+
+

राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ७:२८

१६ भदौ, काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउँछन् । ‘पार्टीले अध्यक्षलाई जिम्मा दिएको हो, उहाँले नै कुराकानी गरिरहनुभएको छ’, श्रेष्ठ भन्छन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने कुराकानी भइरहे पनि २२ भदौ अगाडि यसबारे कुनै निर्णय नहुने बताउँछन् । ‘तलबाट आएको सिफारिस हेरेपछि थप निर्णय हुन्छ, त्यसअघि केही हुन्न’, उनी भन्छन् ।

चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पनि ओलीसँग भेटेका थिए । दुवैतिरका नेताहरू तालमेल हुनेमा बढी विश्वस्त छन् । त्यसको कारण भने सत्तारुढ दलहरुले गठबन्धन गरेकाले एमाले र राप्रपा दुवैलाई तालमेलको खाँचो छ ।

अझ अध्यक्षद्वय ओली र लिङ्देन दुवैले झापामा चुनाव जित्न एकअर्काको मत चाहिने भएकाले पनि तालमेलको सम्भावना बढी छ । राष्ट्रिय रुपमै पनि तालमेल गर्न अरु बलियो दल बाँकी छैन । स्थानीय चुनावमा वीरगञ्ज महानगरसहित केही स्थानमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगै नजिकिएको छ ।

तर राप्रपासँग तालमेल गर्दा एमालेका केही प्रभावशाली नेताहरू समस्यामा पर्ने देखिन्छन् । किनकि राप्रपाको जनमत राम्रो भएको र ठूला नेता रहेको निर्वाचन क्षेत्रमा दाबी गर्ने पक्का छ । ०७४ मा पनि राप्रपाले नेपाली कांग्रेससँग त्यस्तै गरेका थिए ।

तालमेलको अप्ठ्यारो

तालमेल गर्दा राप्रपाले १५ देखि २० सिटसम्म एमालेसँग माग्ने तयारी गरेको छ । त्यसरी दाबी गर्दा अध्यक्ष लिङ्देन प्राथमिकतामा पर्ने नै भए । उनी झापा–३ बाट चुनाव लड्दै आएका छन् । ०७४ मा पनि वाम गठबन्धनको समर्थनमा लिङ्देनले यही क्षेत्रबाट कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । यसपटक तालमेल हुँदा झापा–३ लिएर बाँकी क्षेत्रमा एमालेलाई समर्थन गर्नेछन्, त्यसको लाभ झापा–५ बाट ओलीले पाउनेछन् ।

तर राप्रपाले दाबी गर्ने अन्य क्षेत्रमा पनि एमाले नेतृत्वलाई आफ्नै नेता मनाउन सजिलो पर्ने देखिँदैन । मंगलबार मात्रै मोरङ–३ बाट राप्रपाले रेखा थापाको नाम सिफारिस गरेको छ । पार्टी महामन्त्री पदमा कुन्ती शाहीसँग पराजित थापा राप्रपाभित्र प्रभाव राख्ने नेतामा पर्छिन् । तर उनलाई मोरङ–३ एमालेले छोड्न सजिलो छैन ।

यो क्षेत्रबाट ०७४ को चुनावमा भानुभक्त ढकालले जितेका थिए । ढकाल ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहे । ओलीलाई लगातार साथ दिने नेतामा पर्छन्, ढकाल ।

राप्रपाबाट चुनाव लडिरहने अर्का नेता पशुपति शमशेर राणा हुन् । उनी पञ्चायतकै अवधिदेखि सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका छन् । ०७४ को चुनावमा उनी सिन्धुपाल्चोक–२ बाट उम्मेदवार थिए । कांग्रेसको समर्थनमा उम्मेदवार रहेका राणा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसँग पराजित भए ।

तामाङले ०७० मा पनि राणालाई पराजित गरेका थिए । ०६४ को चुनावमा पनि राणा भन्दा तामाङले धेरै मत ल्याएपनि माओवादीका दावा लामाले जितेका थिए । ०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एउटा समूह बाहिरिँदा र ०७७ मा एमाले विभाजन हुँदा पार्टी नेतृत्वलाई साथ दिएका कारण तामाङलाई पञ्छाएर राणालाई टिकट दिनु एमालेलाई सजिलो छैन ।

राप्रपा नेता दीपक बोहरा व्यवस्थापन गर्न पनि एमाले नेताहरुले त्याग गर्नुपर्ने देखिन्छ । ०७४ को चुनावमा रुपन्देही–२ मा बोहरा एमालेका तत्कालीन उपमहासचिव घनश्याम भूसालसँग पराजित भएका थिए । तर एमाले र राप्रपाबीच तालमेल भएमा र बोहराले यही क्षेत्र रोजे, भूसालले छोड्नुपर्ने हुन्छ ।

तर गएको स्थानीय चुनावमा रुपन्देही–१ र २ मा पनि राप्रपाले राम्रो मत पाएको छ । यदि बोहराले यसमध्ये एउटा क्षेत्र रोजेमा त्यसको असर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव छविलाल विश्वकर्मालाई पर्नेछ । विश्वकर्मा रुपन्देही–१ र पौडेल रुपन्देही–२ बाट जितेका थिए ।

अघिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित विक्रम पाण्डे यसपटक पनि आकांक्षी छन् । चितवन–३ मा पाण्डेको प्रभाव राम्रो भएकाले त्यही क्षेत्र एमालेसँग माग गर्नेबारे स्वभाविक अनुमान गर्न सकिन्छ । तर पाण्डेलाई यो क्षेत्र छोड्दा एमालेबाट आकांक्षी रहेका देवी ज्ञवालीसहित नेताहरु टिकट पाउनबाट बञ्चित हुनेछन् ।

नुवाकोटमा राप्रपा नेता प्रकाशचन्द्र लोहनीले दाबी गर्ने सम्भावना छ । नुवाकोट एमाले उपमहासचिव विष्णु रिमालको जिल्ला हो । तर अहिलेसम्म उनी चुनाव नलडेकाले राप्रपासँग तालमेल हुँदाको असर हालका सांसद नारायण खतिवडालाई पर्न सक्छ ।

राप्रपाका शीर्ष नेता धवल शमशेर राणाका निम्ति बाँके–२ छोड्दा एमालेले पशुपति दयाल मिश्रलाई मनाउनुपर्ने हुन्छ । ०७४ मा मोहमम्द इस्तियाक राईसँग मिश्र पराजित भएका थिए । त्यसबेला सूर्य चिह्नबाट उम्मेदवारी दिए पनि मिश्र एमाले थिएनन् । तर अहिले एमालेमै प्रवेश गरेका छन् । यदि यो क्षेत्र धवललाई छोड्नुपरे मिश्र समस्यामा पर्नेछन् ।

तुलनात्मक राम्रो प्रभाव रहेको राजधानी काठमाडौंमै पनि राप्रपाले दाबी गर्ने तयारी गरेको छ । काठमाडौं–४ मा राप्रपाको बढी जोड छ । आफ्नो जनमत राम्रो रहेकाले एमालेको समर्थन यही क्षेत्रमा हुनुपर्ने राप्रपाका नेताहरु बताउँछन् ।

तर यो क्षेत्र राप्रपालाई दिएमा एमाले नेता राजन भट्टराईले त्याग गर्नुपर्ने हुन्छ । ०७४ को चुनावमा भट्टराई कांग्रेस महामन्त्री गगन थापासँग पराजित भएका थिए । यसपटक पनि उम्मेदवार बन्ने तयारीमा भट्टराई छन् ।

यसबाहेक राप्रपा महामन्त्री कुन्ती शाही दैलेख–२ बाट उम्मेदवार बन्ने चाहनामा रहेको बताइन्छ । कर्णाली प्रदेशमै दैलेखमा एमालेका प्रभाव राम्रो रहेकाले राप्रपालाई छोड्ने पक्षमा स्थानीय नेताहरु देखिदैनन् ।

तर गएको स्थानीय चुनावमा चार स्थानीय तहका प्रमुख र ६२ वडाध्यक्ष जितेको राप्रपासँग तालमेल गर्नु एमालेका निम्ति क्षति कम गराउने बाँकी विकल्प देखिन्छ । राप्रपा पनि एमालेसँग तालमेल गरेर राष्ट्रिय पार्टी बन्ने चाहनामा छ ।

०७४ को चुनावमा वाम गठबन्धनको समर्थनमा लिङ्देनले प्रत्यक्षतर्फ जिते पनि समानुपातिक तर्फ तीन प्रतिशत मत पुर्‍याउन सकेको थिएन । यसपटक भने राप्रपा थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय दल बन्ने तयारीमा छ । गएको स्थानीय चुनावमा राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत संख्या साढे तीन लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?