+
+

साउनमा १ खर्ब ३१ अर्बको सामान आयात

निर्यातमा पनि गिरावट

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मै आयातमा गिरावट आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १८:२६
फाइल तस्वीर

७ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मै आयातमा गिरावट आएको छ । यसले बाह्य क्षेत्रमा परेको दबाव केही कम हुनेछ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो ।

आयातसँगै निर्यातमा समेत यो महिनामा गिरावट आएको छ । विभागका अनुसार साउनमा मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा २८.६८ प्रतिशत कम हो । गत आवमा साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

वैदेशिक व्यापार ओरालो

आयात र निर्यात दुवै घटेको यो महिना गत वर्षको साउनको तुलनामा वैदेशिक व्यापार खस्किएको छ । साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो । गत आवमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

व्यापार घाटा भने यो महिनामा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँ बराबरको भएको छ । यो गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटा थियो । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार भएमा ८९.८६ प्रतिशत आयात र १०.१४ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।

२५ अर्बको पेट्रोलियम पदार्थको आयात

साउनमा नेपालले २५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालले औसत मासिक ३० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो ।

साउनमा ५ अर्ब रुपैयाँ हाराहारी पेट्रोलियम पदार्थको आयात नै कम भएको छ । यसले समग्र आयात कम गर्न सहयोग पुगेको हो ।

साउनमा फलाम र स्टिलको आयातमा ११ अर्ब २३ करोड रुपैयाँ विदेशिएको छ । नेपालबाट सबैभन्दा धेरै वनस्पति तेलको निर्यात भएको छ । यस्तो निर्यात ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?