+
+
नालीमा बगेर बालकको मृत्यु :

ठेकेदारको लापरवाहीका कारण रविनको ज्यान गयो

अमृत सुवेदी अमृत सुवेदी
२०७९ भदौ ११ गते २२:१३

११ भदौ, पोखरा । ठेकेदार र सरकारको लापरवाहीकै कारण निर्माणधीन सडकको नालीमा खसेर शुक्रबार राति एक बालकले ज्यान गुमाएका छन् । ढक्कन नलगाइ खुलै राखिएको नालीमा बगेर सुन्दर फिडका ११ वर्षीय बालक रविन तिवारीको ज्यान गएको हो ।

म्याद गुज्रिँदा पनि सडक र नालीको काम नसकिंदा एम्बुसजस्तो बनेको सडक शुक्रबार जलमग्न थियो । सुन्दर फिडमा बस्ने रामजी तिवारीका श्रीमती सीता, छोरी सदीक्षा र छोरा रविन आफन्तकोमा तीजको दर खाएर फर्किंदै थिए । आमाको हात समाउँदै हिँडिरहेका ११ वर्षीय रविन चिप्लिएर लडे र निर्माणाधीन सडकको नालीमा परिहाले ।

घार्मीदेखि आएको भलले नाली पुरै पुरिएको थियो । पानीले जलमग्न बाटो काट्ने क्रममा रविन नालीमा खसेर हराएपछि आमा र छोरीले चिच्याए । तर, केही सीप लागेन ।

स्थानीयको सहयोगमा खोजी गर्दा २ घन्टापछिमात्र ५/७ सय मिटर तल नालीको छेऊमा रविन फेला परे । उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दीप सुन्दर फिड लामाचौर सडक खण्ड समयमै निर्माण भएर नालीको काम सकिएको भए दुखद् अवस्था नआउने वडाध्यक्ष अमृत तिमिल्सिना बताउँछन् । ‘समयमै निर्माणाधीन सडक र नाली बनेको भए उनको ज्यान जाने थिएन । सडक अस्फाल्ट गर्ने र नाली निर्माण गरेर ढक्कन (स्ल्याब) हाल्ने काम ढिलाइ भएकै कारण यो घटना घट्यो,’ वडाध्यक्ष तिमिल्सिनाले भने ।

समयमै काम सक्न सम्बन्धित निकायलाई पटक पटक खबरदारी गर्दा पनि सुनुवाई नभएको उनी बताउँछन् । सडकमा नेपाल टेलिकमले फाइबर बिछ्याउन खाल्डा खनेको छ भने पोखरामा निर्माणाधीन जाइकाको खानेपानी आयोजनाले पटक पटक सडक खनेर छोडेको छ ।

‘एकातिर सरकारी निकायमै समन्वय हुन सकेन भने अर्कोतर्फ ठेकेदारले योजना समयमै सकेन,’ वडाध्यक्ष तिमिल्सिनाले भने, ‘जसका कारण बर्सेनि कतै डुबान त कतै दुर्घटना र कतै ज्यानै गुमाइरहेका छन् ।’

सम्झौताअनुसार दीप सुन्दर फिड लामाचौर सडक खण्डको यतिबेला अस्फाल्ट भइसक्नुपर्ने थियो । ७७ साल असार मसान्तमा पोखराका मुख्य सहरी क्षेत्रसँगै यो सडक पनि अस्फाल्ट गर्न करिब ८ करोड रुपैयाँमा शिव शक्ति इन्फोसँग सडक विभागको सम्झौता भएको थियो ।

‘सुरुमा खानेपानीको आयोजनाका कारण अवरोध भयो । पछि ठेकेदार कम्पनीले काम नै नगरेपछि कालोसूचीमा राखेर कारबाही गर्ने भनेका थियौं तर केन्द्रबाटै १ वर्षका लागि म्याद थपियो,’ सडक विभागका रमेशराज पौडेलले भने, ‘अब चुनावले कुनै असर गरेन भने पुससम्म काम सक्छु भनेको छ, तर अझै भर छैन । केन्द्रबाटै ठेक्काको म्याद थपिएपछि हाम्रो केही लागेन ।’

सडक र नाला नबनेका कारण ठूलो पानी पर्‍यो कि पोखरा–१६ मा घार्की, भुनपुरेको डाँडादेखि लामाचौर हुँदै दीपसम्मै भलबाढी आइपुग्छ । ठाउँ ठाउँमा पानीको निकास नहुँदा र ठेकेदारले सडक त नालीको काम अलपत्र छोड्दा भुनपुरे, घार्मी, अकलादेवीदेखि दीपसम्मैका सडक र बस्तीमा भल होइन, नदी नै बग्ने गरेको स्थानीय पूर्णबहादुर गुरुङले दुखेको पोखे ।

ज्यान निल्ने नाली

लामाचौर क्षेत्रमा बर्खाको भेलमा परेर ज्यान गुमाउने रवीन पहिलो होइनन् । २०७४ कात्तिकमा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै मोटरसाइकलसहित नालीमा खसेका १८ वर्षीय पिजन पुन बेपत्ता भए । ढक्कन खुलै भएको नालीमा परेर बगेका पुनको मोटरसाइकल भेटियो, तर उनको अत्तोपत्तो भएन ।

त्यसको अघिल्लो साल गण्डकी बोर्डिङ स्कुलका प्रशासक कृष्ण थापाले पनि नालीमै बगेर ज्यान गुमाए । अघिल्लो दिन नालीमा खसेका थापाको भोलिपल्ट शव फेला परेको थियो । गत साल पनि १२ वर्षीया बालिका सुन्दर फिड लामाचौर सडक खण्डको नालीमा खसिन् । सोही सडक खण्डमा चल्ने सार्वजनिक बसका सहचालकले देखेर उनलाई बचाए ।

‘हिजोमात्र ४÷५ वटा मोटरसाइकल लडेर अस्पतालै भर्ना हुनुपर्‍यो,’ स्थानीय गुरुङले भने, ‘स्ल्याब नहालिएकै कारण नालीले रामजी तिवारीको छोरालाई निल्यो । स्ल्याब हालिदिन माग गर्दै डेलिगेसन जाने तयारी गर्दै थियौं तर शुक्रबार राती नै बच्चाको ज्यानै गयो ।’

एकातिर ठेकेदारले बनाएको नाली पनि भत्किइसकेको छ भने निर्माण गरेको नालीमा स्ल्याब हाल्न स्थानीयले वडादेखि सांसदसम्मलाई खबरदारी गरेका थिए । शुक्रबार भएको घटना र यसअघि ज्यान गुमाएको व्यक्तिहरुको जिम्मेवार पनि सरकारै भएको गुरुङको आक्रोश छ ।

गुरुङका अनुसार यसअघि पनि पानी कटाउन पटक पटक स्थानीयले दबाब दिएका थिए । २०६७÷०६८ सालतिर गण्डकी बोर्डिङ स्कुल नजिकैबाट पानी कटान गर्ने व्यवस्था गरिएको थियो । पछि इन्जिनियर क्याम्पस हुँदै दीप हाउजिङतिरबाट सेतीमा झारिन्थ्यो । ‘त्यो बेला स्थानीयले समेत पैसा उठाएर पानी कटान गर्ने व्यवस्था मिलाइएको थियो । पछि गण्डकी स्कुल र इन्जिनियरिङ क्याम्पसले पनि पानी कटान गरेर फाल्न दिएन,’ गुरुङले भने, ‘जसका कारण बर्सेनि भलपानीमा मान्छे बगिरहेको छ ।’

ठेकेदारको लापरबाही, सरकारकै छैन समन्वय

एकातिर ठेकेदारको लापरबाहीले सडक र नालीको काम समयमा नसकिँदा स्थानीयले सास्ती खेपेका छन् भने अर्को सरकारबीच नै समन्वय नहुँदा पोखरा–१६ वासीले दुःख पाइरहेका छन् ।

सडक विभागका इन्जिनियर पौडेलका अनुसार सरकारी कार्यालयकैबीच समन्वय नभएको स्वीकार गर्छन् । ‘अहिले पनि टेलिकमले सडक खनिरहेको छ । त्यसले पनि समस्या निकालिरहेको छ । खनिएको सडक पिच गर्नभन्दा आफूहरुले महानगरलाई १४ लाख रुपैयाँमा सम्झौता गरेको टेलिकमले बताउँछ,’ पौडेलले भने ।

सडक विभाग, खानेपानी संस्थान, नेपाल टेलिकम, वडाबीच समन्वयन नहुँदा कसरी आयोजना प्रभावित हुन्छ र त्यसको मारका जनता कसरी पर्छन् भन्ने उदाहरण हेर्न सुन्दर फिड लामाचौर सडक हेरे पुग्ने स्थानीयको भनाइ छ ।

पोखरा–१६ को अहिलेको सबैभन्दा ठूलो समस्या बर्खाको भल र यही सडकखण्ड भएको वडाध्यक्ष तिमिल्सिना बताउँछन् । पानी तर्काउने योजनाकै लागि गण्डकी प्रदेश सरकारले यसपालीको बजेटमा ५ करोड रुपैयाँ बिनियोजन पनि गरेको तिमिल्सिनाले बताए ।

यसअघि तत्कालीन वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजीकरण समिति बनेको थियो । अकलादेवी मन्दिरनेरबाट, कराएँ चौताराबाट र अर्को वडा कार्यालय १९ देखि पानी कटान गर्ने गरी डिपिआर पौडेलको भनाइ थियो ।

‘गण्डकी बोर्डिङ स्कुलबाट पनि पानी फाल्नै पर्नेछ, इन्जिनियर अध्ययन संस्थाननेरबाट पनि फाल्नुपर्छ, मध्यम पथबाट पनि फाल्नेबित्तिकै धेरै भल कम भइहाल्छ,’ पौडेलले भने, ‘अहिलेसम्म सरकारबीच मै समन्वय पनि भएन । शुक्रबारको घटना ठेकेदारकै लापरबाही नै हो ।’

शुक्रबारको घटनापछि अहिले स्थानीयले सुन्दर फिड सडक खण्ड अवरुद्ध गरेका छन् । अस्फाल्ट र नाली बन्ने ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?