+
+

माओवादी केन्द्रसँग संघीयताको मुद्दा मिलेकाले चुनावी तालमेल भयो : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १६:१६

१० भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको बताएका छन् ।

शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गरेका कारण खुलाएका हुन् । उनले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताए ।

उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गरे । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको स्पष्ट पारे । उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताए ।

उनले भने, ‘हामी चाहीँ सुशासन राम्रो सँग काम गरेर जानुपर्छ । र गलत ढंगले त्यस्ता तत्वहरुलाई साथ दिनु हुँदैन भन्ने कुरा हामी राख्छौँ । त्यहाँ हाम्रो थोरै अन्तर्बिरोध पनि छन् । अन्तर भएको हुनाले हामी अलग पार्टी हौँ । तर फेरि मूलभूत मुद्दा चाँहि फेरि त्यहाँनिर मिल्छ । काँग्रेस सँग र एमालेसँग मिल्दैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको मुद्दा र पहिचान र अधिकार सहितको राज्यको संघीय पुनःसंरचनाको मुद्दा बढी माओवादीसँग मिल्छ । यो समानताले गर्दा पनि हामीले चुनावी तालमेल गर्दा विचारलाई पनि ध्यान दिनुपर्छ ।’

उनले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पारे । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माणमा सहमती जुटेमा एकता हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?