+
+

बालेनको ‘एक्सन’ले पोखराका मेयरलाई दबाब

मेयर आचार्यले भने : अवैध संरचना छिट्टै हट्छ, पार्किङमा प्रयोग हुन्छ

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ १० गते ९:००
अन्डरगाउन्ड पार्किङमा सञ्चालित पसलहरू ।

१० भदौ, पोखरा । पोखराको व्यस्त बजार क्षेत्र चिप्लेढुंगा चोकमै छ, सेलवेज टावरको अन्डरग्राउन्डसहितको अग्लो भवन ।

टावरले महानगरबाट अन्डरग्राउन्डलाई पार्किङका लागि नक्सा पास लिएको छ तर अहिले त्यहाँ पसलहरू सञ्चालन छन् ।

सेलवेज टावरमात्रै होइन, पोखराकै न्युरोड, नयाँबजार, महेन्द्रपुल क्षेत्रका हाराती, बतास, सीता, रामकृष्णलगायत झन्डै २ दर्जन बढी व्यापारिक भवनका अन्डरग्राउन्ड छ तर, प्रयोजनविपरीत प्रयोग भइरहेका छन् । ती अन्डरग्राउन्डमा कुनैमा दोहोरी साँझ सञ्चालनमा छन् भने कुनैमा सवारीसाधन वर्कसपदेखि लिएर सुपरमार्केटसम्म ।

बढ्दो सवारीसाधन प्रयोगकर्तासँगै अहिले पोखरा महानगरमा पार्किङ मुख्य समस्याका रुपमा देखा परिरहेको छ । खुला तथा सार्वजनिक ठाउँ अभावका कारण महानगरले सडकलाई नै ठेक्का दिएर शुल्क असुलिरहेको छ ।

पार्किङलाई व्यवस्थित गर्न भवन आचारसंहिताले अन्डरग्राउन्ड पार्किङ प्रयोजनकै लागि प्रयोग गरिनुपर्ने व्यवस्था गरेको छ ।

तर, घरधनीले उक्त प्रयोजनकै लागि नक्सा पास लिए पनि पोखरा महानगरमा अधिकांश भवनले नियमविपरीत व्यापारिक प्रयोजन गरिरहेका छन् । जसले गर्दा सवारी धनीले हैरानी खेप्नु परेको त छ नै, शुल्क तिरेरै भए पनि पार्किङ गर्न पाउँदैनन् ।

अन्डरग्राउन्डसहितको भवन बनाएका घरधनीलाई व्यापारिक नभई पार्किङ प्रयोजनका लागि प्रयोग गर्ने प्रेरित गर्न महानगरले २ वर्षअगाडि नै राजश्व छुटको व्यवस्था गरेको थियो । जसमा उनीहरुले तिरिरहेको राजश्वमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । तर, फितलो अगुगमन र नीतिका कारण कार्यान्वयनमा भने आएको छैन ।

महानगरले आर्थिक वर्ष ०७६/७७ देखि अन्डरग्राउन्ड बन्ने भवनलाई एकतला एक तला बराबरको राजश्व छुटको सुविधासमेत ल्याएको थियो ।

महानगरका कर्मचारीका अनुसार अन्डरग्राउन्डसहितका नयाँ-पुराना सबै भवनले भने महानगरदेखि राजश्व छुट सुविधा लिन्छन् ।

तर, जुन प्रयोजनका लागि उनीहरुले राजश्व छुट लिएका हुन्, त्यो पालना नगरी प्रयोजनविपरीत व्यापारिक प्रयोग गरिरहेका छन् । महानगरले पटकपटक सूचना जारी गरेर प्रयोजनानुसार नै अन्डरग्राउन्ड प्रयोग गर्न सूचना पनि दिँदै आएको छ । तर, कार्यान्वयनमा भने आउन सकेको छैन ।

महानगरले एक महिना अगाडि मात्रै एक महिनाको समय दिएर अन्डरग्राउन्डको व्यापारिक संरचना हटाउन सम्बन्धित घरधनीलाई पत्राचार गरेको थियो । तर, घरधनीले अटेर गरेपनि पुनः तीन दिन अगाडि पत्राचार गरेको छ ।

पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलका अनुसार पोखरामा करिब २५० वटा अन्डरग्राउन्डसहितका भवन छन् । तर, त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजनअनुरुप अन्डरग्राउन्डलाई पार्किङका रुपमा प्रयोग गर्दै आएका छन् ।

‘अन्डरग्राउन्डसहित बनेका भवनमध्ये लेकसाइड क्षेत्रमा सबैभन्दा बढी जेको लागि बनाइएको हो, त्यसकै लागि (पार्किङ) प्रयोग गरिरहेका छन्,’ पौडेलले भने, ‘त्यहाँ धेरै होटल, रेस्टुरेन्ट भएकाले स्वभाविक पनि हो ।’

तर, लेकसाइड क्षेत्रबाहेक पोखराको मुख्य बजार क्षेत्र मानिने पोखरा वडा नम्बर ४, ८, ६ र १२ का ठाउँमा भने अन्डरग्राउन्ड व्यापारिक रुपमा प्रयोग हुँदै आएको छ । ‘दुई वर्षअघिबाटै हामीले अन्डरग्राउन्डलाई पार्किङकै लागि प्रयोग गर्नेहरुलाई राजश्व छुटको पनि व्यवस्था गरेका छौैं,’ उनले भने, ‘तर, कोर एरिया न्युरोड, महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा धेरैले मानेका छैनन् ।’

काठमाडौंमा बालेनको ‘एक्सन’ले पोखराका मेयरलाई प्रश्नैप्रश्न

काठमाडौं महानगर मेयर बालेन्द्र साह (बालेन)ले अन्डरग्राउन्डमा प्रयोजनविपरीत बनेका व्यावसायिक र अवैध संरचना धमाधम हटाउन थालेपछि चर्चामा छन् । तर, यही समस्या पोखरा महानगरमा पनि छ ।

मेयर बालेन्द्रले काठमाडौंमा भवनको अन्डरग्राउन्डमा प्रयोजनविपरीतका संरचना धमाधम भत्काउन थालेपछि पोखरेलीले पनि प्रश्न सोध्न थालेका छन्, ‘पोखरामा कहिले सुरु हुन्छ ?’

पोखराका वातावरणविद् अनिल सुवेदीले पोखराको अन्डरग्राउन्डसहितको भवनमा पार्किङको व्यवस्था कहिले गर्ने भन्दै पोखराका मेयरलाई प्रश्न गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र ‘एक्सन’मा उत्रिएपछि पोखरा मेयर आचार्यमाथि पनि दबाब सिर्जना भएको छ ।

‘काठमाडौंका मेयर बालेन्द्रजीले जस्तै पोखरा महानगरभित्र बनेका अवैध भौतिक संरचना, बाटो मिचिएका स्थानहरुको व्यवस्था, अन्डरग्राउन्ड स्पेस भएका भवनमा पार्किङको व्यवस्था आदि विषयमा काननुबमोजिम हाम्रा मेयर सा’बसहितका टिम कहिले आफ्नै पोखरेली स्टाइलमा उत्रिनुहन्छ होला ?’ उनले प्रश्न गरेका छन् ।

पोखराका बद्रीनाथ घिमिरेले काठमाडौंका मेयर बालेन्द्रको काम गर्ने ‘स्प्रिट’ देखेर पोखराका मेयरलाई पनि जाग्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘बालेन्द्रको स्प्रिट देखेर पोखरका मेयरलाई लाज लाग्नुपर्ने हो,’ उनले भनेका छन् ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेलले पोखराका मेयर पनि आँट गर्नुपर्ने बताएका छन् । ‘काठमाडौंका मेयरले झैं सडक किनारमा निर्मित अवैध संरचना भत्काउन अभियान थाल्ने हो भने पोखरालाई अवश्य व्यवस्थित बनाउन सकिन्छ,’ उनले भने, ‘पोखराका मेयरले आँटेको खण्डमा हामी साथ दिन तयार छौं ।’ यस्ता थुप्रै प्रश्न मेयर धनराज आचार्यमाथि सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।

‘एक महिनाअघि पत्र पठायौं, फेरि पठाउँछौं अटेरीलाई कारबाही गर्छौं’

पोखरा महानगर मेयर धनराज आचार्यले अन्डरप्राउन्डलाई पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन एक महिनाअगाडि नै चिठी पठाएको तर, घरधनीले अटेर गरेको बताएका छन् ।

‘पोखरामा जति पनि पार्किङ प्रयोजनका लागि बनेका अन्डरग्राउन्ड भवन छन् । उहाँहरुलाई एक महिनाभित्र खाली गर्नुहोला भनेर चिठी पठायौं’ मेयर आचार्यले अनलाइनखबरसँग भने, ‘अहिले त्यहाँ वसलहरु चलेकाले उहाँहरुलाई समय दिनैपर्‍यो, सार्नुपनि पर्‍यो । त्यसलाई हामीले फेरि पत्राचार गरेका छौं । त्यो छिट्टै खाली हुन्छ ।’

आचार्यले फेरि ३५ दिने सूचना जारी गर्ने र अटेरी गरेकोे खण्डमा कारवाही गरिने चेतावनी दिएका छन् । अन्डरग्राउन्डको व्यापारिक संरचना प्रयोजनअनुरुप प्रयोग गर्न समेत उनले सुझाएका छन् ।

‘अन्डरग्राउन्ड खाली गरिसकेपछि उहाँहरुले जे प्रयोजनका लागि बनाउनु भएको हो, त्यसैका निम्ति प्रयोग गर्नुपर्छ । पेइङ पार्किङ गर्ने कि पर्सनल पार्किङ गर्ने, उहाँहरुको इच्छा हो,’ मेयर आचार्यले भने, ‘त्यहाँ पुगेर पब्लिकले गर्ने होइन । तर, त्यो पार्किङ प्रयोजनलाई प्रयोग हुनुपर्‍यो ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?