+
+

राष्ट्र बैंकको कडाइपछि २४ प्रतिशतले घट्यो मार्जिन कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १९:२०

१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् ।

एक वर्षमा नै मार्जिन प्रकृतिको सेयर धितो कर्जा २४.२५ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा १ खर्ब ६ अर्ब २८ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७८/७९ को अन्तिममा आउँदा ८० अर्ब ५० करोड ८० लाखमा झरेको छ ।

२०७७ असारमा ५० अर्ब ४१ करोड रहेको यस्तो कर्जा आर्थिक वर्ष २०७७/७८ मा शतप्रतिशत भन्दा बढीले वृद्धि भएको थियो । कोभिडसँगै बैंकिङ प्रणालीमा भएको अधिक तरलताले लगानीको अन्य विकल्प नभएर सेयरमा लगानी बढाएका बैंकहरुले राष्ट्र बैंकको कडाइसँगै त्यसलाई घटाउँदै लगेका हुन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिव्यक्ति अधिकतम १२ करोड र एक बैंकबाट ४ करोडको सीमा लगाएको थियो । यस्तै मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षामा २०७९ असारबाट लागु हुने गरी मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुयाएको छ ।

एकातिर कर्जामा सीमा तोकेको केन्द्रीय बैंकले प्राथमिक पुँजी कोषको समस्यामा रहेका बैंकहरुलाई जोखिम भार बढाउँदा त्यसले झनै दबाब बढाएको थियो । त्यसैले गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जा क्रमशः घटाउँदै लगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

वाणिज्य र विकास बैंकले घटाउँदा फाइनान्सले बढाए

लगानीमा रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामध्ये वाणिज्य बैंकहरुको ६४ अर्ब ८१ करोड ९० लाख रहेको छ । २०७८ असार मसान्तमा ९० अर्ब ९२ करोड रहेकोमा गत आर्थिक वर्ष २६ अर्ब १० करोड २० लाख अर्थात् २८.७१ प्रतिशतले घटेको छ ।
विकास बैंकहरुले पनि मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् । २०७८ असारमा १२ अर्ब ५२ करोड ८० लाख रुपैयाँ मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेकोमा २०७९ असारमा आउँदा ११ अर्ब ७७ करोड ३० लाख रुपैयाँमा झरेका छन् ।
फाइनान्स कम्पनीहरुले भने मार्जिन प्रकृतिको कर्जा बढाएका राष्ट्र बैंकको तथ्यांक छ । २०७७ असार मसान्तमा २ अर्ब ८३ करोड ३० लाख लगानी गरेकोमा २०७९ असारमा आउँदा बढाएर ३ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कुल लगानीमा रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामध्ये १ करोड वा सोभन्दा माथिको ४६ अर्ब ५७ करोड ५४ लाख रहेको छ । त्यस्तै ५० लाखदेखि १ करोडसम्मको १० अर्ब ५६ करोड ३ लाख, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १५ अर्ब २० करोड ८ लाख र २५ लाखभन्दा साना कर्जा ८ अर्ब १७ करोड १४ लाख रहेको छ ।

कतिसम्म लगानी गर्न सकिन्छ ?

बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था छ । यस्तो कर्जा लगानी गर्दा प्राथमिक पुँजी भन्नाले ठीक अघिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजी सम्झनुपर्ने उल्लेख छ । उक्त सीमाभन्दा बढी कर्जा प्रवाह भएमा कर्जा बराबरको रकम इजाजतपत्र प्राप्त संस्थाले प्राथमिक पुँजीकोषबाट घटाउनु पर्ने व्यवस्था गरेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा उल्लेख छ ।

२०७९ असार मसान्तमा वाणिज्य बैंकहरुको प्राथमिक पुँजी ६ अर्ब १८ अर्ब ८० करोड छ, जसको ४० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ । लगानीमा रहेको कर्जा भने त्यसको तुलनामा तलै रहेको छ ।

गत आर्थिक वर्षबाट मार्जिन प्रकृतिको सेयर धितो कर्जामा कडाइ गरेको राष्ट्र बैंकले चालु आर्थिक वर्षमा भने साना कर्जा सीमामा केही लचक देखिएको छ । २०७९ असारबाट लागु हुने गरी १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत जोखिम भार पुर्याएको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २५ लाखसम्मको कर्जामा भने जोखिम भार घटाएर पुनः १०० प्रतिशत नै कायम गरेको छ ।

‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुँदा नम्बर १०० मा भनिएको छ । साना लगानीकर्ताको संरक्षणको लागि उक्त नीति लिएको राष्ट्र बैैंकको दाबी छ । बैंकिङ स्रोतमा पहुँच सीमित व्यक्तिमा भन्दा पनि बढीभन्दा बढी व्यक्तिले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले उक्त नीति लिएको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख प्रकाश कुमार श्रेष्ठ बताउँछन् ।

यस्तै मार्जिन कर्जा सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो कर्जासम्बन्धी व्यवस्था हटाउने श्रेष्ठले बताए । मौद्रिक नीतिले नै सेयर ब्रोकरमार्फत यस्तो कर्जा नियमित र व्यवस्थित भएपछि उक्त कर्जाको व्यवस्था नै हटाउन उल्लेख गरेको भन्दै त्यसको लागि राष्ट्र बैंक तयार रहेको उनको भनाइ छ ।

कुन बैंकको मार्जिन कर्जा कति ?

२०७९ असार मसान्तसम्म वाणिज्य बैंकमा मार्जिन प्रकृतिको सेयर धितो कर्जा ६४ अर्ब ८१ करोड ९० लाख रहेकोमा सबैभन्दा धेरै नबिल बैंकको छ । बैंकले सेयर धितोमा करिब ७ अर्ब ६२ करोड मार्जिन कर्जा प्रवाह गरेको छ । २०७८ असार मसान्तमा ६ अर्ब मार्जिन कर्जा लगानी गरेको बैंकले गत आर्थिक वर्षमा नेपाल बंगलादेश बैंकलाई गाभ्दा उक्त बैंकको कर्जा पनि नबिलमा नै देखिंदा बैंकको मार्जिन कर्जा बढेको देखिन्छ । २०७८ असारमा नेपाल बंगलादेश बैंकले २ अर्ब २६ करोड ७७ लाख मार्जिन कर्जा लगानी गरेको थियो ।

नबिलपछि ग्लोबल आईएमई बैंकले करिब ५ अर्ब मार्जिन कर्जा लगानी गरेको छ । २०७८ असारमा ७ अर्ब १४ करोड ४० लाख मार्जिन कर्जा लगानी गरेको थियो ।

२०७८ असारमा ५ अर्ब ३ करोडभन्दा बढी मार्जिन कर्जा लगानी गरेको एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा उक्त कर्जा १ अर्ब ९२ करोडमा घटाएको छ । यस्तै एभरेष्ट बैंकले पनि २ अर्ब ७० करोडबाट ७४ करोडमा घटाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी नगर्दा २०७८ मा नेपाल एसबीआई बैंकले लगानी नगरेको भए पनि गत असार मसान्तमा आउँदा बैंकले ३ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै माछापुच्छ्रे बैंकले ६६ करोडबाट बढाएर १ अर्ब ५ करोड पुर्याएको छ । कृषि विकास बैंकले पनि २६ करोडबाट बढाएर १ अर्ब १७ करोड पुर्याउँदा अरु बैंकको भने यस्तो कर्जा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?