+
+

काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

रासस रासस
२०७९ भदौ ४ गते १९:१९

४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । मेयर साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ ।

उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ । उनीहरुलाई कुहिने फोहोरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए ।

स्थानीय वासिन्दा सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहोर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको महानगरपालिकाले जनाएको छ । तीन महिनापछि हानिकारक फोहोर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको महानगरको दाबी छ ।

दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहोर व्यवस्थापन हुन थालेको छ ।

पटक पटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहोरको डङ्गुर थुप्रने गरेको छ । यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहोर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ ।

साबिक बमोजिम फोहोर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने कामपाको योजना छ । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?