+
+

यस्तो छ २०२४ को यू-१९ विश्वकपको बाटो, नेपालको सम्भावना कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १५:३०
सन् २०२१ मा सारजहाँमा नेपाली यू-१९ क्रिकेट टिम । फाइल तस्वीर

३ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) दुई वर्षपछि हुने उमेर समूहको विश्वकपका लागि रोडम्याप सार्वजनिक गरेको छ । १६ टिम सहभागी हुने विश्वकपमा ५ टिम छनोट प्रतियोगिताबाट छानिनेछन् ।

सन् २०२४ मा आयोजना हुने आईसीसी यू-१९ विश्वकप खेल्नका लागि नेपालले ६ टिम सम्मिलित एसिया क्षेत्रको छनोट प्रतियोगिता डिभिजन वान जित्नुपर्नेछ ।

यू-१९ विश्वकपमा आईसीसीका १२ पूर्ण सदस्य मध्ये ११ राष्ट्र सिधै छनोट हुने व्यवस्था छ । २०२० मा वेष्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष एघारमा रहेका भारत, इंग्ल्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, वेष्टइन्डिज, आयरल्याण्ड, जिम्बावे सिधै २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।

छनोट प्रतियोगिताबाट एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट एक-एक टिम छानिनेछन् ।

नेपालको छनोटको बाटो

नेपालले यू-१९ विश्वकपमा छनोट हुन एसिया क्षेत्रको छनोट प्रतियोगिता जित्नुपर्नेछ । आईसीसीले नेपालले खेल्ने क्षेत्र एसियासहित युरोप र अफ्रिका क्षेत्रमा दुई डिभिजनको छनोट प्रतियोगिता हुनेछ ।

अमेरिका र इस्ट एसिया क्षेत्रमा एक चरणको छनोट प्रतियोगिता हुनेछ । एसियामा नेपालले सिधै डिभिजन वानमा खेल्नेछ ।

एसियाको डिभिजन टुमा बहराइन, भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड छन् । सेप्टेम्बर-अक्टोबरमा ओमानमा हुने डिभिजन टुबाट शीर्ष दुई टिम डिभिजन वानमा पुग्नेछन् । जहाँ यी दुई टिम सहित नेपाल, युएई, मलेसिया र कुवेत गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट विजेता टिममात्र २०२४ को यू-१९ विश्वकपमा छनोट हुनेछन् ।

अघिल्लो पटक गुमेको अवसर

सन् २०२२ मा भएको यू-१९ विश्वकपमा छनोट प्रतियोगिता नहुँदा नेपालले विश्वकपमा पुग्ने अवसर गुमाएको थियो ।

कोभिड-१९ महामारीका कारण आईसीसीले अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता रद्द गरेपछि नेपाल अभागी बनेको थियो ।

पछिल्लो पाँच छनोट प्रतियोगिता गरेको प्रदर्शनका आधारमा आईसीसीले सिधै टिम छान्दा त्यसबेला युएई भाग्यमानी बन्दै विश्वकपमा छनोट भएको थियो ।

नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप खेलेको थियो भने २०१८ र २०२० मा पनि छनोट हुन सकेन ।

सन् १९८८ देखि सुरु भएको यू-१९ विश्वकपमा नेपालले अहिलेसम्म ७ पटक प्रतिस्पर्धा गरिसकेको छ । जसमा नेपालको राम्रो इतिहास पनि छ । यू-१९ विश्वकपमा नेपालले टेष्ट राष्ट्रहरुलाई समेत पराजित गरेको थियो भने सन् २००६ मा प्लेट च्याम्पियनसिप (शीर्ष आठ बाहेकको टिम) को उपाधि नै जितेको थियो ।

पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपाल समूह चरण पार्दै क्वाटरफाइनलसम्म पुगेको थियो ।

त्यही विश्वकप खेलेका लेग स्पीनर सन्दीप लामिछाने अहिले राष्ट्रिय टिमको कप्तान छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आरिफ शेख पनि राष्ट्रिय टिममा छन् । त्यसबेलाका कप्तान राजु रिजाल, सुनिल धमला र इशान पाण्डेले पनि नेपालका लागि खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?