+
+

बुटवल उपमहानगरमा कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १५:०६

५ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका वैठकले कर्मचारीहरुले लिंदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिंदै आएका थिए । नगरको खर्चमा मितव्ययी हुन निर्णय गरिएको मेयर पाण्डेयले बताए ।

बैठकले २ अर्ब लागतमा बुटवल–१५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार सम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।

स्वीकृत तालिका अनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट तयार गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरुको सुपरीवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले बताए ।

नगर क्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्य सञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोक सेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?