+
+

संसदमा प्रदीप गिरिको पहिलो भाषण

यो भाषण गिरिले पहिलोपटक सांसदका रुपमा प्रतिनिधिमामा शनिवार, २ पुस २०५१ मा बोलेका हुन् । उनले यसमा विभिन्न नेताहरुबारे आफ्नो प्रभाव कस्तो परेको छ भन्नेबारे रोचक शैलीमा प्रकट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १८:३२

६ भदौ, काठमाडौं । शनिबार निधन भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरि २०५१ सालमा भएको मध्यावधि चुनावबाट पहिलो पटक सांसद निर्वाचित भएका थिए । २ पुस २०५१ मा उनले संसदमा पहिलो पटक सम्बोधन गरे । त्यस क्रममा उनले विभिन्न नेताहरुबारे आफ्नो प्रभाव कस्तो परेको छ भन्नेबारे रोचक शैलीमा प्रकट गरेका छन् ।

यस्तो थियो प्रतिनिधि सभामा प्रदीप गिरिले गरेको पहिलो भाषण : 

माननीय सभामुख महोदय, करीब–करीब म अन्तिम वक्ता हुँला जस्तो लाग्दछ । धेरै बेरदेखि हामी सुनिरहेका छौं– एउटा कठिन विषयमा कमरेड सीपी मैनाली र रामचन्द्रजी (पौडेल) को तुलनात्मक कुरा गर्नुपर्ने साह्रै धर्मसंकटको कुरो । तर पनि एक-दुइटा रमाइलो कुरा लाग्यो मलाई । यो संसदीय व्यवस्थामा बहसबाट हटेको कुरा हो । साथीहरूले ‘मिस’ गरे जस्तो लाग्यो ।

साथीहरूले उठाउनुभयो अब यतिबेला आएर म प्रधानमन्त्रीलाई भन्छु, क्याबिनेट गठन गर्न कति गाह्रो छ, एकचोटी अनुभव भइसक्यो । कमरेड माधव नेपाललाई याद भै सक्यो पोर्टफोलियो बाँड्न कति गाहो छ । अब उहाँलाई दिइसकेको पोर्टफोलियो, दिइसकेको गाडी हाम्रो साथीले अर्को पाउनु हुन्छ ।

यत्रो सैद्धान्तिक कुरा किन गर्ने ? सरक्क उहाँलाई छोडिदिनुहोस् भन्न म उभिएको । यो जुन थियोरेटिकल कुराहरू लम्बा लम्बा भैराको छ– यो त सुर हो, यो त वर्षभरि हामी गरिराख्छौं, गर्नै पर्छ र जुन आवेश इत्यादि भो बढ्ता बोले, कम बोले भन्ने साथीहरू भन्दै हुनुहुन्छ, त्यो त केही बढ्ता हुँदै होइन । अत्यन्त नै सभ्य कहलिएको तथाकथित संसदहरुमा यो भन्दा पनि हानथाप भैराख्छ, हानथाप हामी गर्ने नै छौं ।

स्पिकरमा दुई जनाको योग्यताको कुरामा मलाई लाग्दछ, सबभन्दा महत्वपूर्ण कुरो यही हो उहाँ (रामचन्द्र पौडेल) स्थानीय विकास नै ३ वर्ष खाएर आउनु भएको, तपाईं (सीपी) ले बल्ल स्थानीय विकास पाउनुभएको छ । त्यो ठाउँमा तपाईं नै रहनुस् तीन वर्ष ।

यहाँ षड्यन्त्रको कुरा उठ्यो । षड्यन्त्र शब्दबाटै हाम्रा नेता शेरबहादुरजी पनि रिसाउनुभयो । हुनत उहाँले एकदम संसदीय भाषामा भन्नु भएको छ । राम्ररी आफ्नो कुरा राख्नुभएको छ, । कुनै गलत राख्नुभएको छैन । बल्कि रियालिटिमा आउने भाषा चाहिँ असंसदीय हो । तर मैले नै पनि तपाईंहरूले गलत अर्थ नलिने हो बरु हाम्रो सीपी साहेबलाई पो षड्यन्त्रले हटाउन आँटेको जस्तो लाग्यो मलाई त गलत अर्थ नलिने हो भने ।

त्यसैले सी.पी. कमरेड मन्त्री नै हुनुपर्दछ, सभामुख रामचन्द्र हुनुपर्छ भन्ने बारेमा दुई वटा जुन जोडदार तर्क दिइएको छ पूर्णबहादुर खड्काजीले र हाम्रो रामशरण महतजीले, त्यो मान्दछु म । वास्तवमा सभामुख बेलाबखतमा कुटाई खाने मान्छे पनि हुनुपर्दछ । कुटाई खाएर उहाँले सहिष्णुता ख्याल गरी वर्तमान हाउसमा देखाइसक्नु भएको छ । सी.पी. ले कुटाइ खानुहोला जस्तो लाग्दैन मलाई कुट्नु नै होला जस्तो लाग्छ उहाँले त ।

यसो हुनाले योग्यताको जहाँसम्म सवाल छ, यो योग्यता भन्ने बडो सापेक्ष कुरा हो । कस्तो सापेक्ष कुरा हो भने अमेरिकामा एम्बेस्डर पठाउने मान्छेको बेग्लै योग्यता हुनुपर्छ । त्यो जिम्मेवारी पाउने मानिसको बैग्लै योग्यता हुनुपर्दछ । तिनमा पठाउने मानिसको बेग्लै योग्यता हुनुपर्छ, आर्मीमा जाने मानिसको बेग्लै योग्यता हुनुपर्छ । भूमिगत काम गर्न पठाउने हो भने कसैलाई तपाईंहरुलाई भूमिगतको ज्यादा अनुभव छ ।

भूमिगत काम गर्न पठाउनुभयो भने अब तपाईंले त्यो यहाँ हाम्रो प्रदीप नेपाल पनि हुनुहुन्छ उहाँले सञ्जय थापाको नामले उपन्यास लेख्नुभएको थियो, त्यो विहान शौचादि गर्दाखेरि एउटा बाहुन कार्य गर्न एउटा फेला पर्‍यो आठराईमा भन्ने लेख्नु भएको छ । त्यहाँ शौच इत्यादि नधुने मान्छे चाहियो भूमिगत त्यस्तो हुन्छ । भन्न मैले के खोजेको भने – कुन कामको योग्यता सभामुखको जहाँसम्म योग्यता छ सभामुखको योग्यता रामचन्द्रजीमा छ । रामचन्द्रजी चन्द्रजी पूर्ण कदको भन्छन्, पूर्ण चन्द्रमाको शीलल हुनुहुन्छ भने सी.पी. मैनालीजीको व्यक्तित्व एकदम मध्याह्नको प्रखर सूर्य जस्तो छ ।

सभामुखमा अलिकति सबैतिर फिट हुने मानिस चाहिन्छ । सी.पी. भनेको कस्तो अडिग भने अगाडि रेलवे आएपनि हाम्रो गणेशमानजी जस्तै रेल अगाडि आयो भने म हट्ने कि रेल हट्ने भन्ने खालको उहाँको व्यक्तित्व छ । त्यो तपाईंहरुले महसुस गर्नुभएको छ सबैले । मैले त तपाईंको आदर गरेर कमरेडको कुरा गर्दछु नि सारा, फेरि यसले त खसालेर भन्यो नभन्नु होला । यस्तो दृढ व्यक्तित्व, अडान लिने, पार्टी भित्रपनि अडान लिएको छ, बाहिर पनि अडान लिएको छ, सभामुखमा पनि अडान लिएको छ, जता पनि अडान लिएको छ ।

रामचन्द्रजी अडान नै नलिने, सभामुख चाहिएको छ तर अडान नलिने मान्छे, सबैलाई मिलाएर राख्ने, त्यसो हुनाले यो पनि रामचन्द्रजीको पक्ष गयो भने यो कुरा पनि हेर्नुहोस अब । त्यसो हुनाले मेरो भनाइ – करीब करीब सबैको भावना पनि थाहा भइसक्यो हामीलाई राजेन्द्र बाबुले बोलिसक्नु भयो, रोहित ज्यूको पनि आत्मामा त यतै रहेछ, सल्लाह नगरेर मात्रै हो भन्नुभयो, अरु एक घण्टा टाइम भएको भए जरुरी मिलाउँथ्यौ हामी । त्यसो हुनाले मेरो भनाइ – किन लटपट गर्ने ? यहाँ जुरुक्क उठेर तपाईंहरू त्यहाँनिर सल्लाह गरेर सी.पी. ले फिर्ता लिनु भो भनेको खण्डमा तालीका ताली ।

त्यसो हुनाले मेरो भनाइ – विगत ३ बर्षको रामचन्द्रजीले स्थानीय विकासमा घोटालै गरेको छ कि त्यो पनि हेर्नुपर्‍यो । मन्त्रीजीले राम्ररी, त्यहीँ बसेर हेर्नुपर्‍यो । अब कहाँ क्याविनेट पुनर्गठन गर्ने, यो गर्ने कसलाई दिने त्यो पनि झण्झटै छ तपाईंहरुको पार्टीमा थाहै छ, त्यो पनि नहुने । त्यसैले सी.पी. यथावतै बस्नुहुन्छ, रामचन्द्रजीलाई अब नयाँ पद दिउँ ।

अब अन्तिम कुरा अघि डा. महतले भन्नुभएको थियो, यो संसदको नियम कानून पनि रामचन्द्रजीलाई थाहा छ भनेर, त्यो पनि ठीक कुरा भन्नुभयो। अब विद्वताको कुरामा आदि हाम्रो नेता संसदीय दलको नेता शेरबहादुरजीले माओत्सेतुङको कुरा गर्दाखेरिमा एउटा साथीले उदारतापूर्वक मैले माओवाद छोडिदिए भन्नुभएको थियो, हामी त्यो गठन गर्न आएको होइन यहाँ, हाम्रो विचारधारा यो र त्यो भन्नुभयो।

एउटा कमरेडले यतापट्टि त के भन्नुभयो – होइन हामी भन्छौँ भन्छौँ । भन्न पाउनु हुन्छ, एकदम माओविचारधारा भन्न पाइन्छ तर माओ विचारधाराको बारेमा विभिन्न मत तपाईंहरूको भए जस्तै हाम्रो नेताको पनि आफ्नै छ त्यसो हुनाले त्यसमा पनि चित्त दुखाउन पाउनुहुन्न तपाईंहरुले । यति भन्दै बिदा हुन्छु, धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?