+
+

गोलघरभित्र के गर्दैछन् गोरे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १८:५९

३ भदौ, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ अहिले केन्द्रीय कारागारको गोलघरमा छन् ।

जेलबाट भाग्न सक्ने, झगडा गर्न सक्ने विश्लेषण गरिएका पेशेवर अपराधीहरुलाई गोलघरमा राखिन्छ । गोलघरमा राखिने व्यक्तिले बाहिरका कैदीबन्दीलाई पनि भेट्न नपाउने केन्द्रीय कारागारका जेलर डोलेन्द्र निरौला बताउँछन् ।

गोरे, सुन तस्करीका नाइके मानिन्छन् । युएईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरेकै समूहले यातना दिएर तीनजनाको ज्यान लिएको थियो । सुन तस्करी र हत्याको यो घटनाबारे अनुसन्धान गर्न गठित विशेष छानविन समितिले गोरेलाई ८ जेठ २०७५ मा काठमाडौंको गौरिघाटबाट पक्राउ गरेको थियो ।

उनीबाट अन्य कैदीबन्दीलाई पनि खतरा हुनसक्ने भन्दै कारागार प्रशासनले गोलघरमा राखेको थियो ।

कारागार प्रशासन स्रोतका अनुसार अहिले केन्द्रीय कारागारको गोलघरमा गोरेसँगै अरु सात जना छन् । गोलघरका ब्लकभित्र गोरेबाहेक कुख्यात सिरियल किलर चाल्र्स शोभराज, बाबरी भनिने साउदी अरबियन बालयौन दुराचारीसहितका व्यक्तिहरु छन् ।

कारागार स्रोतका अनुसार दिउँसो बाहिर निस्किएका बेला गोरेको उनीहरुसँग भेट हुन्छ । गोरेले शोभराजसँग बाघचाल र चेस खेलेर समय बिताउँछन् ।गोलघर नजिकै पुस्तकालय पनि छ । उनीहरु त्यहीँ विभिन्न पुस्तकहरु पनि साटफेर गरेर पढ्छन् ।

कारागार सुरक्षामा खटिएका एक अधिकृतका अनुसार बेलाबेला गोरेले अस्वभाविक हर्क देखाइराख्छन् । ‘बाहिर एक किसिमले राम्रो प्रभाव जमाइरहेका व्यक्ति गोलघरमा थुनिँदा यस्तो हुनु स्वभाविक पनि होला,’ ती अधिकृत भन्छन्, ‘तर उनी एकदम निराश देखिन्छन् ।’

उनलाई भेट्न बेलाबेला पूर्वप्रहरी समेत रहेका बुबा पनि केन्द्रीय कारागार गइराख्छन् । तर उनी बुबासँग पनि राम्रोसँग बोल्दैनन् । ‘उनको स्वभाव विल्कुलै फेरिएको छ’ एक अधिकृत भन्छन् । एकपटक बुबालाई भेट्दा उनले ‘छुटाउन आएको हो भने भेट, नत्र नआइज’ भन्दै झर्किँदै बोलेको सुरक्षार्थ खटिएकाहरु बताउँछन् ।

२०६० सालयता जेलमा रहेका शोभराज चाहिँ आफू दुई/तीन हप्तामै छुट्ने बताउँदै आएका छन् । केही अघि उनले आफू छुट्न लागेको भन्दै दुई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अन्तरवार्ता नै दिएका थिए । त्यसपछि कारागार प्रशासनले छानविनका लागि समिति नै बनाएको थियो ।

शोभराज कहिले कारागारभित्रै विवाह गरेका कारण त कहिले कारागारभित्रै मोबाइल चलाएका कारण चर्चामा आइराख्छन् । उनी विश्वका विभिन्न जेल ‘ब्रेक’ गरेर भागेको इतिहास छ । त्यसैले उनलाई विशेष निगरानीमा राखिएको छ ।

मोरङका गोरे चाहिँ ९ माघ २०७४ मा नेपाल भित्रिएको ३३ किलो तस्करीको सुन हराएपछि खोज्नलाई परिचालित थिए । लगानीकर्ताको साढे ३३ केजी सुन बराबरको रकम तिर्नु पर्ने कि सुन लुट्ने समूह पत्ता लगाउनु पर्ने दबावबीच उनले भरियाहरुलाई यातना दिएका थिए ।

त्यसक्रममा करेन्ट लगाएर मोरङमा आर्थिक कारोबारका व्यवस्थापक एवं भरिया सनम शाक्यको हत्या भएको थियो । उनले शव व्यवस्थापन गरिदिन तत्कालीन महागरीय अपराध महाशाखाका प्रहरी समक्ष प्रस्ताव राखेका थिए ।

महाशाखाका अधिकारी गोरेलाई पक्राउ पर्ने दाबीसहित ‘कोभर्ट अपरेशन’का लागि धरान पुगेका थिए । तर प्रहरी त्यहाँ पुग्दासम्म गोरे भागिसकेका थिए । उनी कोलकाता, नयाँ दिल्ली लगायतका ठाउँमा लुकेर बसेका थिए । तर जुनसुकै बेला मारिन सक्ने डरले उनी फर्किएर नेपाल आएका थिए र ‘आत्मसमर्पण’ गरेका थिए ।

गोल्ड डनको रुपमा चिनिने गोरेको नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस पनि जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?