+
+
इतिहास :

बिर्सिएको एउटा नाम तेजवीर बुढा

२७ हजार २३५ फिटमा पुगेपछि केही समस्या सुरु भयो। जेफ्री ब्रुसको अक्सिजन सिलिण्डरले कामै गरेन । ब्रुस आत्तिएको देखेपछि फिन्च पनि फर्किए। तेजवीर केही अगाडि बढिरहेका थिए। सायद २७ हजार ५०० फिट उचाइसम्म पुगेका थिए। उनको कपडाले चिसो सिरेटो थाम्नै सकेन।

सुनिल उलक सुनिल उलक
२०७९ भदौ ११ गते १९:२३

हुन त धेरैलाई यो नाम खासै परिचित लाग्दैन। किनकि नेपालमा साना भुईंमान्छेको खासै इतिहास लेखिंदैन। र, उनीहरूलाई उचाइमा पुर्‍याउन सत्ता पक्ष खासै लाग्दैन। तर तेजवीर बुढालाई इतिहासले उचाइमा नपुर्‍याए पनि आजभन्दा १०० वर्ष अगाडि आफैंले आफैंलाई विश्वको सबैभन्दा उचाइमा पुर्‍याएका थिए। कसैले कदर वा सम्मान नगरे पनि उनले सन् १९२४ मा विश्व सम्मान पाएका थिए।

विश्व ओलम्पिक समितिले सन् १९२४ मा फ्रान्सको शेमोनिक्स शहरमा भएको पहिलो शीतकालीन ओलम्पिक खेलमा पर्वतारोहण जस्तो कठिन कार्यलाई पनि खेलका रूपमा लिंदै सन् १९२२ मा भएको सगरमाथा आरोहणका सहभागी सबैलाई स्वर्णपदक दिने घोषणा गर्‍यो। आरोहणमा सहभागी भएका २१ जनालाई नै स्वर्ण पदक दिइएको थियो। तीमध्ये १२ बेलायती, एक अस्ट्रेलियन, एक नेपाली तथा सात शेर्पा भरियाहरू थिए। ती सात शेर्पा भरियाको भने आरोहण प्रयासकै क्रममा मृत्यु भएको थियो। यसरी तेजवीर बुढाको प्रयासलाई विश्व ओलम्पिक समितिले कदर गरेको थियो।

भारतमा रहेको अंग्रेज सेना छैटौं गोर्खा राइफलको दोस्रो बटालियनमा लान्स नायक पदमा कार्यरत थिए। सिपाहीमा जागिरे भएका उनको केही समयमा नै लान्स नायकमा पदोन्नति भएको थियो। बेलायतको तर्फबाट सगरमाथा आरोहणको प्रयास गर्ने तयारी भइरहँदा तत्कालीन भारतीय सेनापति लर्ड बारोन रलिन्सनसँग सहयोगको आग्रह गरिएको थियो।

विश्वको सबैभन्दा अग्लो शिखरको पहिलो पटक सबैभन्दा उचाइसम्म पुग्न सक्ने वीर तेजवीर बुढालाई यसरी राज्यले बेवास्ता गर्नु र इतिहासमा समेत कतै उल्लेखसम्म नहुनु दुःखद कुरा हो।

यसरी सेनापति रलिन्सनकै अनुमतिमा छैटौं गोर्खा राइफलको दोस्रो बटालियनका कमाण्डर रहेका क्याप्टेन चार्ल्स ब्रुसले नै आरोहणको नेतृत्व गर्ने भएपछि उनले आफ्नो बटालियनका पाँच जना गोर्खा सैनिकको नाम सुझाएका थिए। तरपछि पाँच नेपालीमध्ये केवल एक तेजवीर बुढा छानिए। नेपाली तथा तिब्बती भाषा फरर्र बोल्ने कमाण्डर चार्ल्स बुससँग काम गर्न तेजवीर तथा शेर्पा टोलीलाई निकै सहज भएको थियो।

१५ फेब्रुवरी १९२१ मा लिइएको अन्तर्वार्तामा तेजवीर बुढा सगरमाथा आरोहणका लागि छानिए। उनी आफ्ना अफिसर तथा अन्य सहयोगीहरूका साथ ठूलो डफ्फा नै मार्च १ तारिखका दिन दार्जीलिङ पुगे।

दार्जीलिङमा आरोहणको एजेन्ट वेदरअलले १५० शेर्पा भरियाको टोली पनि तयार बनाएर राखेको थियो। भान्सेहरूको टोली पनि तयार थियो। ४ जना भान्सेको टोलीमा एक नेपाली छानिएका थिए। उनलाई रोज्नुको कारण भने उनी क्याप्टेन ब्रुसको निजी भान्से थिए। तसर्थ क्याप्टेन ब्रुसले उनलाई पनि साथमा लिएका थिए।

दार्जीलिङबाट हिंड्नु अगाडि त्यहाँ रहेका गुम्बाका लामा तथा हिन्दु मन्दिरका पण्डितहरूले पूजा तथा आराधना गरी आशीर्वाद दिएका थिए। सम्पूर्ण तयारी सकिएपछि टोली मार्च २६ का दिन दार्जीलिङबाट रेलमा कालिम्पोङका लागि हिंडे।

त्यहाँबाट सिक्किम हुँदै तिब्बततर्फ हिंडेर नै यात्रा तय गर्नुपर्ने थियो। तिब्बततर्फको यात्राका लागि दलाइ लामासँग अनुमति मागिएको थियो। दलाइ लामाले दिएको अनुमतिमा देशको कानुन पालना गर्नुपर्ने तथा बाटोमा हिंड्ने बेलामा कहींकतै पनि जनावर तथा चराचुरुङ्गीहरू मार्न नपाउने गरी बन्देज पनि लगाइएको थियो।

बेलायती पर्वतारोही केन्टन कुलले सगरमाथाको चुचुरोमा सन् १९२४ मा ओलिम्पिक खेलमा कठिन पर्वतारोहणका लागि प्राप्त गरेको स्वर्ण पदक सन् १९२२ मा सगरमाथा आरोहण प्रयासको ९० वर्ष पुगेको अवसरमा सोही आरोहणमा जीवन गुमाएका सात शेर्पाहरूको सम्झनामा समर्पण गर्दै सगरमाथाको टुप्पोमा छोडेका थिए।

अलिकति कथा सगरमाथाको

राणाकालमा विदेशीहरूका लागि नेपाल सहज थिएन। विशेष अनुमतिमा काठमाडौं मात्र छिर्न पाउँथे। त्यसमा पनि कडाइ हुने गर्दथ्यो। राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समयमा अंग्रेजको अधीनमा रहेको कञ्चनजंघा नै संसारको सबैभन्दा अग्लो चुचुरोका रूपमा लिइन्थ्यो। नेपालमा पनि कुनै विशाल हिमाल छ भन्ने अनुमान पनि गरिएको थिएन। नेपाल प्रवेश गर्न नपाए पनि भारतीय भूमिमा बसेर नेपालको हिमाली भागलाई नियाल्ने गर्दथे।

सन् १८०२ मा सुरु भएको ग्रेट ट्रिगोनोमेट्रिकल सर्वे अफ इन्डियाले भारतको नक्सा बनाउने काम गर्दै थियो। ले.क. विलियम लाम्वेट यसका प्रमुख थिए। १३ वर्षको अवधिमा लाम्वेटले भारतको अधिकांश भाग नापेर भ्याएका थिए। जर्ज लाम्वेटले जर्ज एभरेष्टलाई आफ्ना सहायकका रूपमा नियुक्त गरेका थिए। सन् १८३० मा सर्वेयर जनरल अफ इन्डिया बनेका एभरेष्ट सन् १८४३ मा पदमुक्त हुँदा उनले आफ्ना विश्वासी एन्ड्रु स्कट वालाई सर्वेयर अफ इन्डिया नियुक्त गरेका थिए। यिनै एन्ड्रु स्कटको समयमा उत्तरी हिमालहरूको उचाइ नाप्ने काम भयो।

सन् १८४६ मा जोन एम्स्ट्रङको नेतृत्वमा गएको टोलीले १७४ किमि टाढाबाट ट्रिगोनोमेट्रिकल डाटाहरू जम्मा गर्न थाल्यो। त्यतिबेला तिब्बती नाम छोमोलोङ्मा रहेको हिमालको उचाइ सबैभन्दा अग्लो भेटियो। कञ्चनजंघा हिमालदेखि अन्दाजी १०७ किमी पश्चिममा रहेको पर्वत सबैभन्दा अग्लो देखिएपछि यसको नाम पिक बी राखे। पछि यो त्यसै हरायो। बादलले ढाकिएपछि उनले विस्तृत अध्ययन गर्नै पाएनन्।

सन् १८४९ को नोभेम्बरमा जेम्स निकल्सनको नेतृत्वमा अर्को टोली हिमालको उचाइ नाप्नका लागि खटियो। उनले विभिन्न ६ स्थानबाट निरीक्षण गरेर विभिन्न तथ्यांक जम्मा गरे। उनले सबैभन्दा अग्लो देखिएको हिमालको नाम पिक एक्सभी राखे।

सर्वे अफ इन्डियाको अफिस देहरादुनमा रहेको थियो। उनले संकलन गरेको सबै तथ्यांकको हिसाबकिताब तथा विश्लेषण गर्ने जिम्मा यही अफिसको थियो। उनले संकलन गरेको तथ्यांकहरू सर्वे अफ इन्डियाको देहरादुन अफिसको जिम्मामा सन् १८५४ मा दिइयो। यहाँ खटिएका प्रमुख गणकमा राधानाथ सिक्दर थिए। वास्तविक उचाइका लागि उनले संकलन गरेको डाटाहरूको हिसाब गर्न थाले।

करिब दुई वर्ष लगाएर हिसाब गरेपछि पिक एक्सभीको उचाइ २९ हजार २ फिट भएको निष्कर्ष निकालियो। अन्य हिमाल भन्दा झण्डै एक हजार फिट अग्लो नयाँ हिमाल पत्ता लागेपछि यसको नामकरणका विषयमा निकै छलफल भयो। सन् १८५६ को मार्च १ तारिखका दिन सबैको सहमतिमा यसको नाम माउण्ट एभरेष्ट राख्ने निधो भयो।

सर जर्ज एभरेष्टले ग्रेट ट्रिगोनोमेट्रिकल सर्वे अफ इन्डियाको नेतृत्वमा गरेको योगदानको कदर गर्दै उनको नाम राखिएको थियो। जर्ज एभरेष्टको कार्यकालमा यो अग्लो हिमालको बारेमा कुनै सोधखोज वा पत्ता लागेकै थिएन। तर पनि यस हिमालको नाम जर्ज एभरेष्टको नाममा माउन्ट एभरेष्ट राखियो। यद्यपि यो नामसँग जोडिएका केही विवाद बाँकी नै छन्।

राधानाथ सिक्दरले उचाइ पत्ता लगाएको हुँदा उनको नाममा माउन्ट सिक्दर राखिनुपर्दछ भन्ने मत पनि छ। उनको योगदान भनेको एक कर्तव्यनिष्ठ कर्मचारीको रूपमा थियो। उनको काम केवल अन्यले संकलन गरेर ल्याएको तथ्यांकहरूको विश्लेषण गरेर परिणाम निकाल्नु थियो।

नामकै कुरा गर्ने हो भने जेम्स निकल्सनको ठूलो भूमिका थियो। उनले पिक एक्सभीको वास्तविक उचाइ पत्ता लगाउनका लागि ६ स्थानबाट तथ्यांकहरू संकलन गरेका थिए। तर बाबुराम आचार्यले यस हिमालको नाम सगरमाथा राखिसकेपछि नेपाल सरकारले नेपालभित्र यस हिमालको उल्लेख गर्दा सगरमाथा नै राख्न लगाइयो।

यसरी संसारकै सबैभन्दा अग्लो हिमालको पत्ता लागेपछि यसको आरोहण गर्ने सपनाहरू बुनिन थाले। यसको चुचुरासम्म पुग्न त्यति सहज थिएन। सन् १९२१ मा ब्रिटिस रोयल जियोग्राफिक सोसाइटी तथा अल्पाइन क्लब नामक दुई संस्था मिलेर माउन्ट एभरेष्ट कमिटी बनाएको थियो। यसको गठनसँगै संसारकै अग्लो हिमाल आरोहणको तयारी भयो। सन् १९२१ मा नै कर्णेल चार्ल्स हावर्ड-ब्यूरीको नेतृत्वमा सगरमाथा आरोहणको पहिलो प्रयासको थालनी भयो। जर्ज मालोरी, गाय बुल्लक तथा एडवर्ड ओलिभर सगरमाथा आरोहणका लागि निस्किए। तर यिनीहरू २३ हजार फिट भन्दा अगाडि बढ्न सकेनन्। अचानक आएको हिमआँधीले गर्दा फर्किए।

जर्ज मालोरी

यी आरोहीहरूमध्ये जर्ज मालोरी भने सगरमाथाको शिखर चुम्न पागल नै भएका थिए। उनले सन् १९२२ को आरोहण प्रयासमा पनि भाग लिए तर असफल भए। सन् १९२४ मा पनि आरोहणका लागि गए। उक्त आरोहण थप दुःखदायी भयो। उक्त आरोहण प्रयासमा जर्ज मालोरीका साथ गएका अर्का आरोही एन्ड्रु इर्विनसहित दुवै हराए। सगरमाथाको टुप्पोमा पुग्ने भनेर हिंडेका दुवैको हिमपहिरोमा परेको आशंका भयो। शिखर जाँदै गर्दा हिमपहिरोमा परे वा शिखर पुगेर फर्कंदा परे, कसैले थाहा पाउन सकेन।

करिब ७५ वर्षपछि १ मे १९९९ मा जर्ज मालोरीको शव सगरमाथाको २६ हजार ७६० फिट उचाइमा भेटियो। शवको परीक्षण गरियो। मुख्य विषय उनले सगरमाथाको शिखर जाँदै गर्दा वा फर्कंदै गर्दा देहान्त भएको पत्ता लगाउनु थियो। शवको साथ उनका धेरै वस्तु फेला पर्‍यो। तर क्यामेरा फेला पार्न सकिएन। क्यामेरा भेटिएको भए त्यसमा खिचिएका तस्विरहरूले केही सहज प्रमाणहरू भेटिने थिए। तर केही तथ्यहरूले सगरमाथाको शिखर पुगेर फर्केको अनुमान गरिएको छ। मालोरीले श्रीमतीलाई उनको तस्विर चुचुरोमा छोड्ने भनेर लिई आएका थिए। जुन उनले साथै लिएर गएका पनि थिए। तर सो तस्विर उनको शवको साथ भने भेटिएन। जसले गर्दा सगरमाथाको चुचुरो पुगेर फर्कंदा हिमपहिरोमा परेको अनुमान गरिएको छ।

सन् १९२२ को आरोहणको तयारी

सन् १९२२ मा सगरमाथा आरोहणका लागि बेलायतको क्विन्स हलमा सन् १९२१ को डिसेम्बर २० तारिखमा भएको कार्यक्रममा आरोहण योजनाका प्रमुख ले.क. सि के हवार्डले सगरमाथा आरोहणको सम्पूर्ण तयारीको बारेमा बोलेका थिए। आरोहणका टोली नेता सेनाका ब्रिगेडियर चार्ल्स ग्रान्भिल ब्रुस तथा अन्यमा लेफ्टिनेन्ट कर्णेल एडवर्ड लिस्ले स्ट्रट, जर्ज मालोरी (आरोही), जर्ज इङ्गल फिन्च (आरोही), हेनरी ट्रेस मोर्शिड (आरोही), मेजर एडवर्ड फेलिक्स नर्टन (आरोही), डा. टम जर्ज लङ्गस्टफ (टिमको डाक्टर), डा. हवर्ड समरवेल (आरोही तथा डाक्टर), डा. अर्थर वेकफिल्ड (आरोही तथा डाक्टर), जोन नोएल (फोटोग्राफर तथा फिल्म बनाउने), जेफ्री ब्रुस (दोभाषे), मेजर चार्ल्स जोन मोरिस (दोभाषे), कोलिन ग्रान्ट क्रफोर्ड (दोभाषे) थिए। साथमा १५० भन्दा बढी भरियाहरू पनि थिए। ती भरियाहरूमा अधिकांश शेर्पा थिए। केही नेपालीहरू पनि थिए। भरियाहरूमा केही विश्वासिला भने नेपालीहरू नै थिए। तीमध्ये एक थिए तेजवीर बुढा।

यसका साथै आरोहणको सम्पूर्ण गतिविधि कैद गर्नका लागि त्यतिबेलाका अत्याधुनिक क्यामेराहरू पनि लिइएको थियो। तीन वटा मुभी क्यामेरा, दुई वटा पानारोमा क्यामेरा, चार वटा शिट क्यामेरा, एउटा स्टिरियो क्यामेरा, पाँच वटा भेष्ट पकेट कोडाक भनिने पकेट क्यामेरा पनि बोकेका थिए। साथमा एउटा कालो टेन्ट पनि साथमा थियो। जुन फोटोग्राफर जोन नोएलले डार्क रुमका रूपमा प्रयोग गर्दथे।

नेपालका तत्कालीन श्री ३ चन्द्रशम्शेरले नेपालको भूमि हुँदै सगरमाथाको आरोहणको अनुमति नदिएपछि अभियान टोलीले तिब्बती धर्मगुरु दलाई लामासँग अनुमति लिएका थिए। यसरी तिब्बती भूमिको अनुमति प्राप्त भएपछि आरोहणको अभियान दार्जीलिङ सिक्किमबाट चुम्बी घाँटी हुँदै तिब्बत प्रवेश गरेर तिब्बतकै बाटो टिङ्ग्री पुगेपछि दक्षिणतर्फ लागेर सगरमाथाको उत्तरी भागबाट सगरमाथा आरोहण गर्ने योजना रहेको थियो।

सबैभन्दा कठिन कार्य भनेको कुन बाटो कसरी सगरमाथा आधारशिविरसम्म पुग्ने भन्ने नै थियो। यसका लागि तिब्बतको यात्रा पहिले नै तय गरेका सर्वे अफ इन्डियाका अफिसरहरूको सहयोग लिइएको थियो। सन् १९२२ मार्चको अन्त्यसम्ममा सबैजसो टोली दार्जीलिङ पुगिसकेका थिए।

यात्रा आरम्भ दार्जीलिङबाट नै गर्ने तय भएको थियो। २६ मार्चको दिन अधिकांश टोली सिक्किमको तिब्बती सीमासम्मका लागि रेलमा यात्रा तय गरे। अक्सिजनका बोटल तथा केही महत्वपूर्ण सामग्री कलकत्ताबाट आइनपुगेको हुँदा क्रफोर्ड र फिन्च केही भरियाहरूका साथ रोकिएका थिए। ११ अप्रिलमा काम्पा झोङ पुगेपछि क्रफोर्ड र फिन्चलाई भेट्नका लागि पनि तीन दिन उतै बसे। मे १ तारिखका दिन सबै टोली सगरमाथाको उत्तरी आधारशिविर नजिकै पुगेका थिए।

विभिन्न ठाउँमा क्याम्प खडा गर्दै अगाडि बढ्दै टोली चौथो शिविरमा पुगे। १९ मेका दिन बिहान ८:४५ मा नै मालोरी, समरवेल, नर्टन तथा मोर्शिड नौजना भरियाका साथ विना अक्सिजन तेस्रो शिविरका लागि अगाडि बढे। दिउँसो १ बजे पुगेर पनि टेन्ट बाँधेर रातका लागि व्यवस्था मिलाए। भोलिपल्ट ५ भरिया मात्र अगाडि बढ्न तयार भए। चार आरोहीका साथ पाँच भरिया अगाडि बढे।

करिब २५ हजार फिट उचाइमा पुगेपछि टेन्ट लगाए। त्योभन्दा अगाडि जानै सकेनन्। त्यो बास बसेको ठाउँलाई उनीहरूले क्याम्प पाँच नाम दिए। २१ मेका दिन अगाडि बढेका उनीहरू असफल भएर फेरि क्याम्प पाँचमा नै राति फर्केर बास बसे।

दुई तीन दिनसम्म अगाडि बढ्ने र फर्कने क्रम रहिरह्यो। अन्ततः २७ मेका दिन बिहानै साढे ६ बजे नै जर्ज फिन्च, जेफ्री ब्रुस र नेपाली भरिया तेजवीर बुढा अगाडि बढे। तेजवीरसँग गतिलो चिसो झेल्ने कपडा पनि थिएन। तैपनि अगाडि बढिरहे। उनले विश्वको पहिलो पटक २६ हजार फिट उचाइ नाघे। उनकै सहयोगमा जर्ज फिन्च र जेफ्री ब्रुस पनि अगाडि बढे।

२७ हजार २३५ फिटमा पुगेपछि केही समस्या सुरु भयो। जेफ्री ब्रुसको अक्सिजन सिलिण्डरले काम गरेन। ब्रुस आत्तिएको देखेपछि फिन्च पनि फर्किए। तेजवीर केही अगाडि बढिरहेका थिए। सायद २७ हजार ५०० फिट उचाइसम्म पुगेका थिए। उनको कपडाले चिसो सिरेटो थाम्नै सकेन। उनको ज्याकेटहरू वाइन्ड प्रुफ थिएन। तसर्थ उनी एक्लो अगाडि बढ्न सक्ने हालत पनि थिएन। त्यसैले उनी पनि फर्किए। करिब डेढ घण्टापछि तीनै जना क्याम्प तीनका लागि फर्किए।

उनीहरूको खाना तथा अक्सिजन सकिंदै थियो। २७ तारिखमा नै जोन माकडोनल्ड केही नयाँ भरियाहरूका साथ अक्सिजन तथा खानेकुराहरू लिएर आइपुगे। जसले गर्दा सबैलाई राहत भयो। मौसम बिग्रेको हुँदा केही दिन क्याम्प तीनमा नै बस्ने निधो गरे। मौसम सुधार भएपछि जून ७ मा पुनः आरोहण प्रयास गर्ने सोचमा पर्खेर बसेका थिए। अचानक जून ३ तारिखका दिन केही भरियाहरूका साथ क्याम्प ४ तर्फ आउँदै गर्दा अचानक ठूलो आवाज सुनियो। यस्तो अशुभ आवाज लाग्यो कि नजिकै बारुद पड्किए जस्तो आभास भयो। यस्तो आवाज हिमाली क्षेत्रमा कहिल्यै नसुनेका उनीहरूका लागि अशुभ संकेत लागिसकेको थियो।

अचानक हिमपहिरोले तहसनहस बनायो। जो जसरी उम्कन सक्छ प्रयास गरे। केही समयपछि आफ्ना साथीहरूको खोजबिनतर्फ लागे। एक भरिया मुस्किलले आफूलाई हिउँले पुरिएको ठाउँबाट हातले खोस्रेर निस्कन सफल भएका थिए। अन्य पाँच जना गाडिएको अवस्थामा रहेका भरियाहरू निकाले जसमा एक जना मात्र जीवित थिए। दुई सकुशल भएकाहरू तल झर्न थालिसकेका थिए। सबै गर्दा ७ भरिया शेर्पाहरू नर्बु शेर्पा, ल्हाक्पा शेर्पा, पासाङ शेर्पा, पेम्बा शेर्पा, दोर्जे शेर्पा, टेम्बा शेर्पा तथा साङ्गे शेर्पाको निधन भयो। यस निधनले आरोहण टोलीलाई ठूलो पीडा दियो। मुश्किलले बाँचेकाहरूले आरोहण प्रयास त्याग्ने निधो गर्दै तल झरे।

यसरी सन् १९२२ को सगरमाथा आरोहण प्रयास पनि असफल भयो। दुःख र पीडाका साथ बचेका सबै आरोहण टोली अगष्ट २ तारिखका दिन दार्जीलिङ आइपुगे। क्रफोर्ड र समरवेल भने कञ्चनजंघाको अवलोकनका लागि अल्झिएका थिए। यसरी सगरमाथा आरोहणको दोस्रो प्रयास पनि असफल भयो।

२५ जनवरी १९२४ को दिन फ्रान्सको चामोनिक्स शहरमा भएको शीतकालीन ओलम्पिक खेलमा कर्णेल स्ट्रुटले सबै सगरमाथा आरोहीको प्रतिनिधित्व गर्दै स्वर्ण पदक लिए। आरोही टोलीका चार्ल्स ब्रुस, एडवर्ड स्ट्रट, जर्ज मालोरी, जर्ज फिन्च, हेनरी मोर्शिड, एडवर्ड नर्टन, टम लङ्गस्टफ, हवर्ड समरवेल, अर्थर वेकफिल्ड, जोन नोएल, जेफ्री ब्रुस, चार्ल्स मोरिस तथा कोलिन क्रफोर्ड १३ जनालाई ओलम्पिक कमिटीले स्वर्ण पदक हस्तान्तरण गर्‍यो। यसको केही समयपछि आरोहणमा प्रमुख भूमिका निभाउने नेपाली सहयोगी तेजवीर बुढाका साथ आरोहण प्रयासको समय देहान्त भएका सातै शेर्पाहरू नर्बु शेर्पा, ल्हाक्पा शेर्पा, पासाङ शेर्पा, पेम्बा शेर्पा, दोर्जे शेर्पा, टेम्बा शेर्पा तथा साङ्गे शेर्पालाई पनि स्वर्ण पदक दिने निर्णय गरियो।

यसरी ओलम्पिकको नामावलीमा स्वर्ण पदक विजेताको घोषणा गरिए पनि तेजवीर बुढाको हातमा नै स्वर्ण पदक हस्तान्तरण भने गरिएन। अन्य सात मृत शेर्पाका आफन्तले पनि स्वर्ण पदक प्राप्त गरेको देखिएन।

यस आरोहणको ९० वर्ष पुगेको अवसरमा सन् १९१२ मा बेलायती सगरमाथा आरोही केन्टन कुलले सगरमाथाको शिखरमा सात मृत शेर्पा भरियाहरूको सम्झनामा १९२४ मा प्राप्त गरेको ओलम्पिक स्वर्णपदक लैजाने निधो गरे। यसका लागि सो बेलाको स्वर्ण पदक खोज्नु थियो। केन्टन कुलले अन्ततः आरोहण टोलीमा चिकित्सकका रूपमा सहभागी एक आरोही तथा स्वर्ण पदक विजेता आर्थर वेकफिल्डको परिवारसँग स्वर्णपदक सुरक्षित रहेको थाहा पाए।

सगरमाथामा जीवन गुमाएका शेर्पाहरुले ओलम्पिक स्वर्णपदक प्राप्त गरेको ८८ वर्षपछि सन् २०१२ मा पर्वतारोही केन्टन कुलले सो स्वर्णपदक सगरमाथाको शिखरमा शेर्पाहरुको आत्मासामु प्रदर्शन गरे ।

वेकफिल्डको परिवार बेलायतबाट क्यानाडा बसोबासका लागि गइसकेका थिए। टोरन्टोमा वेकफिल्डका नातिसँग स्वर्णपदक लिने सहमति पछि कुल टोरन्टो पुगे। काठको डब्बा भित्र रेशमको कपडाले सुरक्षितसँग बेरिएको सुनको पदक हस्तान्तरण गर्दै नाति चार्ल्स वेकफिल्डले पुण्यकामका लागि बाजेको स्वर्णपदक हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे।

केन्टन कुलका लागि सो स्वर्णपदक सहजै शिखरमा लैजानु थिएन। यसका लागि पानी तथा हावा नछिर्ने विशेष किसिमको डब्बा बनाइएको थियो। सो डब्बा भित्र रेशमको रातो कपडामा पदकलाई सुरक्षितसँग बेरेर राखियो। सो डब्बालाई सुरक्षित बनाउन यसमा जीपीएस प्रणाली पनि जडान गरियो। यसका साथै तिब्बती लामाबाट प्रार्थना गर्न लगाएर लामाबाट दिइने मन्त्र उच्चारित विशेष थैलीमा सो पदक राखेर लगियो।

सन् २०१२ को मे २४ तारिखको बिहान ५:४५ मा (बेलायती समय अनुसार मध्य रात १२ बजे) सगरमाथाको शिखरमा उनी सो स्वर्णपदकका साथ पुगे। थैलीबाट स्वर्णपदक निकाल्दै विश्वलाई साक्षीका रूपमा देखाए। सगरमाथालाई देखाए। मृत सात शेर्पाको अदृश्य आत्मालाई देखाए। करिब आधा घण्टा शिखरमा स्वर्ण पदकका साथ बिताए। यो सबै दृश्य प्रत्यक्ष देखाउनका लागि विश्व प्रसिद्ध सामसुङ कम्पनीले सहकार्य गरेको थियो।

आधा घण्टा शिखरमा राखेपछि फर्किएका कुलले क्यानाडा गएर पुनः सो स्वर्णपदक चार्ल्स वेकफिल्डलाई फिर्ता दिए। यसरी सगरमाथाको चिनो सगरमाथालाई ९० वर्षपछि देखाउन केन्टन कुल सफल भए। यसका साथै सगरमाथाको हिउँमा देहत्याग गरेका लामाहरूको आत्माले पनि एकपटक आफूहरूले गरेको साहसिक कार्य बापत गरिएको उच्च मूल्यांकनको अदृश्य रूपमा अवलोकन गर्न पाए।

अन्त्यमा, आखिर तेजवीरको सगरमाथा आरोहण प्रयास पनि कता हरायो। उनको बारेमा कतै उल्लेख गरिएको भेटिंदैन। तेजवीर सगरमाथा आरोहण अभियान पछि पुरानै आफ्नो छैटौं गोर्खा राइफलमा नै फर्किए। जनरल चार्ल्स ब्रुसले उनको पदोन्नति गराइदिएका थिए भन्ने बुझिन्छ। उनी त्यो बेलाको माझकिरात अन्तर्गत ओखलढुङ्गामा जन्मिएको भन्ने उल्लेख गरिएको भेटिन्छ।

भारतीय गोर्खा सैनिकहरूको विवरणहरूमा खोजी गर्दा पनि उनको बारेमा केही भेटिएन। जीवनको उत्तरार्धमा नेपाल फर्किए वा भारतकै कुनै स्थानमा बसोबास गरे यसको पनि कुनै जानकारी भेटिएको छैन। उनको वंशज कतै न कतै त पक्कै रहेका छन् होला। उनको बारेमा परिवारलाई जानकारी हुन सक्छ। खोजी गरी नेपाल सरकारले मरणोपरान्त भए पनि उनलाई सम्मान गर्नुपर्दछ।

विश्वको सबैभन्दा अग्लो शिखरको सबैभन्दा पहिलो पटक सबैभन्दा उचाइसम्म पुग्न सक्ने वीर तेजवीर बुढालाई यसरी राज्यले बेवास्ता गर्नु र इतिहासमा समेत कतै उल्लेखसम्म नहुनु दुःखद कुरा हो। उनको बारेमा खोजी गर्ने तथा वास्तविक इतिहास सबैसामु ल्याउन खेलकुद मन्त्रालयलाई पनि आग्रह गर्न चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?