+
+

साफ महिला च्याम्पियनसिपमा नेपालको इतिहास : नजिक पुगेर पनि उपाधिमा असफल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ १७ गते १७:१४
प्रतियोगिताको तयारीमा रहेका खेलाडी ।

१७ भदौ, काठमाडौं । नेपाली महिला फुटबल टिमले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता दक्षिण एसियाली स्तरीय साफ च्याम्पियनसिप नै हो । कम्तीमा अहिलेका लागि ।

इतिहासमा हेर्ने हो भने नेपालले तीन पटक एसिया कप नै खेलेको थियो । तर त्यो ८० र ९० को दशकमा थियो । तर त्यसमा नेपालले कुनै खेल जित्न सकेको थिएन । एक गोल गर्नु बाहेक ।

सन् २०१० देखि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले महिलाको पनि साफ च्याम्पियनसिप आयोजना गर्न थाल्यो ।

दक्षिण एसियामा भारत पहिलो संस्करणदेखि लगातार च्याम्पियन बन्दै आएको छ । नेपालका लागि हरेक संस्करणमा भारत नै तगारो बन्दा पहिलो उपाधिको प्रतिक्षा लम्बिरहेको छ ।

नेपाल चार पटक फाइनलमा र एक पटक सेमिफाइनलमा भारतसँगै पराजित भएको छ ।

हेड टु हेडमा नेपालभारत

साफ महिला च्याम्पियनसिपमा हरेक पटक नेपाल र भारतको भेट भएको छ ।

सन् २०१६ मा सिलिगुरीमा भएको चौथो साफ बाहेक चार संस्करणमा नेपाल र भारतले फाइनल खेलेका छन् । एक सेमिफाइनलसहित पाँचै पटक नेपाल भारतसँग पराजित भएको छ । जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन ।

पाँच पटक आमने सामने हँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ ।

सन् २०१० को पहिलो संस्करणमै नेपाल जम्मा १-० ले पराजित भएको थियो । २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा ६-० को हार नेपालको साफ इतिहासमै सबैभन्दा ठुलो हार हो ।

पहिलो संस्करण : एक गोलले खाँदा उपविजेता

स्कोर : नेपाल ०-१ भारत

पहिलो संस्करणमा नेपाल र भारत एक गोल पनि नखाई फाइनल पुगेका थिए । यस्तोमा दुवै टोली उपाधिको लागि उत्तिकै दाबेदार समेत थिए । पहिलो संस्करण भएकोले फाइनलमा पहिलो पटक दुई टिम आमने सामने भएका थिए ।

तर उपाधि विजेताको छिनोफानो भने जम्मा एक गोलले गर्‍यो ।

त्यसअघि समूह चरणमा नेपालले माल्दिभ्सलाई ६-०, अफगानिस्तानलाई १३-० र पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३-० ले हरायो ।

बंगलादेशको कक्स बजारस्थित कक्स बजार स्टेडियममा भएको खेलमा भारतका लागि सस्मिता मल्लिकले खेलको ६७औं मिनेटमा गोल गरिन् । त्यही गोल भारतलाई च्याम्पियन बनाउन निर्णायक बन्यो । नेपाल भने प्रतियोगिताभर खाएको त्यही एक गोलले विजेता बन्नबाट चुक्यो ।

 अग्रता लिँदा पनि जोगाउन सकेन

स्कोर : नेपाल १-३

श्रीलंकाको कोलोम्बोमा भएको दोस्रो संस्करणमा पनि भारत  रनेपाल नै उपाधिको दाबेदार थिए । समूह चरणमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै सजिलै सेमिफाइनल पुगे । नेपालले समूह चरणमा अफगानिस्तान विरुद्ध एक गोल खायो ।

समूह चरणमा नेपालले पाकिस्तानलाई ८-०, माल्दिभ्सलाई ५-० र अफगानिस्तानलाई ७-१ ले हराएको थियो ।

सेमिफाइनलमा भारतले अफगानिस्तानलाई ११-० ले र नेपालले श्रीलंकालाई ३-० ले हराएर फेरि फाइनल भेट पक्का गरे ।

यसपटक नेपाल भारत विरुद्ध बदला लिने मनस्थितिमा थियो । त्यही अनुसार सीआर एण्ड एफसी ग्राउण्डमा नेपालले सुरुमै अग्रता पनि लियो तर त्यसलाई जोगाउन नसक्दा पराजित भयो ।

खेलको तेस्रो मिनेटमै दीपा अधिकारीले गोल गर्दै नेपाललाई भारत विरुद्ध अग्रता दिलाएकी थिइन् ।

तर त्यो खुशी धेरै बेर टिकेन् । पाँच मिनेटपछि नै सुप्रिया राउट्रेले भारतका लागि बराबरी गोल गरिहालिन् । पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा भने भारतले तीन गोल गर्‍यो । बेम्बेम देवीले ६६औं र कमला देवीले ८३औ मिनेटमा गोल गर्दै भारतलाई ३-१ ले जिताए । भारत लगातार दोस्रो पटक च्याम्पियन बन्दा नेपाल लगातार उपविजेता बन्यो ।

बिर्सनलायक फाइनल

स्कोर : नेपाल ०-६ भारत

पाकिस्तानको इस्लामावादमा भएको तेस्रो संस्करणको फाइनल नेपालका लागि बिर्सनलायक रह्यो । यसपटक पनि भारत र नेपाल नै उपाधि दाबेदार थिए । फाइनल पनि पुगे । तर फाइनल एकपक्षीय रह्यो । नेपाल भारतसँग ६-० को फराकिलो अन्तरले पराजित भयो ।

जिन्नाह स्पोर्ट्स स्टेडियममा भएको प्रतियोगितामा नेपालले समूह चरणमा भुटानलाई ८-०, पाकिस्तानलाई २-० र श्रीलंकालाई ३-० ले हराउँदै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपालले बंगलादेशलाई १-० ले हरायो । भारतले सेमिफाइनलमा श्रीलंकालाई ५-० ले हराएको थियो ।

फाइनलमा भारत नेपालमाथि हावी भयो । फाइनलमा बाला देवी एक्लैले चार गोल गरिन् । कमला देवी र असेम रोमी देवीले एक-एक गोल गरिन् । भारतले उपाधिमा ह्याट्रिक गर्दा नेपाल लगातार पटक उपविजेतामै सिमिति भयो ।

भारतसँग सेमिफाइनलमै भएको भेट

स्कोर :  नेपाल १-३

२०१६ मा भारतको सिलिगुढीमा भएको चौथो संस्करणको ठूलो विशेषता भनेको नेपाल पहिलो पटक फाइनल पुग्नै सकेन । अर्को विशेषता बंगलादेशले भारतलाई बराबरीमा रोक्न सफल भयो । बंगलादेशले पहिलो पटक फाइनल खेल्यो ।

समूह चरणमा शानदार प्रदर्शन गरेको नेपालले भुटानलाई ८-०, माल्दिभ्सलाई ९-० र श्रीलंकालाई १-० ले हराएर समूह विजेता बन्यो । पाकिस्तानले सहभागिता नजनाएकोले अर्को समूहमा तीन टिम मात्र थियो । तर भारत र बंगलादेशले बराबरी खेल्दा गोल अन्तरमा बंगलादेश समूह विजेता बन्यो र भारत समूह उपविजेता ।

जसले गर्दा नेपालले सेमिफाइनलमै भारतसँग खेल्नुपर्ने भयो । नेपालका लागि अवसर र चुनौती दुवै थियो । भारतलाई हराएमा उपाधि जित्ने सम्भावना बलियो बन्थ्यो । हारले फाइनलअघि नै नेपाल बाहिरिने थियो ।

कञ्चनजंगा स्टेडियममा भएको सेमिफाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित भयो । भारतका लागि कमलादेवी, इन्दुमथि काथिसेरन र सस्मिता मल्लिकले गोल गरिन् भने नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काइन् ।  कमला देवीले ४५औं र माथिसेरनले ५०औं मिनेटमा गोल गरेपछि भारतले दुई गोलको अग्रता बनायो ।

७५औं मिनेटमा नेपालकी सावित्राले गोल गर्दै गोल अन्तर घटाएकी थिइन् । तर नेपालले थप गोल फर्काउन सकेन भने सस्मिताले ८३औं मिनेटमा गोल गर्दै ३-१ को जित पक्का गरिन् ।

फाइनलमा पनि भारतले बंगलादेशलाई ३-१ ले हराएर लगातार चौथो पटक उपाधि जित्यो ।

घरेलु मैदान र दर्शकको साथले पुगेन

स्कोर :  नेपाल १-३

पाँचौ संस्करणमा आएर पहिलो पटक नेपालको महिला टिमले घरेलु मैदान र घरेलु दर्शक अगाडि च्याम्पियनसिप खेल्ने अवसर पायो । त्यो पनि काठमाडौं बाहिर विराटनगरमा भएको थियो ।

घरेलु मैदानमा नेपालका लागि भारतलाई हराएर उपाधि उचाल्ने राम्रो अवसर पनि थियो । तर भारत नै फाइनलमा तगारो बन्यो । नेपालले फेरि एक पटक उपविजेतामै चित्त बुझाउनुपर्‍यो । भारत लगातार पाँचौ पटक च्याम्पियन बन्यो ।

विराटनगरमा प्रतियोगिता सुरु हुनअघि तस्वीर खिचाउँदै सहभागी टिमका कप्तान । फाइल

६ टिम मात्र सहभागी प्रतियोगितामको समूह चरणमा नेपालले भुटान र बंगलादेशलाई समान ३-० ले हराउँदै सेमिफाइनल पुग्‍यो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० ले हराएर फाइनलमा स्थान बनायो । अर्को सेमिफाइनलमा भारतले पनि बंगलादेशलाई यही नतिजामा हराएर नेपालसँग फाइनल भेट पक्का गर्‍यो ।

फाइनल अघि नेपालले १० र भारतले १५ गोल गर्दा कुनै गोल खाएको थिएन । त्यसैले फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो । तर घरेलु मैदान र दर्शकको भरपुर साथ पाए पनि नेपाल खेल जित्न सकेन । भारतले ३-१ ले नेपाललाई हरायो । विराटनगरको शहीद स्मृति मैदानमा डालिमा छिब्बरले २६औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । सात मिनेटपछि नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेलमा रोमाञ्चक बनाइन् । पहिलो हाफमा खेल बराबरीमा सकियो ।

तर दोस्रो हाफ भारतको पक्षमा रह्यो । भारतका लागि डाङ्गमाई ग्रेसले ६३औं मिनेटमा गोल गरेर अग्रता दिलाइन् भनेर अन्जु तामाङले ७८औं मिनेटमा गोल गरदै जित पक्का गरिन् । घरेलु मैदान नेपाली टिम र दर्शक निराश बन्यो ।

किन भारतसँग हार्छ नेपाल?

नेपालले साफमा मात्र होइन दक्षिण एसियाली खेलकुद सागमा पनि भारतलाई अहिलेसम्म हराउन सकेको छैन ।

भारतमै भएको हिरो गोल्डकपमा एकपटक नेपालले भारतलाई पराजित गरेको थियो । तर मुख्य प्रतियोगितामा नेपालले भारतलाई हराउन सकेको छैन ।

दोस्रो संस्करणमा भारत विरुद्ध फाइनलमा पहिलो गोल गरेकी दीपा अधिकारी सानो सानो कमजोरीले गर्दा नै भारतसँग पराजित हुनुपरेको बताउँछिन् । ‘हामीले सानो सानो गल्ती गर्दा पराजित भएका छौँ,’ उनले भनिन् ।

दोस्रो संस्करणमा फाइनलमा दीपाकै गोलमा नेपालले तेस्रो मिनेटमै भारत विरुद्ध अग्रता लिएको थियो । तर भारतले तीन गोल फर्कायो ।

दीपा अधिकारी ।

‘सुरुमै हामीले गोल गरेपछि भारतलाई जित्छौँ जस्तो लागेको थियो । भारतलाई हराउन नसकिने भन्ने होइन रहेछ भन्ने लाग्यो’, दीपाले विगत सुनाइन्, ‘त्यसैले हामीले सुरुमा गोल अन्दा अझ हान्न सक्छौँ जस्तो लागेर अगाडि बढेर खेल्यौँ । त्यसैमा भारतले फाइदा उठाउँदै गोल हान्यो । हामीले नखानुपर्ने गोल खायौँ ।’

पहिलो संस्करणमा पनि नेपालले राम्रो खेल्दा खेल्दै एक गोलले हार्नुपरेको थियो । ‘त्यो बेला पनि भारतको टिम राम्रो थियो । सस्मिता मल्लिकले दोस्रो हाफमा उत्कृष्ट फ्रिकिक गोल गरेकी थिइन्’, दीपाले भनिन् ।

नेपालले भारतसँग लगातार हार्नु मानसिकतामा समस्या रहेको उनको बुझाइ छ र त्यसमा सुधार गर्नुपर्ने सुझाव । ‘हामीले भारतलाई हराउन नसक्ने भन्ने होइन । हराउन सकिन्छ । पहिला हामीले मानसिकता बलियो बनाउनुपर्छ । अनी गल्तीलाई कम गर्दै जानुपर्छ । कम गल्ती गर्नेले नै खेल जित्छ ।’ विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेलेर गिनिज वर्ल्ड  कीर्तिमान समेत राखेकी दीपाले भनिन् ।

पछिल्लो पटक विराटनगरमा हुँदा नेपालले घरेलु मैदानमा भारतलाई हराउन सकेन । लगातार दोस्रो पटक घरेलु मैदानमा खेल्दा यस पटक राम्रो अवसर रहेको उनी बताउछिन् । ‘यो पटक उपाधि जित्ने राम्रो अवसर छ । पहिला भन्दा अहिले राम्रो ट्रेनिङ छ सुविधा छ । हाम्रो पालामा फिजियो पनि थिएन । नेपालले यसलाई सही सदुपयोग गर्नुपर्छ’, उनले भनिन् ।

यस पटक नेपाली टिममा तीन जनाले पुनरागमन गर्दा तीन नयाँ अनुहार टिममा छन् । टिम कम्बिनेसन राम्रो बनेको छ । यसअघिका कप्तान तथा मिडफिल्डर रेनुका नगरकोटी र डिफेण्डर पूजा रानाको अनुपस्थिति भने नेपाललाई खड्किन सक्छ । दुवै खेलाडी चोटका कारण यस पटक टिममा छैनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?