+
+
राष्ट्रिय खेलकुदमा एनआरएन :

गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने प्रयास

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ भदौ १६ गते ७:४३

१६ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नेपाली खेलकुदको मूलधारमा समावेश गरिएको चार वर्ष भयो । विदेशमा बसिरहेका नेपाली र तिनका दोस्रो पुस्तालाई नेपाली खेलकुदमा आकर्षित गर्ने लक्ष्य तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वको थियो ।

आठौं राष्ट्रिय खेलकुदमा थोरै खेलमा सहभागी भएको एनआरएनए टिमले आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि दायरा फराकिलो बनाएको छ ।

नवौं राष्ट्रियमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश हुँदा एनआरएनए टिमले २० खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।

गैरआवासीय नेपालीको दोस्रो पुस्ताको नेपाल साइनो कमजोर हुँदै जानु संस्थाको नेतृत्वका लागि ठूलो चिन्ता हो । संसदमा विचाराधीन नागरिकता विधेयक लागू भएको अवस्थामा उनीहरुले राहत महशुस गर्नेछन् । नागरिकता विधेयकले एनआरएनएका नयाँ पुस्तालाई नेपाली नागरिकको पहिचान दिने उल्लेख गरिएको छ ।

नयाँ पुस्तालाई नागरिकतासँगै भाषा, संस्कृति र खेलकुदको माध्यमबाट नेपालसँग जोड्ने प्रयास भइरहेको छ । खेल संस्कृतिबाट देश चिनाउने लक्ष्यसहित २०७६ असोजमा एनआरएनए स्पोर्टस एकेडेमी स्थापना भएको हो । आठौं खेलकुदमा सहभागिता र सफलताबाट हौसिएको एनआरएनएले आफ्नो खेलकुद च्यानललाई संस्थागत गरेको हो ।

‘हामी विदेशमा रहेका नेपाली खेलाडीको सीपलाई नेपाली खेलाडीमाझ साझा गर्न चाहन्छौं,’ नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनए टिम संयोजक जीवन सेनले अनलाइनखबरसँग भने, ‘विदेशी शैलीको प्रशिक्षण, समन्वय क्षमता र अनुशासन नेपाली खेलाडीका लागि उपयोगी बन्नसक्छ ।’

लामो समयदेखि बेलायतमा बसोबास गरिरहेका पूर्व राष्ट्रिय कराँते खेलाडी सेनका अनुसार एनआरएनएले यसपल्ट २० खेलका अरिकर १८१ जना खेलाडीलाई नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउनेछ । तीमध्ये आधाभन्दा बढी खेलाडी दोस्रो पुस्ताका हुनेछन् । विदेशमै जन्मे/हुर्केर त्यहीँको परिवेशबाट खेलकुदलाई अगाडि बढाइरहेका युवा पुस्ताका लागि नेपाली खेलकुद चिन्ने र आफूलाई चिनाउने अवसर पनि हुनेछ ।

‘वास्तवमा एनआरएनएको दोस्रो पुस्तालाई नेपालको सामिप्यमा ल्याउन खेलकुदको माध्यमबाट हामीले प्रयास गर्न लागेका हौं । यसबाट दुवै पक्षले फाइदा लिनसक्छन्,’ सेनले भने ।

नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनए टिम संयोजक जीवन सेन

नवौं राष्ट्रिय खेलकुदका लागि यसरी गरियो छनोट

तत्कालीन प्रदेश ५ (लुम्बिनी) आठौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो, कराँते, बक्सिङ, लन टेनिस, जुडो र पौडी खेलमा एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पौडीका नाथान दोर्जे शेर्पा एक्लैले ५ स्वर्ण जितेका थिए । लनटेनिसमा संरक्षक भूषण बज्राचार्यको स्वर्णसमेत गरी एनआरएनए टिमले समग्रमा ६ स्वर्ण, २ रजत र ५ कांस्य जितेको थियो ।

असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद हुनेछ । त्यहाँ सात प्रदेशका टिम सहभागी हुनेछन् । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबजस्तै विभागीय टिमको हैसियदमा एनआरएनएले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछ ।

एनआरएनले खेलकुदमा लगानी र सम्बन्ध विस्तारका लागि एकेडेमी नै स्थापना गरेपछि नवौं खेलकुददेखि सहभागिताको दायरा फराकिलो भएको छ । एनआरएनएले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, बुद्धिचाल, क्रिकेट (पुरुष), फुटबल (पुरुष), फुल कन्ट्याक्ट कराँते, गल्फ, जुडो, भलिबल (पुरुष र महिला), कराँते, लनटेनिस, पौडी, रग्बी, सफ्टटेनिस, तेक्वान्दो र टेवलटेनिसको सहभागिता निश्चित गरिसकेको छ । उसुको टिम निश्चित हुन बाँकी रहेको एनआरएनए टिमका प्राविधिक कमिटी प्रमुख स्वयम्भूराज डंगोलले जानकारी दिए ।

एनआरएनए खेलकुद एकेडेमीले संसारभरका आफ्नो सन्जाल प्रयोग गरी खेलाडी छनोट प्रक्रिया सन्चालन गरिरहेको छ । अघिल्लो संस्करणमा एकल खेलमा मात्र सहभागिता जनाएको यो टोलीले यसपल्ट क्रिकेट, भलिबल (महिला र पुरुष), बास्केटबल र फुटबल टिमलाई पनि समावेश गराउँदैछ।

विश्वभर ८० भन्दा बढी देशमा एनआरएनएको सन्जाल छ । स्पोर्टस एकेडेमीले सबै देशमा पत्राचार गरी खेलाडी छनोटको प्रक्रिया सुरु गरेको थियो । ‘नेपालका खेल संघहरुलाई पनि आफ्ना खेलाडी कहाँ कहाँ छन् भन्ने जानकारी हुने रहेछ । धेरैजसो खेलाडी पहिचानमा उनीहरुले हामीलाई सहयोग गरे,’ संयोजक सेनले भने ।

फरक फरक देशका खेलाडीबीच छनोट गर्नका लागि एकेडेमीले भिडियोमार्फत प्रारम्भिक छनोट प्रणाली अपनाएको थियो । आफूले प्रशिक्षण गरेको र प्रतियोगिता खेलेको भिडियो पठाउनुपर्ने थियो । एकेडेमीको प्राविधिक टिमले खेलाडी छनोटका लागि मुख्य आधार त्यही भिडियोलाई बनाएको छ । एउटा खेलको एउटै विधामा एकभन्दा बढी खेलाडीको दावी रहेको अवस्थामा भने दुवैको अनुभव, उमेर, उपलब्धी र अनुशासनलाई आधार मानिएको सेनले जानकारी दिए । ‘यो आधारमा पनि खेलाडीहरु समान देखिएमा उनीहरुलाई नेपालमा बोलाएर छनोट खेल खेलाउने भनेका थियौं,’ सेनले थपे, ‘तर, यसपल्ट त्यसो गर्नु परेन ।’

संयोजक सेनले यसपल्ट राष्ट्रिय खेलकुदमा बेलायत, अमेरिका, पोर्चुगल, मलेसिया, युएई, कतारका खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । कोरोना महामारीका कारण लागू गरिएको स्वास्थ्य सुरक्षा मापदण्डका कारण हङकङ, चीन, सिंगापुर र मकाउका खेलाडीलाई समावेश गर्न नसकिएको उनको भनाई छ । खेलाडीहरुको नाम दर्ता गर्ने क्रम जारी रहेकाले कति देशबाट खेलाडी सहभागी हुन्छन् भनेर सेनले बताउन सकेनन् ।

सामूहिक खेलको सवालमा भने एउटै टिम बनाएर खेलिरहेकालाई प्राथमिकता दिने र सोही टिमबाट धेरैजसो खेलाडी राख्दा टिम समन्वयमा सहज हुने अपेक्षा एकेडेमीको छ । ‘जस्तै बेलायतमा एनआरएनले टिम बनाएर नियमित भलिबल खेलिरहेको छ भने सोही टिमबाट धेरैजसो खेलाडी राख्ने र केहि उत्कृष्ट खेलाडी अन्य देशबाट पनि मिसाउने गरी टिम छनोट प्रभावकारी हुन्छ भन्ने सोच हो,’ सेनले भने ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल भदौ २२ गतेदेखि काठमाडौंस्थित त्रिवि मैदानमा सन्चालन हुनेछ । त्यसका लागि एनआरएनए टिमका खेलाडीहरु आउने क्रम सुरु भएको छ । एनआरएनए क्रिकेट टिमको कप्तानी सुनम गौतमले गर्नेछन् ।

एनआरएनए टिमले यसपल्ट विभागीय टिमलाई चुनौति दिने गरी तयारी भइरहेको बताएको छ । ‘हामीले पूर्व खेलाडीदेखि नयाँ पुस्ताका खेलाडीलाई समावेश गरेका छौं । यसपल्ट हामी विभागीय टिमसँग प्रतिस्पर्धामा हुनेछौं । हामी व्यवसायिक र आत्मविश्वासी छौं,’ संयोजक सेनले भनेका छन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनए टिमका खेलाडी नेपाल ओर्लिएपछिको सबै खर्च एनआरएनएकै हुनेछ । खेलाडी आउने देशको राष्ट्रिय समन्वय परिषदले नै हवाइ टिकटको व्यवस्था गर्नेछ । नेपाल आएपछि उनीहरुको बासोबार, खाना र प्रशिक्षण तथा किटको जिम्मेबारी एनआरएन स्पोर्टस एकेडेमीले गर्नेछ । राखेपले टिम तयारीका लागि दिएको ९ लाख बाहेक बाँकी एनआरएनकै बजेटबाट खर्च हुने सेनले बताए । उनले भने, ‘टिम तयारी र व्यवस्थापनका लागि करिव पाँच करोड खर्च हुने अनुमान छ ।’

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?