२५ वैशाख, काठमाडौं । गएको मंगलबार बेलुकी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को कार्यालयमा एक विशेष कार्यक्रम आयोजना भएको थियो ।
सचिन तेन्दुलकर र सुनिल गावस्करको नामबाट राखिएका रूमको उद्घाटनको अवसरमा बीसीसीआई अध्यक्ष रोजर बिन्नी, सचिव देवजीत सैकिया र महाप्रबन्धक अबे कुरुविल्ला उपस्थित थिए। गावस्कर र तेन्दुलकर पनि कार्यक्रममा सहभागी भए।
राष्ट्रिय टोलीका सेलेक्टरहरू पनि कार्यक्रममा थिए तर रोहित शर्मा र प्रशिक्षक गौतम गम्भीर अनुपस्थित थिए। मुम्बई इन्डियन्सको खेल भएकाले रोहितको अनुपस्थिति सामान्य ठानिएको थियो। तर सबैलाई चकित पार्दै रोहितले त्यसको अर्को दिन टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे।
बुधबार बेलुकी रोहितले बीसीसीआईका उच्च पदस्थ अधिकारीहरूलाई इमेल पठाएका थिए। त्यसै समयमा उनले सामाजिक सञ्जालमार्फत पनि सन्यासको जानकारी सार्वजनिक गरे। यस निर्णयबाट टेस्ट क्रिकेटका लागि उनको भविष्यको अनिश्चितता समाप्त भएपनि अचानक आएको यस्तो निर्णयपछाडिका कारणबारे प्रश्नहरू पनि उठाेका छन्।
सेलेक्टरहरूले मंगलबार इंग्ल्यान्ड सिरिजबारे छलफल गरेका थिए भन्ने कुराले चर्चा पाइरहे पनि तर कप्तानीबारे कुरा भएको थियो कि थिएन भन्ने खुलेको छैन। रोहितबारे निर्णय टेस्ट टोली घोषणा हुनुभन्दा एक हप्ता अघिसम्म लिइने अनुमान थियो जुनबेला आईपीएलको प्लेअफ चलिरहेको हुन्छ ।
क्रिकबजले यसअघि उल्लेख गरेअनुसार रोहितले आफ्नो टेस्ट भविष्य आईपीएलको प्रदर्शनका आधारमा निर्णय गर्ने बताएका थिए। उनले केही राम्रो इनिङ्स खेलेतापनि ११ खेलमा ३०० रन मात्रै बनाएर औसत ३० रहेको थियो, जुन धेरै प्रभावशाली मानिँदैन।
यो निर्णय उनको व्यक्तिगत हो वा बाह्य दबाबका कारण हो भन्ने कुरा स्पष्ट छैन। केही समयअघि रोहितसँग निकट मानिने सपोर्ट स्टाफ सदस्यहरूको करार नबढाउने निर्णय लिइएको थियो जसपछि रोहितले तीमध्ये एकलाई खुलेर प्रशंसा गरेका थिए।
यद्यपी रोहितले एकदिवसीय खेलिरहने र त्यसमा कप्तानी गर्ने स्पष्ट पारेका छन्। उनी आफ्नो मित्र अभिषेक नायरसँग मिलेर ब्याटिङ र फिटनेसमा काम गरिरहने छन् र सन् २०२७ को विश्वकपसम्म खेल्ने अपेक्षा गरिएको छ।
गिल सम्भावित नयाँ टेस्ट कप्तान
रोहितको सन्यास घोषणापछि टेस्ट कप्तानका रूपमा शुभमन गिलको नाम अगाडि आएको छ। उनले आईपीएलमा गुजरात टाइटन्सको राम्रो नेतृत्व गरिरहेका छन् र यसले चयनकर्ताको ध्यान खिच्न सक्छ।
गुजरातका सहायक प्रशिक्षक पार्थिव पटेलले गिलको नेतृत्वको प्रशंसा गर्दै भनेका छन्, ‘उनी ड्रेसिङ रूममा सकारात्मक ऊर्जा ल्याउँछन्। युवा खेलाडीहरूसँग समय बिताउँछन् र ज्ञान बाँडिरहेका छन्। मैदानमा पनि सक्रिय छन् र राम्रो निर्णय लिन्छन्। कप्तानको रूपमा उनी निकै प्रभावशाली देखिएका छन्।’
-क्रिकबजबाट
प्रतिक्रिया 4