२६ मंसिर, काठमाडौं । आयात बढ्न थालेसँगै चालु खाता बचत भने घट्न लागेको छ । तर, मंसिरमा शोधनान्तरसँगै विदेशी मुद्रा सञ्चिति भने बढ्दो क्रममा नै देखिएको छ ।
अघिल्ला महिनाको तुलनामा मंसिरमा रेमिट्यान्स आप्रवाहमा केही कमी र आयात वृद्धि हुँदा चालु खाता बचत कात्तिकको तुलनामा घटेको छ ।
शोधनान्तर बचत र विदेशी विनिमय सञ्चिति भने बढ्दो क्रममा नै देखिएको छ । मंसिर २०८१ कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशत वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४० अर्ब कायम भएको छ । २०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत छ ।
मंसिरमा बढेको आयातसँगै सञ्चिति पर्याप्तता सूचक भने कात्तिकको तुलनामा घटेको छ । २०८१/८२ को पाँच महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
जबकि, कात्तिक मसान्तसम्मको आयात आधारमा १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन सक्ने देखिएको थियो ।
प्रतिक्रिया 4