+
+

काठमाडौं-७ मा गठबन्धनको उम्मेदवार राजेन्द्र कि मानुषी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १६:२८

१९ भदौ, काठमाडौं । ३० वैशाखको स्थानीय चुनावसम्म राजेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराई एउटै पार्टीमा थिए । श्रेष्ठ जनता समाजवादी पार्टीका सिनियर नेता थिए भने मानुषी युवा पुस्ताको । तर अहिले दुबै अलग पार्टीमा मात्र छैनन्, सत्तारुढ गठबन्धनको तर्फबाट एउटै क्षेत्रमा उम्मेदवार बन्ने दौडमा छन् ।

जसपाका वरिष्ठ नेता श्रेष्ठले काठमाडौं–७ बाटै प्रचार–प्रसार सुरु गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका श्रेष्ठले निकटवर्तीहरुसँग सत्तारुढ गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीका नेताहरुले यो क्षेत्रमा आफूलाई समर्थन गर्ने बताइसकेको बताउने गरेका छन् ।

जसपाबाट अलग भएका डा. बाबुराम भट्टराई समूहले बनाएको नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य रहेका मानुषी पनि काठमाडौं–७ मा सक्रिय छिन् । ‘आफ्नो तयारी गर्दै छु । भेटघाट र पार्टीका कार्यक्रमहरु गर्दैछु,’ उनले भनिन् ।

नेसपाले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सहमति गरेको छ । माओवादी नेताहरुका अनुसार त्यसबेला भट्टराईले मानुषीसहित ३/४ जना नेतालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउनुपर्ने शर्त राखेको बताउँछन् ।

भट्टराईले नयाँ पार्टीको पहिलो कार्यक्रम १० भदौमा काठमाडौं–७ मा गरेका थिए । यसले पनि भट्टराईले छोरी मानुषीलाई प्रतिनिधिसभा सदस्यको चुनाव लडाउने विषयलाई कति प्राथमिकता दिएका छन् भन्ने बुझ्न सकिन्छ ।

तर एउटै पार्टी भएको बेला जसपाले यो क्षेत्रमा पाएको वडागत मत हो, जम्मा १६२ ।

यो प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सबभन्दा ठूलो दल कांग्रेस छ, जसले १४ हजार १६७ मत पाएको छ । एमालेको १२ हजार २०२, एकीकृत समाजवादीको ३ हजार ८३९, राप्रपाको २ हजार २७ र माओवादी केन्द्रको जम्मा ५७६ मत छ ।

त्यसैले राजेन्द्र र मानुषी दुबै आफ्नो दलको बलमा होइन, गठबन्धनको बलमा चुनाव लड्न र जित्न चाहन्छन् । मानुषी भन्छिन्, ‘मेरो र पार्टीले गठबन्धनप्रति जुन विश्वास गरेको छ, त्यसआधारमा मैले टिकट नपाउने भन्ने हुँदैन ।’

तर कांग्रेसले अहिलेसम्म छाड्ने संकेत गरिसकेको छैन । कांग्रेसको क्षेत्रीय समितिले विनोद पन्त, डा. रामशरण थपलिया, प्रमोदहरि गुरागाईं, सरोज थापा, प्रमिला सिंह डंगोल, दक्ष पौडेल, र नीलकाजी शाक्यको नाम सिफारिस गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यो क्षेत्रका लागि रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?