+
+
मेयर राजेशमानको सय दिन :

घण्टाघर क्षेत्रको सडक बन्यो, माईस्थानको भत्कियो

सुरेश बिडारी सुरेश बिडारी
२०७९ भदौ १७ गते २१:१०

१७ भदौ, वीरगञ्ज । वैशाख ३० गतेको निर्वाचन पछि वीरगञ्ज महानगरपालिकाको मतगणना सक्न १० दिन लाग्यो । मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए ।

एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय कुमार सरावगीभन्दा २२ हजार ५ सय ५५ मत राजेशमानले पाए । राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा विजयले २३ हजार ६ सय ७१ मत पाएका थिए ।

जेठ १० गते निर्वाचित भएको घोषणा गरिएपनि उनी सहित महानगरका जनप्रतिनीधिले जेठ १२ गते मात्रै सपथ ग्रहण गरे । वीरगञ्जमा नव निर्वाचित जनप्रतिनीधिले सपथ ग्रहण गरेको शुक्रबार १ सय दिन पुगेको छ ।

१ सय दिनमा ७ वटा कार्यपालिका बैठक बसेको छ । पछिल्लो कार्यपालिका बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने लगायतका निर्णय गरेको छ ।

साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामिण क्षेत्र तथा शहरी क्षेत्र समेत व्यवस्थित तथा योजनावद्ध विकासको लागि वीरगञ्ज विकास प्राधिकरण गठन आदेश स्वीकृत गर्नुलाई पनि १०० दिनको उपलब्धी भनिएको छ ।

पहिलो दुई निर्णय : एउटा कार्यान्वयन अर्को प्रक्रियामा

नगर प्रमुख राजेशमानले निर्वाचित भए लगत्तै २४ घण्टामा वीरगञ्ज बासीलाई परिवर्तनको अनुभूति गराउने वाचा गरेका थिए । सपथ ग्रहण पछि पदभार ग्रहण गर्दा उनले ‘घण्टाघर क्षेत्रको सडक मर्मत गर्ने, ३० युनिटसम्मको विद्युत महशुल तिरिदिने’ भनी पहिलो निर्णय गरेका थिए ।

१०० दिनमा घण्टाघर क्षेत्रको सडक मर्मत गर्ने निर्णय कार्यान्वयन गरेका छन् । वीरगञ्ज घण्टाघर क्षेत्रको सडक त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडक हो । सडक विभागसँग अनुमति लिएर उनले जीर्ण सडक कालोपत्रे गराउन सफल भएका छन् ।

कानुन बमोजिम ठेक्का प्रक्रिया पुरा नगरी सडक मर्मत गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयमा उजुरी परेको थियो । तर नगरबासीको हितका लागि कानुनी कारबाही भोग्न तयार रहेको भन्दै सिंहले सडक कालोपत्रे गरेपछि वीरगञ्जबासी खुशी छन् ।

‘वर्षौदेखि विग्रिएको घण्टाघरको सडक निर्माण गरिएको छ । मुख्य सडकमा पानी जम्ने समस्यालाई समाधान गर्न पावर हाउस चोकदेखि घण्टाघरसम्म ११ स्थानमा चेम्बर निर्माण गरी निकासको व्यवस्था मिलाईएको छ ।’ मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने ।

महानगरले गहवाई माई मन्दिर परिसरको सडक भने भत्काएको छ । इन्टरलक ईट्टाको प्रयोग गरेर आकर्षक सडक बनाउन लागिएको महानगरपालिकाले जनाएको छ । घण्टाघर परिसर र माईस्थान क्षेत्रको सडक बनाउन भ्याट सहित ९७ लाखको काम भइरहेको मेयर सिंहले जानकारी दिए ।

सपथ खाएको दिन उनले घरेलु मिटर प्रयोग गर्दै आएका महानगरभित्रका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्यूनतम शुल्क तथा इनर्जी शुल्क र महानगरभित्र कृषि सिंचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १ गतेदेखि महानगरपालिकाले व्यहोर्ने निर्णय गरेका थिए । भदौ १७ गते भईसक्दा पनि यो निर्णय कार्यान्वयनको चरणमै रहेको जनाईएको छ ।

१०० दिनमा गरेको काम सार्वजनिक गर्न महानगरपालिकाले आफ्नै सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा मेयरका स्वकीय सचिव घिमिरेले उक्त निर्णय कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिए ।

अवैध संरचना भत्काउन सुरू गरेको दावी

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख राजेशमान सिंहले १०० दिनमा नगरबासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्न सफल भएको बताए । उनले काठमाण्डुले भन्दा पहिले वीरगञ्जमा अवैध संरचना भत्काउन सुरू गरिएको दावी गरे ।

‘ काठमाण्डुले अवैध संरचना भत्काउन सुरू गर्नु अघि नै वीरगञ्जले नाला अतिक्रमण गरि बनाईएका हटाएको हो । वर्षाले गर्दा काम रोकिएको छ । वर्षापछि पूनः काम अघि बढाउँछौं ।’ उनले भने ‘ सुरूवात हामीले गरेका हौं, हाम्रो देखासिकी अरुले गरेका हुन् । हामी अरुको देखासिकी गर्दैनौं ।’

२० औँ वर्षदेखि सफाई हुन नसकेको ठूला नालाहरुको सफाई गर्नुका साथै कैलास होटल आस पासका नालामाथिको अतिक्रमण भत्काईउनु ठूलो उपलब्धी भएको मेयर सिंहले बताए । ठूला नाला सफाईको क्रममै वर्षा सुरू भएकोले वर्षा सकिने वित्तिकै पूनः उक्त कार्यलाई निरन्तरता दिने उनले बताए । तर वीरगञ्जमा यसवर्षको वर्षायाममा खासै वर्षा भएको छैन ।

नाला सफा गर्ने क्रममा नै हजारी मल धर्मशालाको प्रवेशद्वारमा लगाईएको ताल्चा तोडिएको उनले बताए । ‘हाम्रो मुख्य नाला हजारी मल धर्मशाला भएरै बग्छ, २० औं वर्षदेखि सफाई हुन सकेको थिएन ।’ उनले भने ‘ त्यसैले ताला तोडेका थियौं, अदालतले किन ताला तोडेको हो ? भनी सोधेको थियो, हामीले जवाफ दिईसकेका छौं ।’

४ विघा भन्दा बढी क्षेत्रफलमा फैलिएको माईराम पोखरी १८ कठ्ठामा सिमित भएको लगायत विविध विषयको फाईल अख्तियारमा पठाएर अनुसन्धान गर्न लगाईएको उनले बताए । निर्वाचन ताका मेयर सिंहले नगर प्रमुखमा निर्वाचित भएको २४ घण्टाभित्रै भ्रष्टाचारको फाईल खोलेर निवर्तमान नगरप्रमुख सरावगीलाई हतकडी लगाउने उदघोष गरेका थिए ।
वीरगञ्जका नगरबासीले इमान्दारीपूर्वक घर बहाल तिर्ने हो भने अन्य कर नलिने उनले दोहोर्‍याए ।

१०० दिनमा २४ काम गरेको दावी, कतिपय अपूरा

पत्रकार सम्मेलनमा १०० दिनमा गरिएको २४ कामका बारेमा जानकारी गराईएको छ । कतिपय पुरा नभएका कामलाई पनि १०० दिनको काम भनि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

वीगञ्ज महानगरबाट प्रदान गरिने सेवाका लागि अनिवार्य शूल्क बाहेक विभिन्न बहानामा सेवाग्राहिसँग रकम असुलिने गलत अभ्यासलाई पुर्णरुपमा अन्त्य गरिएको दावी गरिएको छ । कसैले त्यस किसिमको व्यवहार देखाएमा सिधै प्रमुखज्यूले गुनासो सुनुवाई गर्ने व्यहोराको सूचना पाटी प्रत्येक शाखामा टाँस गरिएको तर गुनासो नआएको जनाईएको छ ।

सेवा लिन महानगरमा आउँदा कागजात नपुगेको अवस्थामा बाहेक गलत नियत राखी अल्झाउने, प्रकृया लम्ब्याउने वा पर्खाउने पद्दतिको अन्त्य गरिएको दावी गरिएको छ । छिटो छरितो र सहज सेवा प्रदान गर्न सुरू गरिएको महानगरपालिकाले जनाएको छ ।

 

बढी जनगुनासो आउने नक्सा शाखामा काम सम्पन्न भईसकेको जानकारी दिने पद्दतीको सुरूवात गरिएको र कानुनी रायकालागि एक हप्ता दश दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गरिएको बताईएको छ ।

तत्कालै राय लेखनका लागि अधिवक्ताको व्यवस्थापन तथा नियुक्ति गर्न र घरहरुको तथ्याङ्क संकलन गर्ने कार्य अघि बढाउन लागिएको चरणमा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

सेवाग्राहीलाई एसी, कर्मचारीलाई सिसिटिभीबाट निगरानी

महानगरमा कर्मचारी, जनप्रतिनिधिलाई मात्रै होईन सेवाग्राहिलाई समेत एसी जडान गरिएको छ । समान वातावरण र व्यवहारको अनुभुति दिलाउन सेवाग्राहीको बढी सहभागिता रहने स्थानमा एसी जडान, खानेपानी तथा बस्नका लागि बेञ्चको व्यवस्था गरिएको मेयरका स्वकीय सचिव घिमिरेले बताए ।

महानगरले राजश्व बुझाउन आउने सेवाग्राहीलाई लक्षित गरेर कार्यालयको भूँई तलामा एसी जडान गर्नुको साथै पालो सहजताको लागि डिजिटल टोकन प्रणालीको व्यवस्था गरेको छ ।

कर्मचारी समयमा उपस्थित भए नभएको र कार्यालय समयसम्म सेवा दिए नदिएको अनुगमन गर्न ई–हाजिरी, सेवाग्राहीको अवस्था र कर्मचारीको गतिविधि बुझ्न, शाखामा बसेर सेवा दिए नदिएको अवलोकन गर्न प्रत्येक शाखामा सिसिटिभी जडान गरिएको र मेयरले निरीक्षण गर्नेगरि उनको कार्यकक्षमा डिस्प्ले स्क्रिन राखिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

कुनै समस्या भएमा तत्कालै शाखा प्रमुख वा नगरप्रमुखसँग कुरा गर्न मिल्ने गरी प्रत्येक शाखामा ईन्टरकम टेलिफोन जडान गर्नुलाई १०० दिनको उपलब्धीमा राखिएको छ ।

वडातर्फ सेवा विकेन्द्रीकरणमा जोड

एउटै सचिवले एक भन्दा बढी वडा हेर्नुपर्ने बाध्यताको अन्त्य गरिएको, वडाको सेवालाई डिजिटल बनाउन प्रत्येक वडामा कम्प्युटर अपरेटरको व्यवस्था गरिएको, वडाबाटै व्यवसाय कर, बहाल कर तथा एकिकृत सम्पत्ति कर लगाएतको कर तिर्ने तथा १ हजार वर्गमिटरसम्मको घरको नक्सा पास वडाबाटै गर्न मिल्ने गरि निति बनाउनुलाई महानगरले उपलब्धीमा राखेको छ । साउनको पहिलो र दोस्रो साता नै कम्प्युटर अपरेटरहरुलाई तालिम दिएको भएपनि अधिकांश वडामा काम अझै सुरू हुन सकेको छैन ।

राजश्व शाखा प्रमुख अधिकृत मनोज कर्णका अनुसार छठ पछि मात्रै ग्रामिण क्षेत्रका १६ वटा वडाबाट कर लिन सकिने बताए । ‘ पहिलो चरणमा २८, २९, ३०, ३१ र ३२ नम्बर सहितका ५ वटा वडामा भूमिकर लिन मिल्नेगरि व्यवस्था मिलाउँदैछौं । त्यसका लागि वडामै पुगेर सिकाउने योजना बनाएका छौं,’ उनले भने ‘ तीन चरणमा गरेर ग्रामिण क्षेत्रका वडामा पहिला काम सुरू गराउँछौं । छठ पछि १६ वटै वडाले अनलाईन सिस्टमको प्रयोग गरेर कर लिनेछन् ।’

सुरूमा १ हजार रुपैयाँसम्मको कर वडाबाटै तिर्न सकिनेगरि व्यवस्था मिलाउने र पछि आवश्यकता अनुसार बढाउँदै लैजाने उनको भनाइ छ । सरसफाईलाई चुस्त दुरुस्त पार्न मुख्य सडक र ठूला नालाबाहेक बाँकी सबै वडाले नै हेर्ने गरी सेवालाई विकेन्द्रित गरिएको जनाईएको छ । त्यसका लागि थप जनशक्तिको नियुक्ती, उपकरण र सवारी साधनको व्यवस्थापन गर्ने कार्य अन्तिम अवस्थामा पुगेको बताईएको छ ।

सवारी व्यवस्थापन कर खारेज गरिएको, सम्पूर्ण करहरुको पुनरावलोकन गर्दै करको दर घटाईएको, फुटपाथमा अवैध रुपमा राखिएका निर्माणजन्य सामाग्री्र हटाउने र छाडा चौपाया नियन्त्रण तथा जरिवाना गरिएको, मेडिकल वेष्ट तथा अन्य फोहोर जथाभावि फाल्नेलाई जरिवाना गर्ने कार्यलाई निरन्तरता दिने काम महानगरले १०० दिनमा गरेको छ ।

१० हजार बोरा युरिया मल थप्नु पनि एउटा उपलब्धी

सरकारले अनुदानमा ल्याएको रासायनिक मल सहकारी मार्फत किसानलाई वितरण हुन्छ । तर साउन २९ गते आईतबार एक हुल किसान कृषि सामाग्री कम्पनी लिमिटेडको भुटनदेवि स्थित गोदाममा पुगे ।

उनीहरुले मल चाहियो भन्दै हो–हल्ला र प्रदर्शन गर्न थाले । मेयर सिंहलाई पनि खबर गरे । मेयर सिंह कै नेतृत्वमा रौतहट, धनुषा र पर्वतमा लैजान लोड गरिएको ४ ट्रक युरिया मल नियन्त्रणमा लिइयो । महानगरले भुटनदेविको गोदामबाट बाल मन्दिरमा मल ल्याएर राख्यो ।

किसानले लुटेर लैजान खोज्दा आफूले जोगाएको भनेपनि मेयर सिंहकै सक्रियतामा मल नियन्त्रणमा लिईएको थियो । उनले सञ्चारकर्मीहरु समक्ष किसानको हितका लागि कानुन हातमा लिन सक्ने समेत बताएका थिए ।

महानगरका किसानलाई मल नदिएसम्म वीरगञ्जबाट कुनै पनि गाडी जान नदिने अडान उनको थियो । भोलिपल्ट कृषि सामाग्री कम्पनी लिमिटेडको प्रदेशिक कार्यालयले थप १० हजार बोरा मल दिने सहमति गरेपछि मात्रै नियन्त्रणमा लिएको ४ वटा ट्रक छोडिएका थियो ।

यसलाई महानगरले १०० दिनमा हाँसिल भएको उपलब्धीमा समावेश गरेको छ । सहमति अनुसार ६ हजार बोरा मल ल्याएर महानगरले वितरण गरिसकेको छ ।
‘महानगरका किसानहरुलाई सहज रुपमा मल उपलब्ध गराउनका लागि पहल गरिएको छ ।

कृषि सामग्रि कम्पनी लिमिटेडबाट महानगरले पाएको कोटा २७७१ बोरा बाहेक थप १० हजार बोराको सहमति गरिएकोमा ६ हजार बोरा मल वितरण समेत गरिएको छ ।’ स्वकीय सचिव घिमिरले भने ‘थप ४ हजार बोरा केहि दिनमा वितरण गरिने छ भने साल्ट ट्रेडिङ्घ कर्पोरेसन लिमिटेडसँग समेत थप २ हजार बोरा युरिया मल र २ हजार बोरा डिएपी लिई वितरण गर्ने तयारी भइरहेको छ ।’

शिक्षामा परिवर्तनको सुरुवात

नगरलाई हरियाली बनाउनका लागि बाईपास सडकखण्डमा बृक्षरोपण गरिएको, एउटा कलेजमा भर्ना हुने र अर्कै कलेजमा छात्रबृत्ति प्राप्त हुने समस्याको अन्त्य गरिएको, कक्षा ९ र ११ को छात्रबृत्तिको लागि महानगरले परिक्षा लिने र अन्यको हकमा विद्यालयले नै परिक्षा लिन सक्ने गरी व्यवस्था मिलाईएको र निजी विद्यालय तथा क्याम्पसमा १० प्रतिशत बालबालिकाले छात्रबृत्ति पाए नपाएको अनुगमन महानगरले गर्ने व्यवस्था मिलाईएको जनाईएको छ ।

संस्थागत विद्यालयमा देखा परेका सबैखाले समस्याको दिर्घकालिन समाधान गर्न शिक्षा समितिलाई पूर्णता दिएको, विद्यालय स्तरिकण तथा शुल्क निर्धारण उपसमिति समेत गठन भई काम अगाडि बढेको महानगरले जनाएको छ ।

सामुदायीक विद्यालयको समस्या समाधानको लागि व्यवस्थापन समिति गठन, भौतिक पुर्वाधार निर्माण लगायत काम अघि बढेको बताईएको छ । महानगरमा प्राविधिक शिक्षामा जोड दिन सिटिईभिटिसँगको सहकार्यमा टेक्निकल कक्षा तथा आंगिक अर्थात् पूर्ण प्राविधिक विद्यालय स्थापनाको लागि पहल गरिएको तथा महानगरमा शिक्षक अभाव समस्या समाधान गर्न सरकारी अध्ययनकै आधारमा देखिएको २ सय ८७ शिक्षकको अभाव पूर्ति गर्न शिक्षा मन्त्रालयमा पहल गरिएको जनाईएको छ ।

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालन नहुँदै उपलब्धीमा समावेश

नागरिकलाई घरघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरिरहेको छ । कार्यक्रम अन्र्तगत स्वाथ्यकर्मी तथा प्रयोगशाला सहितको भ्यान ३२ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने जनाईएको छ । त्यसका लागि ल्याब समेत जडान भएको भ्यान तयार गरिँदैछ । यसै साताबाट सञ्चालन गर्ने तयारी गरिएको कार्यक्रमलाई १०० दिनको उपलब्धीमा समावेश गरिएको छ ।

ल्याब जडित भ्यान सहित एमविविएस डाक्टर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, सिएमए तथा अनमि सहितको टोली मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मा परिचालन हुने मेयरका स्वकीय सचिव घिमिरेले बताए ।

‘ कार्यक्रम मार्फत कन्सल्टेसन सेवा, स्वास्थ्य परिक्षण तथा औषधि समेत वितरण समेत गरिनेछ । यो कार्यक्रम नियमित रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’ उनले भने ‘ योसँगै योग तथा व्यायाम शिविर सञ्चालनको पनि तयारी भइरहेकोको छ ।’

काम सम्पन्न नहुँदै उपलब्धीमा गणना

महानगरमा नयाँ नेतृत्व आउँदाको अवस्था चित्रण गरेर श्वेतपत्र जारी गरेको, देखिएका बेथिति लगायतका सम्पूर्ण विषयमा निष्पक्ष छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुरा राखिएको र लिखित निवेदन दिन लागिएको कुरा पनि उपलब्धीमा समावेश गरिएको छ ।

त्यस्तै उज्यालो वीरगंज कार्यक्रममा विग्रिएका ७० प्रतिशत भन्दा बढी मर्मत सम्भार तथा नयाँ जडानको काम तिव्र रुपमा अघि बढेको, विग्रिएका सोलार बत्तिको मर्मत सम्भारको काम पनि अघि बढेको बताईएको छ ।

बसपार्कको पुनः निर्माणको काम अगाडि बढाउनुलाई पनि उपलब्धीमा राखिएको छ । बसपार्कमा छत चुहिने समस्या समाधान, शौचालयको व्यवस्थापन, नयाँ काउन्टर स्थापना लगाएतको आवश्यक कामहरु अगाडि बढाईएको, घण्टाघर अगाडिको ट्राफिक समस्या समाधान गर्नका लागि सिटि राईड र म्याजिकलाई बसपार्कमा पठाउन लागिएको र ई–रिक्सा महानगरमा दर्ता गर्नुका साथै रुट निर्धारण गर्न लागिएको पनि उपलब्धीमा उल्लेख छ ।

फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न ल्याल्डफिल्ड साईटको व्यवस्थापन, नयाँ उपकरण जडानका काम, सार्वजनिक जग्गा, पोखरी लगायत सम्पत्तिको प्रमाण संकलन तथा मुद्दा दर्ताको प्रकृया अघि बढाउनुको साथै यसअघि चलिरहेका मुद्दामा बहस पैरवी गर्नुलाई पनि १०० दिनको उपलब्धी मानिएको छ ।

विन्दवासीनी माई तथा लक्ष्मणवामा रहेको नृसिंह मन्दिरको सौन्दर्यीकरण र व्यवस्थित विकासका लागि डिपिआर तयार गर्ने लागिएको, डिपिआर तयार भईसकेको भिष्वा डाँडाको विकास, विभिन्न किसीमका चोरी तथा आपराधिक घटनालाई नियन्त्रण गर्न थप सिसिटिभि जडान तथा व्यवस्थित कन्ट्रोल रुम निर्माण गर्ने लगायत सम्पन्न नभईसकेका कामलाई पनि उपलब्धीको रुपमा राखिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?