकृष्ण मुभिजले निर्माण गरेको फिल्मको कथावस्तु ‘सरोगेसी’मा आधारित छ । विपन्न दम्पतीले आर्थिक अभावमा कसरी मातृत्वलाई बिक्री गर्छन् र यसले भविष्यमा निम्त्याउने सामाजिक संकट फिल्ममा चित्रण छ ।

तेज गिरी र बेनिशा हमालको प्रमुख भूमिका रहेको ‘प्रेमगञ्ज’ले एकै व्यक्तिको दुई समयको प्रेमकथालाई प्रस्तुत गरेको छ । ‘जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन’ फिल्मको थिम हो । रोमान्टिक जनराको फिल्म रुचाउनेलाई यो फिल्म योग्य हुनसक्छ ।

एक्सन, एड्भेन्चर र फेन्टासी जनरामा राखिएको फिल्म ‘कार्तिकेय २’मा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम् र अनुपम खेरको प्रमुख भूमिका छ । चन्दु मनदेती निर्देशित फिल्मले भगवान श्रीकृष्णको शक्तिमार्फत कसरी मुख्य पात्र कार्तिकेयले आफ्नो समस्याको रहस्य पत्ता लगाउँछ भन्ने कथावस्तु यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?