+
+

घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

रमेश शाह रमेश शाह
२०७९ भदौ ७ गते १२:५७

घरको भित्तामा थरीथरीका रंगरोगन गर्ने, पेन्टिङ राख्ने प्रचलन नयाँ होइन । घरलाई चिरिच्याट्ट बनाउन यस्ता अनेक विधि अपनाउने गरिएको छ । यसैको सिलसिला हो, वालपेपर पनि ।

भित्तामा रंगरोगन लगाउन साटो वालपेपर टाँस्ने क्रम बढ्दो छ । यद्यपि कस्तो घर वा कोठामा कुन डिजाइनको वालपेपर राख्ने, कसरी टाँस्ने, यसलाई टाँसेपछि कति वर्षसम्म टिक्छ, वालपेपर उप्काउनु परेमा भित्ताको रंग बिग्रिन्छ वा बिग्रिंदैन ? उपभोक्तामा थुप्रै जिज्ञासा हुनसक्छ ।

वालपेपरको डिजाइन

वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु नै हो । बैठक कोठा र शयन कक्षको भित्तालाई आकर्षक बनाउन विभिन्न फूल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपर पनि बजारमा छनोट गर्न सकिन्छ ।

कति पर्छ मूल्य ?

५६ स्क्वायर फिटको रोलमा यो उपलब्ध हुन्छ । एक रोल वालपेपरको १६ सयदेखि १२ हजार ५०० रुपैयाँसम्म पर्छ । क्वालिटी र डिजाइन अनुसार यसको मूल्य फरक–फरक पर्न सक्छ ।

वालपेपर राख्दाको खास काइदा

वालपेपर राख्दा सबै भित्तामा धेरै बुट्टे र भद्दा खालको राख्नु हुँदैन । कोठामा पहिले नै कलर गरेको छ पछि वाल पेपर टाँस्न मन लाग्यो भने झ्याल नभएको भित्तामा टाँस्नुपर्छ । वाल पेपर टाँस्दा भित्ता राम्ररी छोपिने गरी टाँस्नुपर्छ ।

रंगको विकल्प बन्न सक्छ ? 

रंगको विकल्पको रूपमा पनि मज्जाले वालपेपरको प्रयोग गर्न सकिन्छ । वालपेपर सादा र विभिन्न फूल तथा प्राकृतिक दृश्यहरू भएका डिजाइनमा उपलब्ध हुन्छन् । झ्याल भएको भित्तामा बुट्टा नभएको सादा वाल पेपर प्रयोग गर्ने र अन्य भित्तामा बुट्टे वालपेपरको प्रयोग गर्नुपर्छ ।

कसरी टाँस्ने ?

फेबिकल तथा अन्य गमको प्रयोग गरेर वालपेपर टाँसिन्छ । धेरै चिसो पानी रसाउने वाल छ भने वालपेपर छिटो उक्किने हुन सक्छ । त्यसैले चिसो पानी रसाउने वालमा टाँस्नु उपयुक्त हुँदैन । सदाबहार र घरको परिवार सबैलाई मनपर्ने खालको बुट्टा छनोट गर्नुपर्छ । वालपेपर टाँस्ने गम पनि उच्च गुणस्तरको हुनुपर्छ र दक्ष व्यक्तिलाई मात्र वालपेपर टाँस्ने जिम्मा दिनुपर्छ ।

कस्तो भित्तामा वालपेपर उचित ?

वालपेपर टाँस्ने वाल एकदमै चिल्लो हुनुपर्छ । त्यसको लागि पुटिङ गरिएको हुनुपर्छ । यदि पुटिङ गरेको छैन भने एकसरो प्राइमर वा रंग लगाएको भने हुनैपर्छ । यसो भयो भने वालपेपर सजिलै टाँस्न सकिन्छ । भित्ता चिल्लो भएन पनि वाल पेपर राम्ररी नटाँसिन सक्छ ।

वालपेपर पुरानो भएपछि के गर्ने ?

वालपेपर पुरानो भएपछि त्यसलाई परिवर्तन गर्न सकिन्छ । एकपटक राखिएको वाल पेपर लगभग १० वर्षसम्म टिक्छ । यदि बीचमा परिवर्तन गर्न मन लाग्यो भने पनि परिवर्तन गर्न मिल्छ । पुरानो र फोहोर देखियो भने यसलाई सफा गर्न पनि सकिन्छ ।

वालपेपर खरिद गर्दा पाइने सुविधा

कुनै कोठामा वालपेपर राख्ने सोच राख्दै हुनुहुन्छ भने कस्तो वालपेपर राख्दा कोठा आकर्षक र राम्रो देखिन्छ भनेर कम्पनीहरूले सल्लाह दिने गर्छन् । साथै वालपेपर टाँस्नका लागि दक्ष जनशक्ति पनि उपलब्ध गराइन्छ । कुनै कम्पनीहरूले वालपेपर टाँसेको अतिरिक्त शुल्क लिन्छन् भने कतिले निःशुल्क टाँसिदिन्छन् ।

(शाहसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?