+
+

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण : पर्सि प्रधानमन्त्रीलाई भेट्ने, एभरेष्ट बेस क्याम्प पनि जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १३:४९

१९ भदौ, काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे आइतबार अपराह्न ४ बजे काठमाडौं आउँदैछन् । पाँच सदस्यीय टोलीका साथ उनी भारतीय सेनाकाे विमानमार्फत काठमाडौं आउन लागेका हुन् ।

विमानस्थलमा उनको स्वागतका लागि नेपाली सेनाको एक टोली पुग्नेछ । औपचारिक कार्यक्रम सोमबारदेखि हुनेछन् ।

पाँचदिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ । सोमबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन् । शीतलनिवासमा यो कार्यक्रम अपराह्न ३ बजेका लागि राखिएको छ ।

यसअघि २० कात्तिक २०७७ मा पाण्डे अघिका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । पाण्डे अब नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी बन्नेछन् ।

साँझ जंगीअड्डामा रात्रिभोजको कार्यक्रम छ । मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधारशिविरको भ्रमण गर्ने कार्यतालिका छ । भ्रमणपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्ने कार्यक्रम छ ।

भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे पनि कुरा हुनसक्ने भनिएको छ । अग्निपथबारे भारतले लिखित जवाफ नदिएसम्म नेपाली युवाको अग्निवीरका रुपमा भर्तीलाई रोकिएको छ ।

मंगलबार नै काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ । साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको कार्यक्रम छ ।

बुधबार मौसम अनुकूल भए मुक्तिनाथ मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ । त्यही क्रममा नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरा जाने कार्यक्रम पनि छ । सोही दिन वसन्तपुरस्थित हनुमानढोका जाने कार्यक्रम पनि तोकिएको छ । बिहीबार अपराह्न उनी स्वदेश फर्किने कार्यक्रम छ ।

नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

दुई मुलुकका सेना प्रमुखबीच महारथीको सम्मान दिने चलनले दुई देशका सैनिकबीच घनिष्ठ सम्बन्ध रहेको देखाउने सैन्य मामलाका जानकारहरु बताउँछन् ।

भारतीय सेनाध्यक्ष नरवणेले नेपालले ‘कसैको इसारामा सीमा सम्बन्धी विषय उचालेको’ सार्वजनिक टिप्पणी गरेपछि उनको आलोचना भएको थियो । र, उनलाई मानार्थ महारथीको सम्मान नदिन माग उठेको थियो ।

भारतीय स्थल सेनाको सर्वोच्च पदमा पुग्ने पाण्डे पहिलो इञ्जिनियर हुन् । यसअघि भारतीय सेनाको प्रमुख इनफेन्ट्री, आर्मर्ड र आर्टिलरीका अधिकारीहरु मात्रै हुने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?