+

अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच ऐतिहासिक सम्झौता

२०८२ कात्तिक  २६ गते २२:३९ २०८२ कात्तिक २६ गते २२:३९
अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच ऐतिहासिक सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका लागि तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
  • सम्झौताअनुसार दुवै पक्षले पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानमा संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।
  • चीनको गुइझोउ प्रान्तमा सम्पन्न सम्मेलनमा ३० देशका ३५० भन्दा बढी सहभागी रहेको र दिगो पर्वतीय पर्यटन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम चालिएको छ।

२६ कात्तिक,  काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ (आईएमटीए) र एभरेस्ट एलायन्स नेपाल (इएएन)बीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदान सुदृढका लागि ‍पचारिक सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चीनको गुइझोउ प्रान्तमा आगामी तीन वर्षका लागि उक्त दुई पक्षबीच यस सम्झौता हस्ताक्षर भएको एभरेष्ट एलायन्स नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सम्झौताअनुसार दुवै संस्थाले पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन एकसाथ काम गर्ने भएका छन् ।

यस सम्झौतालाई पर्वतीय क्षेत्रहरूको संरक्षण र दिगो विकासका लागि विश्वव्यापी सहकार्यमा एउटा महत्वपूर्ण माइलस्टोन भएको र सहकार्यको ढोका खोलेको छ ।

पर्वतीय पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिँदै आएको अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो । यस्तै एभरेस्ट एलायन्स नेपाल (इएन) नेपालमा आधारित संस्था हो, जसले हिमाली क्षेत्रमा दिगो पर्वतारोहण, वातावरण संरक्षण र स्थानीय समुदाय सशक्तीकरणमा काम गर्दै आएको छ ।

दुई संस्था—बीचको सहकार्यले विस्तृत रूपरेखा तयार गर्छ । यसले सीप विकास र कार्यशालाहरू मार्फत पर्वतीय समुदायहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

सम्झौता अनुसार दुवै पक्षमा विशेषगरी चार क्षेत्रमा काम गर्नेछन् । पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन् ।

यस सहकार्यको उद्देश्य वातावरणीय संरक्षणलाई सुदृढ पार्दै जिम्मेवार पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरणीय संरक्षण र सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्नु हो । दुवै संस्थाले पर्वतीय पारिस्थितिकी प्रणालीको संरक्षण र पर्वतीय समुदायको सशक्तीकरणमा ध्यान केन्द्रित गरेका छन् ।

विश्वव्यापी रूपमा पर्वतीय स्रोतहरूको संरक्षण, सभ्यताको प्रवर्द्धन र दिगो पर्वतीय अर्थतन्त्र निर्माणमा अग्रसर रहेको आईएमटीए ले वातावरणमैत्री पर्यटन प्रवर्द्धन गर्न आफ्नो प्रतिबद्धता जनाएको छ ।

यसैगरी एभरेष्ट अलायन्स नेपालले हिमालय तथा अन्य पर्वतीय क्षेत्रहरूको संरक्षण र दिगो व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई एकीकृत गर्ने आफ्नो संकल्प पुनः व्यक्त गरेको छ ।

सम्झौता अन्तर्गत दुवै पक्षले पर्वतारोही, प्रशिक्षक, र प्रविधिक विशेषज्ञहरूको आदान–प्रदान, दिगो पर्वतारोहण र सुरक्षा व्यवस्थापन सम्बन्धी तालिम, संयुक्त उद्धार प्रदर्शन, नेतृत्व कार्यशाला, र वातावरणमैत्री अभ्यासमा आधारित बाह्य गतिविधि तालिमहरू गरी चार मुख्य क्षेत्रमा सहकार्य गर्ने सहमति गरेका छन् ।

त्यस्तै दुई संस्थाले रूपमा अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता, र दिगोपन तथा सांस्कृतिक समझदारी प्रवर्द्धन गर्ने सम्मेलनहरूमा पनि भाग लिनेछन् । यी कार्यक्रममा वातावरणमैत्री पर्वतारोहण प्रतियोगिता, दिगो साहसिक दौड, र परम्परागत पारिस्थितिक ज्ञानमा आधारित प्रदर्शनीहरू समावेश हुनेछन् ।

दुवै संस्थाले बाह्य साहसिक व्यवस्थापन, वातावरणीय जोखिम न्यूनीकरण, र दिगो पर्यटनका क्षेत्रमा अनुभव र सर्वोत्तम अभ्यास साटासाट गर्नेछन् । पर्वतारोही गाइड र क्लाइम्बिङ प्रशिक्षकहरूका लागि तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ जसले वातावरणीय सचेतना र दिगो नेतृत्व प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ ।

यस सम्झौता हस्ताक्षरले अन्तर्राष्ट्रिय सहकार्य र स्थानीय सहभागिताबीच पुलको रूपमा गतिशील साझेदारीको सुरुवात गरेको छ । इएएनको हिमालय क्षेत्रमा अनुभव र आईएमटीएको अन्तर्राष्ट्रिय प्रभावका साथ, यो सहकार्यले विश्वभरका पर्वतीय क्षेत्रहरूमा जिम्मेवार साहसिक पर्यटन र वातावरणीय संरक्षणको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

चीनको गुइझोउ प्रान्तस्थित गुइयाङ सहरमा सम्पन्न ‘इन्टरनेशनल कन्फरेन्स अफ माउन्टेन टुरिज्म एण्ड आउटडोर स्पोर्ट्स’को अवसरमा उक्त सम्झौता हस्ताक्षर गरिएको थियो । सम्मेलनको विषयवस्तु ‘संस्कृति, पर्यटन र खेलको एकीकरणले उत्कृष्ट जीवनशैली प्रदान गर्दछ’ रहेको थियो, जुन नोभेम्बर ११ मा सम्पन्न भएको हो ।

सो सम्मेलनमा ३० देश र क्षेत्रबाट ३५० भन्दा बढी सहभागिता भएका थिए । जसले दिगो पर्वतीय पर्यटन प्रवर्द्धनतर्फ एक महत्वपूर्ण कदमको रूपमा काम गरेको छ ।
सम्मेलनका क्रममा आईएमटीएले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थासँग पनि सम्झौतामा हस्ताक्षर गरेको थियो ।

त्यसैगरी, सम्मेलनमा आठवटा ‘विश्वप्रसिद्ध पर्यटन पर्वतहरू’ र छ वटा ‘अन्तर्राष्ट्रिय पर्वतीय पदयात्रा प्रदर्शन मार्गहरू’ पनि प्रस्तुत गरिएका थिए ।

उक्त कार्यक्रममा नेपालबाट नाट्टा अध्यक्ष कुमारमणी थपलियाले नेपालको पर्यटनबारे आफ्नो प्रिजेन्टेसन दिएका थिए । यस्तै कार्यक्रममा नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष इश्वरी पौडेल, नेपाल पर्वतारोहण संघका महासचिव तथा नेपाल पर्यटन बोर्डबाट बोर्ड सदस्य राजेन्द्र लामा, नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुमि लामा, नाट्टाका महासचिव युबिका भण्डारी, नाट्टाका पूर्व अध्यक्ष तथा इएएनका चिफ एडभाइजर अच्युत गुरागाईँ लगायत नेपाली पर्यटन क्षेत्रका विभिन्न संघ-संस्थाका प्रतिनिधिको पनि उपस्थिती रहेको थियो ।

यसैगरी आईएमटिएले नेपालको मुन्धुम ट्रेललाई बेस्ट हाइकिङ ट्रेलको अवार्डबाट सम्मान गरेको थियो ।

एभरेस्ट एलायन्स नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय