+
+

तिब्बतमा लम्बियो लकडाउन, नेपाल हिंडेका कन्टेनरबारे समन्वय सुरु

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ ५ गते १९:१३
नेपाल आउँदै गर्दा तिब्बत क्षेत्रमा रोकिएका कन्टेनर ।

५ भदौ, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा थप तीन दिन लकडाउन लम्बिएको छ । आइतबार एक सूचना जारी गर्दै तिब्बत प्रशासनले आगामी बुधबार (२४ अगष्ट) सम्मका लागि लकडाउन थप गरेको हो ।

लकडाउन थप भएसँगै त्यहाँ रहेका मानिसहरुमा कोभिड–१९ परीक्षण र उनीहरुलाई आइसोलेसनमा राख्ने कार्य तीब्र पारिएको छ ।

तिब्बत क्षेत्रबाट नेपाली व्यवसायीलाई प्राप्त सूचनाअनुसार तिब्बतका सिगात्से, केरुङ र न्यालम जिल्लामा संक्रमण फैलिएको छ । जसका कारण तिब्बत क्षेत्रमा थप कडा लकडाउन गरिएको छ । ती क्षेत्र भएर नेपालका लागि मालवस्तु बोकेका ट्रक तथा कन्टेनरहरु आउने गर्दछन् ।

अहिले तिब्बतलाई अन्य क्षेत्रबाट विच्छेद गराएर आम मानिसमा कोभिड–१९ परीक्षण, आइसोलेसन र उपचार जारी राखेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली लगायतका अन्य कसैलाई पनि तिब्बत नआउन त्यहाँको प्रशासनले सूचना जारी गरेको एक व्यापारीले बताए ।

नेपालका लागि माल वस्तु लिएर गुडेका ट्रक तथा कन्टेनरहरुको संख्या, माल वस्तु र तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे यकिन गर्न ट्रान्स्पोर्टर र आयातकर्तासँग प्रशासनले जानकारी माग गरेको र तत्काल ती ट्रक गन्तव्यतर्फ गुड्ने सम्भावान निकै कम रहेको सूचना अनौपचारिक रुपमा दिइएको व्यापारीहरुले बताएका छन् ।

तिब्बतका सार्वजनिक स्थान, सडक र कुनै पनि क्षेत्रमा मानिसहरु हिंड्न र अन्य गतिविधि गर्न पनि रोक लगाइएको छ । तिब्बत सरकारले कोरोना महामारी बढेको भन्दै २१ साउन (६ अगष्ट) देखि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिरहेको छ । कोरोनाकै कारण चीनले नेपालतर्फका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी २१ साउनदेखि र तातोपानी नाका २५ साउनदेखि सिल गरेको थियो ।

नाका सिल भएका कारण दशैं–तिहार लक्षित व्यापारका लागि नेपाली व्यापारिले आयात गरेका लत्ता कपडा र स्याउ बोकेका कन्टेनर सिगात्सेमा फसेका छन् । बाटोमा रोकिएका झण्डै एक सय कन्टेनरमा एक अर्ब बढीको मालवस्तु भएको व्यवसायीहरुले बताएका छन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?