+
+

स्वतन्त्र विजेताको सफलताले दलभित्र बढाएको त्रास

पुनः तिनै अँध्यारोमा खेल खेल्ने खेलाडीहरूले स्वतन्त्र नेतृत्वलाई असफल बनाउन हदैसम्म सक्रिय भएको आभास भएको छ । नेतृत्वकर्तालाई कसरी असफल सिद्ध गर्ने भन्ने किसिमले सबै दलबीच भित्री साँठगाँठ भएको देखिरहेका छौं ।

पुष्पा ढकाल पुष्पा ढकाल
२०७९ भदौ ११ गते ९:५५

स्थानीय निर्वाचन २०७९ मा देशका तीन पालिकाले फरक-फरक पृष्ठभूमि र परिवेश भएका स्वतन्त्र उम्मेदवार पायो । स्थानीय तहको नतिजा सार्वजनिक भएपछि ती उम्मेदवारको जितले भोट हाल्ने र भोट हाल्न चाहने तर नपाउने सबै जना दङ्ग र फुरुङ्ग थियौं ।

जे होस् यो नतिजाले नेपालको पुराना दलका ढोङ्गी नेताहरूबाट मुक्त भई देशमा वैकल्पिक राजनीतिलाई प्रश्रय दिन सकिन्छ भन्ने सोचाइ बलियो हुनथाल्यो । मेयरको स्वतन्त्र उम्मेदवारी घोषणा लगत्तै अवसरवादी भ्रष्ट व्यक्तिहरूले आफ्ना भनाइहरू उकेल्दै भन्न थाले- ‘यी स्वतन्त्रहरूले कसरी काम गर्दा रहेछन् हेरौैंला…। यिनीहरूलाई ध्वस्त नपारी त कहाँ छोडौंला ? उनीहरूलाई सफल बन्न दिएर हामीलाई चाहिं के फाइदा …?’ यी र यस्ता अनेकन् कुरा सुन्नमा आएका थिए ।

निर्वाचन सकिएको तीन महिना पूरा भइसकेको छ । यो तीन महिनाको बीचमा स्वतन्त्र उम्मेदवारले आफ्नो कामप्रतिको जिम्मेवारी वहन, लगाव, मिहिनेत, बगाएको पसिना देख्दा साँच्चिकै प्रशंसनीय छ । आफ्नो क्षेत्रमा यति धेरै खटिएर दिन-रात नभनी परिश्रम गरेको देख्ने हाम्रा आँखाहरू पवित्र भएका छन् । मुटुहरू कोमलताले भरिएका छन् । त्यसैले त मनैदेखि यति धेरै सम्मान गरेका छौं । काममा होस्टेमा हैंसे गरेका छौं । अंकमाल गरी स्याबासीका पुष्पगुच्छा दिऊँ जस्तो भइरहेको छ ।

हरेक क्षेत्रमा काम गर्ने एउटा विधि र प्रक्रिया हुन्छ । उक्त विधि र प्रक्रिया पुर्‍याई गरिएको काम नै वैध काम मानिन्छ । महानगर र उपमहानगर प्रमुखहरूले आफ्नो चुनावी एजेण्डा अनुसार काम गरिरहँदा हामी सबैलाई यो काम अति नै आवश्यक छ, समयमै पूरा हुन जरूरी छ भन्ने लागिरहेको छ । मनले सफलताको शुभकामना पुकारिरहेका छौं । तर पनि आशातित काम हुन नसक्नु हाम्रा लागि अत्यन्तै चिन्ता र चासोको विषय हो ।

देशको पछिल्लो चरणको राजनीतिक कुसंस्कार र घिनलाग्दो खिचातानी देख्दा वाक्वाकी नै आउने अवस्था सिर्जना भइसकेको छ । यी पुराना राजनैतिक दलहरूप्रति विश्वास गर्ने नैतिक आधार सकिएको छ । स्वतन्त्र रूपमा उठेको, केही नयाँ गर्छु भन्ने दृढ आत्मविश्वास भएको, निडर, लोभलालचमा परिनसकेको उम्मेदवार छान्यौं ।

त्यतिबेला नै हाम्रो मानसपटलमा आइसकेको थियो कि, स्वतन्त्र उम्मेदवारलाई साँच्चि नै काम गर्न राजनैतिक दलहरूबाट सहयोग होला त ? उसको चुनावी एजेण्डा पूरा हुने वातावरण मिलाइदिन दलहरू तयार होलान् ? कतै स्वतन्त्र उम्मेदवारलाई फेल गराई पुनः आफ्नो नेतृत्वमा नगर प्रमुख बनाउने दुस्साहस पो गर्ने हुन् कि ? उसको अध्यक्षतालाई भद्रगोल पारी सत्ता र शक्तिको चरम दुरुपयोग गरेर आफ्नो आफ्नो स्वार्थ पूर्ति गर्ने त होइनन् ? भन्ने त्रास मनमा यदाकदा गडेको थियो ।

हेर्न, देख्न मन नलाग्ने नेतालाई परास्त गराउँदै नयाँ व्यक्तिलाई नेतृत्वसम्म पुर्‍यायौं । तर पुनः तिनै अँध्यारोमा खेल खेल्ने खेलाडीहरूले स्वतन्त्र नेतृत्वलाई असफल बनाउन हदैसम्म सक्रिय भएको आभास भएको छ । नेतृत्वकर्तालाई कसरी असफल सिद्ध गर्ने भन्ने किसिमले सबै दलबीच भित्री साँठगाँठ भएको देखिरहेका छौं ।

जनता सचेत र जागरुक भइसकेका छन् । स्वतन्त्र उम्मेदवारलाई जनताले त्यसै हावैहावामा भोट हालेका होइनन् । लाज, इमान नभएका, स्वार्थकेन्दि्रत राजनीति गर्ने भ्रष्टहरूलाई तह लगाउन उठ्नै नसक्ने गरी पछार्ने अपेक्षाका साथ जनमतको सदुपयोग गरेका हुन्

विधि र प्रक्रियाबाट सामान्य रूपमा चल्न पाउने हो भने केही दिनको कामलाई राजनैतिक दलको असहयोगले मेयरको हातखुट्टा बाँध्न खोजे जस्तो छ । गुण्डागर्दी र बार्गेनिङलाई व्यवस्थित तवरबाट भित्र्याउन विभिन्न नाममा पार्टी खोली देशको लागि केही गर्छु भन्ने कर्मठ व्यक्तिको हातखुट्टा बाँधेर एक्लै हिंड्न बाध्य बनाउनु निश्चय पनि गैरजिम्मेवार काम हो ।

सामाजिक सद्भाव नबिगारी समस्यालाई सजिलोसँग तुरुन्तै समाधान गर्छु भनी मैदानमा खटेको व्यक्तिलाई हतोत्साहित गर्न खोजिएको छ । फोहोरको समस्यामा यस्तै भएको छ । चारैतिरबाट एक्लै पारेर यो सबै तिम्रो समस्या हो, तिम्रो काम हो, मेरो होइन भनी मुसुमुसु हाँस्दै मूकदर्शक भई संघीय सरकार बस्न मिल्छ ?

काठमाडौंका मेयर बालेन साहले जनअनुमोदित आफ्नो एजेण्डा पूरा गर्दा, आफ्नो नेतृत्वमा राजधानीको फोहोर व्यवस्थापन गर्दा कसलाई के/किन आपत्ति ? फोहोरको उचित व्यवस्थापन भई सरुवा रोगको महामारी उत्पन्न हुने अवस्थाको निर्मूल हुँदा कसले जित्छ ? बालेन एक्लैले जित्ने हो ? अनि फेरि कसले हार्छ ? देशले हार्छ ? कि राजनीतिक रूपधारी डेट एक्सपायरहरूले हार्छन् ?

राजधानीको फोहोर के काठमाडौं महानगरपालिकाको मात्र फोहोर हो ? यहाँ बस्ने सबै व्यक्तिको घरबाट निस्केको फोहोर हो कि बालेनको ? के बालेनको घरबाट ट्रकका ट्रक फोहोर निस्कन्छन् ? सबै राजनीतिक दलहरूले साझा सहमति बनाई व्यवस्थित तवरबाट फोहोरको व्यवस्थापन गर्न सरकारी स्तरबाटै पहल गर्नुपर्दैन ?

सडकभरि छरपस्ट रूपमा फोहोरको डङ्गुर थुपार्दा त्यसलाई नाघ्दै हिंड्नुपर्ने अवस्थाको दोषी बालेन मात्र हो ? यो त सब बालेनलाई फेल गराउने रणनीति हो भन्ने स्पष्ट हुँदैन र ?

हामी सर्वसाधारण जनताको मनमा उब्जिएको प्रश्न र शंका के हो भने दलहरूले स्वतन्त्रको उपस्थिति नहोस् भन्ने भित्री अन्तरात्माबाट चाहेका छन् । यदि स्वतन्त्रले आफ्नो कर्मबाट छुट्टै पहिचान बनाउन सके भने पुराना दलगत प्रणाली झन् कमजोर हुँदै जान्छ र जनताको विश्वास गुम्छ भन्ने मनमा डर-त्रास राखेका छन् ।

त्यसैले त स्वतन्त्र उम्मेदवारलाई कमजोर र असफल बनाउन प्रयत्नशील छन् । स्वतन्त्रलाई काम गर्न असहयोग गरी मनोबल गिराउने र तदनुरुप संकथन बनाउने प्रयत्न भइरहेको छ । स्वतन्त्र मेयरले नसक्ने रहेछ, यसरी स्वतन्त्र त कोही पनि नआउनु, अत्यन्तै गाह्रो हुनेरहेछ, काम गर्न एक्लै परिनेरहेछ भन्ने जस्ता भाष्य बनाउने प्रयास भइरहेको छ ।

यदि स्थानीय चुनावमा जितेका स्वतन्त्रले संघीय चुनावसम्म विकास र समृद्धिको नयाँ खाका कोर्दै अगाडि बढ्न सफल भए भने आगामी मंसिरमा हुने चुनावमा टिकट पाएका युवा पुस्ताले धेरै स्थानमा जित हासिल गर्न सक्ने सम्भावना बढेको छ । यसबाट बुढा पुस्ताका नेताहरू भयाक्रान्त देखिन्छन् । यही भयका कारण उनीहरू अनेक नाजायज बाधा, व्यवधान, अवरोध खडा गरिदिने कार्य सबै कुराहरू जनताले छर्लङ्गै बुझिसक्दासम्म पनि किन अझै पतन हुने बाटो खोजेका होलान् ?

स्वतन्त्र व्यक्तिहरूको विजयपश्चात् जनताले स्वतन्त्र रूपमा आएका व्यक्ति र राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्ति बीच के अन्तर हुने रहेछ भनी वस्तुगत ढङ्गले नियालिरहेका छन् । स्वतन्त्र रूपमा जितेर आएका व्यक्तिले गर्ने कार्य व्यवहार र राजनैतिक दलबाट जितेर आउने व्यक्तिले गर्ने कार्य व्यवहारको भेद छुट्याउने प्रयास भइरहेको छ ।

स्वतन्त्र व्यक्तिलाई दलगत संगठनले सहयोग/असहयोग गर्नाका कारणको खोजी भइरहेको छ । स्थानीय तह र स्वतन्त्र व्यक्तिबीचको सम्बन्ध राम्रो देखिएको छ । स्थानीय तह र दलगत प्रतिनिधिबीचको सम्बन्धमा घनिष्टता हुने रहेछ भन्ने मूल्याङ्कन गरिरहेका छन् । बालेन, हर्क साम्पाङ, गोपाल हमाल जस्ता व्यक्तिको पाँचवर्षे कार्यकाल पूरा गर्दैगर्दा नेपाली जनताले नेपालको राजनीति कत्तिको स्वस्थकर, जनहितमुखी छ भन्ने स्पष्ट थाहा हुनेछ ।

जनता सचेत र जागरुक भइसकेका छन् । स्वतन्त्र उम्मेदवारलाई जनताले त्यसै हावैहावामा भोट हालेका होइनन् । लाज, इमान नभएका, स्वार्थकेन्दि्रत राजनीति गर्ने भ्रष्टहरूलाई तह लगाउन उठ्नै नसक्ने गरी पछार्ने अपेक्षाका साथ जनमतको सदुपयोग गरेका हुन् । स्मरण रहोस्, यदि स्वतन्त्र उम्मेदवारलाई विना कारण असहयोग गर्ने, कमजोर बनाउने, समस्या समाधानमा अनावश्यक हस्तक्षेप गर्ने, अभद्र व्यवहार गर्ने जस्ता कार्यहरू भैरहृयो भने पक्कै पनि आगामी चुनावमा भ्रष्ट नेताको ढाडै भाँच्चिएर उठ्नै नसक्ने गरी भुईंमा बजारिनेछ । र, अन्य धेरै बालेनको जन्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?