+
+

स्वर्णिम भन्छन् : चितवनमा उठ्ने मेरो लामो समयदेखिको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते २०:३९

१४ भदौ, काटमाडौं । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले चितवन- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने चाहना व्यक्त गरेका छन् । यसका लागि आफूले पहिलेदेखि नै तयारी गरेको भन्दै उनले प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न वाग्लेसँगै चितवन-१ मा कांग्रेसबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले आवेदन दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेले भने आफूलाई गोरखा नछाड्न कार्यकर्ताहरुको जोड रहे पनि गठबन्धनको समीकरण आदिका कारण चितवन आउने परिस्थिति बनेको बताए । ‘म ४० वर्षयता चितवनमै छु, गोरखा छाडेपछि हाम्रो परिवार चितवनमै रह्यो, त्यसैले म यहाँका दाजुभाइ दिदीबहिनीका लागि नयाँ होइन’, उनले अनलाइनखबरसँग भने, ‘सुरेन्द्र पाण्डे र स्वर्णिम वाग्लेको प्रतिस्पर्धा एक दिन हुनेछ भन्ने चर्चा हुने गरेकै कुरा हो ।’

टिकटका अर्का दाबेदार सहयात्री अर्थशास्त्री विश्व पौडेलसँगको सम्बन्धबारे भने वाग्ले टिप्पणी गर्न चाहेनन् । उनीहरु आपसमा सल्लाह गर्दै क्रमशः अष्ट्रेलिया तथा अमेरिकाबाट नेपाल फर्केका थिए । वाग्लेका केही निकटहरुले भने उनलाई नेतृत्वमा आउनबाट रोक्नकै लागि पौडेललाई उठाउन खोजिएको बताउँछन् । तर वाग्ले नजिककै एक नेताले भने पौडेलले चितवनमा पनि चुनाव लड्न केही समयदेखि सुषुप्त तयारी गरिरहेको अनलाइनखबरलाई बताए ।

वाग्लेले भने चितवनबाहेक अन्यत्रबाट उम्मेदवारी दिने सम्भावना नरहेको भन्दै पार्टीले उपयुक्त निर्णय गर्नेमा आशावादी रहेको बताए । यूएनडीपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार रहेका उनी सक्रिय राजनीति गर्न भनेर नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?