+
+

राष्ट्रपतिलाई कांग्रेसको आश्वासन : अर्को नागरिकता विधेयकमा तपाईंको सन्देशलाई ध्यान दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १८:०९

१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रपतिलाई अर्को नागरिकता विधेयक ल्याउँदा लैंगिक समानता र वैवाहिक अंगीकृतको मुद्दा सम्बोधन गर्ने वचन दिएको छ ।

संघीय संसदले पास गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन् । विधेयक फिर्ता गर्दा पठाएको सन्देशमा प्रादेशिक पहिचान र लैंगिक समानता नभएको तथा अंगीकृत नागरिकताबारे स्थायी समाधान खोज्नुपर्ने भनिएको छ ।

तर सत्तारुढ गठबन्धनको निर्णयअनुसार प्रतिनिधिसभामा २ भदौमा हुबहु पास गरेको छ । राष्ट्रियसभाले भने विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाका अध्यक्षको अडानका कारण समितिमा पठाउन सहमत भएको सरकारको तयारी भने छिटो छलफल सकेर राष्ट्रियसभामा हुबहु पास गर्ने तयारी छ ।

यही बेला राष्ट्रपतिले भने संसदमा रहेका दलहरुसँग भेटवार्ता तीव्र बनाएकी छन् । शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले सोमबार कांग्रेस नेताहरुलाई बोलाएकी थिइन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई लिएर शीतल निवास पुगेका थिए । सम्वादका क्रममा राष्ट्रपतिले दलहरुसँग छलफल गर्ने विगतकै परम्परा भएको र त्यसअनुसार छलफल गर्न चाहेको बताएकी थिइन् ।

नागरिकता विधेयकबारे चासो राखेकी उनले आफ्नो सन्देशबारे छलफल नभएकोमा असन्तुष्टि जनाइन् । ‘उहाँले सहमतिका लागि प्रयास हुन्छ होला भने अपेक्षा थियो भन्नुभयो’, भेटमा सहभागी कांग्रेसका एक नेताले बताए ।

जवाफमा कांग्रेस सभापति देउवाले राष्ट्रपतिले संविधानभित्रै रहेर नागरिकता विधेयक फिर्ता गरेकाले आफूहरुको कुनै गुनासो नभएको बताए । तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने दोहोरो भूमिका खेलेको उनको आरोप छ । उनले भने, ‘पूर्वप्रधानमन्त्री ओलीजीले जुन अध्यादेश ल्याउनुभएको हो, मैले त्यही ल्याएको हो । उहाँले राष्ट्रपतिको समर्थन गर्नु भनेको डबल स्ट्याण्डर्ड हो ।’

विधेयक नहुँदा ६-७ लाख रुपैयाँ नागरिक नागरिकताविहीन भएकाले हतार गर्नुपरेको तर्क थियो ।

महामन्त्री गगनकुमार थापाले पनि जन्मसिद्धका सन्तानलाई नागरिकता दिलाउन अरु विषयलाई थाती राखेर नागरिकता विधेयक संशोधन गर्न खोजिएको बताएका छन् ।

‘भविष्यमा नागरिकता विधेयक बनाउनुपर्छ । कांग्रेसको तर्फबाट आस्वस्त गर्छौं कि राष्ट्रपतिज्यूको सन्देशले त्यो बेलालाई मार्गनिर्देशित गर्छ’ उनले भने, ‘जन्मसिद्धका सन्तानका नागरिकता दिलाउन संशोधन गर्न चाहेको हो । अरु थाति राखेका हो ।’ लैंगिक समानताको मुद्दा सम्बोधन गर्न भने संविधान नै संशोधन गर्नुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?