+
+

साढे ३३ किलो सुनका मालिक, जो गुपचुप छुटे

गौरव पोखरेल गौरव पोखरेल
२०७८ मंसिर २९ गते ३:११

२८ मंसिर, काठमाडौं । तीन जनाको ज्यान गएको चर्चित सुन तस्करी प्रकरणमा ‘गायब’ भएको भनिएको साढे ३३ किलो सुनका मालिक को थिए ? धेरैलाई लाग्न सक्छ, सुन चुडामणि उप्रेती ‘गोरे’ को हो ।

तर गोरे त सुन तस्करीको र्‍याकेटका एक मोहोरा मात्र थिए, जसको काम यूएईबाट हङकङ हुँदै नेपालसम्म सुन भित्र्याउनु मात्र थियो । जुन सुन स्थलमार्ग हुँदै भारतसम्म पुर्‍याइन्थ्यो ।

प्रहरीले पक्राउ गरेका तस्कर समूहका व्यक्तिहरुको बयानले हराएको भनिएको साढे ३३ किलो सुनका खास मालिक धरानका मोहनकुमार अग्रवाल भएको देखिन्छ ।

गोरेका लगानीकर्तामध्ये एक राप्रपा नेता भुजुङ गुरुङले सरकारी छानविन समितिसमक्ष बयान दिँदै ९ माघमा यूएईबाट आएको साढे ३३ किलो सुनको लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल भएको खुलाएका छन् । उनले त्यस सुनबापत आफूले पनि कमिसन प्राप्त गर्ने खुलाएका छन् ।

‘सुन बैंककबाट थाई एयरलाइन्स हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंसम्म ल्याएपछि सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामाले जिम्मा लिएका थिए’ उनले बयानमा भनेका थिए, ‘उनीहरुले गोरेले सञ्चालन गरेको अफिसमा लैजाने क्रममा अनामनगरबाट सुन लुटिएको कुरा आएको थियो ।’

सुन हराएपछि अग्रवालले खोजतलासका लागि निरन्तर दबाब दिएको पनि उनले खुलाएका थिए । ‘मालिक एमकेले सुन पत्ता लगाउनै पर्ने दबाब दिएसँगै मैले र सालो डेबिटर भनिने छिरिङ वाङ्गेल घलेले गोरेलाई हराएको सुन जसरी पनि पत्ता लगाउन दबाब दिएका थियौं’ गुरुङले भनेका छन् ।

भुजुङ गुरूङ र चुडामणि उप्रेती गोरे ।

सुन तस्करीबारे छानबिन शुरु भएलगत्तै फरार भएका उनै अग्रवाल धेरैको ध्यान सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनतिर रहेका बेला सोमबार सुटुक्क जिल्ला अदालत, मोरङमा हाजिर मात्र भएका छैनन् । तीन लाख रुपैयाँ धरौटी बुझाएर सुटुक्क छुटिसकेका छन् ।

अदालतले छाडेसँगै लामो समयदेखि भारतको विभिन्न शहरमा लुकेर बस्दै आएका अग्रवाल अब प्रहरीको खोजी सूचीबाट बाहिर पुगेका छन् । सुनकाण्डको छानबिन गर्न सरकारले बनाएको उच्च स्तरीय समितिका एक अधिकृत भन्छन्, ‘बाहिर बसेर पनि उनले मुद्दामा चलखेल गरिरहेका थिए, महाधिवेशनका बेला खासै चर्चा नहुने हुँदा उनी यसैलाई मौका बनाएर गुपचुप हाजिर भएर सहजै छुटे ।’

अधिकृतहरुका भनाइमा उनलाई पहिल्यै पक्राउ गर्न सकेको भए सुन तस्करी प्रकरणका थप तथ्यहरु पत्ता लाग्न सक्थे । ‘तर अब उनी छुटिसकेकाले त्यो सम्भवना कम भइसकेको छ’ एक अधिकृत भन्छन् ।

गोरेसँग निरन्तर संवाद

स्रोतका अनुसार साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका समूहका हरेक सदस्यको अधिकांश गतिविधि गोरेको मोबाइलमा कैद थियो । स्रोतका अनुसार गोरे भारतमै रहेका बेला सुन हराएको थाहा पाएपछि अग्रवालसँग उनको सम्पर्क भएको थियो, त्यतिवेला उनले गोरेमाथि नै शंका गरेका थिए ।

‘उसले गोरेमाथि नै शंका गर्दै पैसा माग्न थालेपछि गोरेले खोजी गरिरहेको देखाउन आफूले गर्ने हरेक गतिविधिको भिडियो बनाउँथे’ छानबिनमा संलग्न एक अधिकृत भन्छन्, ‘मोरङमा भरिया सनम शाक्यलाई यातना दिएको भिडियो पनि उनले त्यही क्रममा खिचेका थिए ।’ शाक्यलाई ‘सुन कहाँ छ भन्’ भन्दै यातना दिएको भिडियो प्रहरीले अदालतमा पनि बुझाएको छ ।

स्रोतका अनुसार गोरेको मोबाइलमा केही यस्ता भिडियो पनि बरामद भएका थिए, जसमा उनले ‘एमके मामा’लाई भन् भन्दै भिडियो सन्देश खिचेका छन् । स्रोतका अनुसार कहिले ह्वाट्स एप त कहिले भाइबरमार्फत उनले ती भिडियो अग्रवाललाई पठाएका थिए । ‘च्याटका स्क्रिनसट र भिडियोहरु सबै जम्मा गरेर प्रमाणका रुपमा बुझाएका थियौं’ अनुसन्धान समिति स्रोत भन्छ ।

अनुसन्धान शुरु भएपछि परिवारै भारततिर

छानविन समिति स्रोतका अनुसार २०६९ सालबाट गोरेसहितको समूहले संगठित रुपमा सुन तस्करी गर्ने योजना बनाएको थियो ।

सरकारी छानविन समितिले उनीमाथि सम्पत्ति शुद्धिकरण विभागमार्फत पनि अनुसन्धान गर्न सिफारिस गरेको थियो । तर अनुसन्धान कहाँ पुग्यो ? विभागका अधिकारीहरुलाई नै थाहा छैन ।

‘भुजुङ, गोरे, उनका सालो डेबिटर, एमके अग्रवाल लगायतका मानिस भेटेर योजनाबद्ध रुपमा सुन तस्करी गर्ने योजना बनेको देखिन्छ’ छानविन समिति स्रोत भन्छ, ‘पछि यसमा लगानीकर्ताका रुपमा पवन अग्रवाल, दरबारमार्गको आरके डायमण्डका सञ्चालक राजेन्द्र शाक्य लगायत पनि जोडिएका थिए ।’ विस्तारै लगानीकर्ताको समूह पनि बढेको थियो ।

छानबिन समिति स्रोतका अनुसार अग्रवाल सुनसरी, धरानका हुन् । उनका आफन्त भारतमा पनि छन् र उनले पनि त्यहाँको आधार कार्ड बनाइसकेका छन् । त्यही कारण भारतका विभिन्न शहरमा उनी त्यहीँको नागरिक भएको परिचय दिएर लुकिछिपी बस्दै आएका थिए । भारतीय प्रहरीले पनि त्यहाँको नागरिक भनेपछि नेपाल पठाउन त्यति रुची देखाएन ।

सरकारले सुन तस्करी प्रकरणबारे छानविन गर्न बनाएको उच्चस्तरीय समितिले एउटा टोलीलाई उनको खोजीका लागि भारतसमेत पठाएको थियो । तर प्रहरीको अपराधी खोज्ने शैलीबारे जानकार अग्रवालले आफूलाई कहिल्यै ‘एक्सपोज’ हुन दिएनन् ।

मुटुका रोगी उनी कहाँ बस्छन् ? कहाँ उपचार गर्छन् ? भन्ने प्रहरीले ठ्याक्कै सूचना पाउन सकेन । त्यसो त प्रहरीले उनको परिवारसम्म सम्पर्क नपुर्‍याएको पनि होइन ।

स्रोतका अनुसार मोरङमा १९ फागुन २०७५ मा सनम शाक्यको शव भेटिएलगत्तै परिवारसहित भारत भागेका उनकी श्रीमतीसँग प्रहरीले सम्पर्क स्थापित गरेको थियो । तर त्यो सम्पर्क लामो समयसम्म टिकिरहन सकेन । स्रोत भन्छ, ‘विना कसूर उनलाई समात्न सक्ने अवस्था पनि थिएन, पछि उनी आफैं गायब भइन् ।’

नेपाल प्रहरीले भेट्टाउन नसकेपछि अग्रवालविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा पनि रेड नोटिस जारी भयो । इन्टरपोलमा नोटिस जारी भएपछि विश्वभरका प्रहरीले सम्बन्धित नामका व्यक्तिबारे निगरानी राख्छ ।

तर अग्रवाललाई इन्टरपोलले पनि छुन सकेन । उनी गुपचुप ‘आफ्नो अनुकुल’ समयमा नेपाल आए र फेरि भारततिरै लागिसकेका छन् ।

सिंहदरबार पछाडिको यो घर

सिंहदरबार पछाडि अग्रवालको आलिसान घर छ, जुन तीन वर्षदेखि बन्द थियो । अहिले ताला फुटेको छ तर, अझै चहलपहल देखिँदैन । यो त्यही घर हो, जहाँ लामो समयसम्म रेकी गरेर २५ जेठ २०७५ मा उच्चस्तरीय सरकारी छानविन समितिले छापा हानेको थियो ।

सिंहदरबार नजिकै कालिकास्थानमा रहेको मोहनकुमार अग्रवालको घर । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

घरमा बस्ने कामदारले उल्टै अनुसन्धान अधिकृतमाथि नजर राखेका थिए र हरेक कुराको रिपोर्टिङ अग्रवालसम्म पुर्‍याएका थिए । ‘हाम्रो प्राथमिकता घरमा अग्रवाल वा अरु कोही आएपछि प्रवेश गरे पक्राउ पर्ने भन्ने थियो, त्यही भएर लामो समय रेकी गरेका थियौं’ अनुसन्धानमा संलग्न एक उच्च अधिकृत भन्छन्, ‘तर लगभग घरमा अरु कोही पनि नआउने निश्चित भएपछि ताला फोडेर प्रवेश गरेका थियौं ।’

त्यसक्रममा समितिले ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन मात्रै बरामद गर्‍यो । घरमा भएका अन्य सुन अग्रवाल पत्नी निलमले लिएर कतै लुकेर बसेको हुन सक्ने आशंकामा प्रहरीले छानविन अघि बढायो ।

लुकाएको सुन त भेटिएन तर घरमा प्रवेश गरेको प्रहरीले तस्करीको र्‍याकेटबारे अर्को महत्वपूर्ण सूचना चाहिँ हात पार्‍यो ।

अधिकृतहरुका अनुसार अग्रवालको यही घरमा तस्करी गरेर ल्याएको सुन संकलन गरिँदो रहेछ । ‘घरभित्र सुन राख्न तयार गरिएका खाली डिब्बा र सुन बोक्ने गरी मिलाएर राखिएको ज्याकेट बरामद भएको थियो’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘घरमा बरामद भएको बा १० च २८२ नम्बरको गाडीमा पनि फल्स बटमहरु बरामद भएको थियो ।’ त्यहीँ सुन जोख्ने उपकरण र पैसा गन्ने मेसिन पनि बरामद भएको थियो ।

स्रोतका अनुसार सुन भण्डारणका लागि अनामनगरमा गोरेले पनि कार्यालय नै खोलेका थिए । तर अग्रवालको सुन आउँदा सिधै उनको घरमा पनि लैजाने व्यवस्था गरिएको थियो ।

सरकारी छानविन समितिले उनीमाथि सम्पत्ति शुद्धिकरण विभागमार्फत पनि अनुसन्धान गर्न सिफारिस गरेको थियो । तर अनुसन्धान कहाँ पुग्यो ? विभागका अधिकारीहरुलाई नै थाहा छैन ।

गोरेसहितको समूहले १८ फागुन २०७४ मा भरिया सनम शाक्यको उर्लाबारी–१, मोरङमा करेन्ट लगाएर हत्या गरेको थियो । हत्यापछि शुरु भएको अनुसन्धानले सुन तस्करीको ठूलो र्‍याकेटसम्म डोर्‍याएपछि सरकारले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्च स्तरीय छानविन समिति बनाएको थियो ।

समितिले गरेको अनुसन्धानका क्रममा एउटै समूहले चार वर्षको अवधिमा नेपालमा झण्डै ३८ क्वीन्टल सुन भित्र्याएको खुलेको थियो । यसमा विमानस्थलका कर्मचारी, प्रहरीदेखि व्यवसायीसम्मको मिलेमतो देखिएको थियो ।

तर जिल्ला अदालत, मोरङले ‘सुन बरामद नभएको’ भन्दै ५६ जनालाई सफाइ दिइसकेको छ । गोरेसहित सनम शाक्यको हत्यामा संलग्नलाई चाहिँ जन्मकैदको सजाय फैसला भएको छ । फैसलाको पूर्णपाठ भने आइसकेको छैन । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले चाहिँ फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिने तयारी गरिरहेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?